‍हातमा सर्पकाे हड्डीकाे माला र ढ्याङ्ग्राे, शक्ति आर्जनका लागि रातभर चिहानघारीमा

 साउन ३१, २०७६ शुक्रबार १८:५४:३१ | सुमन तिमल्सिना
unn.prixa.net

तेह्रथुम - बिहीबार तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर-२ मा निक्कै भिडभाड थियो । चारैतिरबाट आउने जानेहरुको लाइन देखिन्थ्यो । भिडभाडका बीचमा धामीहरुको एउटा समूह ओरालो झर्दै थियो । हातमा सर्पको हड्डीको माला लगाएका उनीहरु  ढ्याङ्ग्रो ठटाउँदै, देख्दै डरलाग्दो खालको गतिविधिसहित ओरालो झर्दै थिए ।  अघि अघि आएको एउटा हुलसँगै अन्य धामीहरुको हुल पनि उसैगरी काम्दै ओरालो झर्दै थियो ।

यसरी आएकाहरुकाे उमेर समूह र लिंग फरक फरक थियाे । त्यहाँ महिला र बालबालिका पनि देखिन्थे। हातमा तरबार, खुँडा, खुकुरी, बाँसको लिङ्गोमा बाँधिएका ध्वजा पताकासहित हातमा कसैको अगरबत्ती थियो  ।  यो देख्दा लाग्थ्यो गाउँका सबै उमेर समूहका व्यक्ति गाउँकाे धामी समूहमा  सक्रिय छन्  ।

त्यही भिडको बिचमा थिए, लालीगुराँस नगरपालिका वडा नम्बर ५ का शेरबहादुर  याख्खा । उनीसहित उनको परिवार यसरी धामी काम गर्न थालेको नाै पुस्ता भइसकेको छ । आजभन्दा पहिला सबैले यही धामी झाँक्रीको काम गरेपछि आफूहरु पनि यसमा लागेको याख्खाले बताए ।  

हातमा लगाएको सर्पको हड्डीको माला देखाउँदै उनले भने, ‘यो लगाउँदा आफ्नो रक्षा हुन्छ ।  झारफुक गर्दा निको हुने भएकोले यो सर्पको हड्डीको माला लगाएको हो ।’   

याख्खाकाे भनाइमा नाग पञ्चमीदेखि गुरु थाप्ने, पूजा गर्ने चलन पहिलादेखिकै हाे । भदौ पूर्णिमामा धुपधुवार गर्ने, पाँच पोखरी, सात पोखरी तथा मार्ग पोखरीमा गुफा बसी (चिन्ता बसी) ढुङ्गा मुनिको पानी, रुखमुनिको पानी लिएर पुजा गर्ने ठाउँमा जाने गरिन्छ ।

याख्खासँगै अर्का धामी दिलबहादुर कार्की पनि थिए । उनी १४ वर्ष पहिला धामी बनेका हुन्  । उनी रोग लागेका बाहेकका सामान्य बिरामी  झारफूकका माध्यमबाट निको भएको बताउँछन्  ।

यस्ता छन् धामी झाँक्री

यो शुक्रबारेमा गुरुलाई सम्झिँदै पूजा गर्न आउनेहरुमा डाँगपा, सुदाप, हमरजुंग, सिङ्थापा, ओख्रे, आङ्दिम, पञ्चकन्य, फाक्चामारा, हात्तिखर्क, ताङ्खुवा देखिका धामीहरु छन्  । यी क्षेत्रका धामीहरु हरेक वर्षको जनै पूर्णिमाको दिन यसैगरी आउने गरेका छन्  । यसरी आउने धामीहरु पनि फरक फरक खालका हुने गरेको धामीका अगुवाहरु बताउँछन्  ।

धामीका अगुवा रुद्रबहादुर लिम्बुका अनुसार, साङ्बा, माङ्वा, बिजुवा, झाँक्री, बुर्बजे, ओझा, ग्यावालामा, खदवाङमा प्रकारका धामीहरु यहाँ  आउने गरेका छन् ।

एक पटक धामी भएकाहरुको नवौँ पुस्तामा पनि धामी नउत्रने र विधि नपुर्याए दु:ख दिने गरेको लिम्बूले बताए । ‘विधिमा बेवास्ता गर्यो भने, बिरामी पर्ने, काम्ने लगायतले दुख दिने गरेको छ’, लिम्बूले भने, ‘भूत प्रेत तथा देवी देवता नआउँदासम्म काम्नै सकिँदैन ।’

आफूमा आएको शक्तिलाई गुपचुप गर्‍याे भने, कुँजो हुने, बिरामी हुने , घर परिवारमा हानी हुने गरेको यी धामीहरु बताउँछन्  । एउटा धामीले कुल पितृ तथा देवीदेवता मान्दै आयो भने  सफल हुने र अरुलाई पनि सफल गराउन सक्ने उनीहरुको दावी छ ।

देवी देवताको दोष, भूत -प्रेत लागेको बिरामी  आफूहरुले ठिक पारेको तर रोग नै लागेको बेलामा भने आफूहरुले ठिक हुन्छ भन्ने नगरेको लिम्बूले बताए ।

छथरकै उमेरले ४५ बर्ष काटेका रामकुमार याख्खाले धामीको काम सुरु गरेको १० वर्ष र गुफा बसेको चौथौ वर्ष भएको बताए । शक्ति हासिल गर्न रातभर जंगलमा बस्नु परेको उनले बताए । उनका अनुसार नाग पञ्चमीपछि  गुरुको धुप धुवार गर्ने तथा जीउ र देशानलाई शान्ति गरेस् भनेर आउने गरिएको छ ।   

रातको समयमा गुफा बसेको बेला कुनै गुरुले बोलाएर आफूलाई शक्ति तथा पहिचान दिने उनको अनुभव छ । 

भदौरे पूर्णिमा अर्थात जनै पुर्णिमाको अघिल्लो दिन उनीहरु गुफा बस्न लागि घरबाट हिँड्छन् ।  बिहान १० बजे हिँडेका यी धामीहरु राति चिहान तथा जंगलमा बस्ने, पूजा गर्ने, काम्ने तथा आफूलाई धामी बनाएका गुरुलाई मान्ने काम गर्दछन् । रातभर बसेर पूजापाठ गरेपछि त्यसै रात गुरुसँग भेट हुने उनीहरु सुनाउँछन्  । तर त्यो गुरु भनेको के हो अरु कसैलाई पनि थाहा हुँदैन ।

छथर पाउँपालिका वडा नम्बर १ मा रहेको मार्ग पोखरीको वरीपरी जंगल र जंगलकाे बीचमा चिहानघारी छ । त्यही मार्ग पोखरी उनीहरुको गुरुलाई सम्झिएर रातभर धुप धुवार गरेर बस्ने ठाउँ हो । रातभर धामी बसेका उनीहरु भाेलिपल्ट बिहानैदेखि त्यही रुपमा धामी बस्दै गाउँपालिका नजिकै रहेको शुक्रबारे बजारको एउटा रत्नादेवी नाम गरेकाे शीलालाई परिक्रमा गर्छन् ।

पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको दिन १२ बजेसम्मको २४ घण्टालाई उनीहरु गुफा बसेको मान्छन्  । यसरी गुफा बस्दा आफ्नो जीउमा शक्ति आउने  उनीहरुकाे विश्वास रहेकाे छ । 

शुक्रबारेमा रहेको त्यही रत्नादेवी शीलालाई उनीहरु शक्तिको रुपमा मान्छन्  । याे उनीहरुको शक्ति आर्जन गर्ने ठाउँ हो । यो पहिला हमरजंगमा उत्पति भएको र त्यो सार्दै अहिले शुक्रबारेमा ल्याएको मानिन्छ ।

रामकुमार याख्खा भन्छन्, ‘रत्ना बाजेले खोलाबाट खौवा भन्ने ठाउँबाट ल्याएर शुक्रबारेमा राखेको धामी गुरुहरुले बताएको हामीलाई थाहा छ ।’ गुरुहरुले त्यही भनेकोले गर्दा अहिले पनि त्यही ढुङ्गालाई रत्नादेवी शक्तिको रुपमा धामीहरुले मान्दै आएका उनीहरुकाे भनाइ छ  । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया