संवैधानिक तवरबाटै हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्छौँ : कमल थापा

 साउन ३१, २०७६ शुक्रबार १६:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गएको संविधानसभामा राप्रपाको गणपूरक संख्यामा उपस्थिति हुन नसकेकै कारण हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापित हुन नसकेको बताउनु भएको छ ।

अध्यक्ष थापाले अबको चुनावमा नागरिकको मन जितेर पूर्ण बहुमतका साथ पार्टीलाई स्थापित गर्दै हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने दृढ संकल्प लिएर पार्टी अघि बढिसकेकोले त्यसतर्फ केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाण्डौ सम्पर्क समाज गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले परम्परागत संस्कृति मासेर आएका पार्टीहरु र धर्म, संस्कृति, परम्परा मान्ने दुई समूहबीच नै प्रतिस्पर्धा हुने भएकोले नागरिकको घरदैलोमा पार्टीको एजेण्डा पुर्‍याउन सके राप्रपा अग्रणी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

यसका लागि अहिलेदेखि नै तल्लो तहसम्म संगठन विस्तारमा लाग्न पार्टीका सबै तहका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष थापाले संगठन विस्तारलाई सार्थक बनाउन पार्टीले २०७६ साललाई संगठन निर्माण वर्ष घोषणा गरेर कार्य प्रारम्भ गरिसकेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया