विप्लव नेतृत्व वार्तामा आए सरकारले रातो कार्पेट ओछ्याउँछ : परराष्ट्रमन्त्री ज्ञवाली

 साउन ३२, २०७६ शनिबार १२:२९:४४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालाई आत्मघाती बाटो छोडेर शान्तिपूर्ण बाटोमा आउन आग्रह गर्नुभएको छ । 

सरकारी सम्पत्ति र विदेशी लगानीमाथिको आक्रमण सरकारलाई कदापि स्वीकार्य नभएको भन्दै मन्त्री ज्ञवालीले अब नेपालमा हिंसा कसैका लागि पनि स्वीकार्य नभएको बताउनु भयो ।

गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोबाट विस्थापित बनेकाहरुलाई तेस्रो पटक राहत बाँड्न शनिबार गुल्मी पुग्नुभएका मन्त्री ज्ञवालीले नेपाल पत्रकार महासंघ गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा यस्तो बताउनु भएको हो ।  

उहाँले वार्ताको बहाना बनाएर आफ्ना कार्यकर्ताहरुलाई छुटाउने र शक्ति सञ्चय गर्ने माध्यमको रुपमा वार्तालाई प्रयोग गरिएमा त्यो सरकारलाई स्वीकार्य नहुँने समेत स्पष्ट पार्नुभयो । इमान्दारीपूर्वक वार्तामा आउने हो भने विप्लव नेतृत्वलाई रातो कार्पेट ओछ्याएर वार्ताका लागि सधैँभरि ढोका खुला रहेको उहाँले बताउनु भयो ।

‘हिंसाको सुरुवात गरेर गणतन्त्र र लोकतन्त्रलाई उल्टाएर के व्यवस्था ल्याउन खोजिएको हो?’ मन्त्री ज्ञवालीले विप्लव नेतृत्वलाई प्रश्न गर्नुभयो । जनताको वर्षौँदेखिको समृद्धिको सपना यही सरकाले पूरा गर्ने बताउँदै उहाँले विकास आयोजनाहरुमा दीर्घकालीन र दिगो विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सरकारको ध्यान केन्द्रित हुने बताउनु भयो ।   

मन्त्री ज्ञवालीले पालिका र कार्यालयहरुको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति, विकास निर्माण र वस्तुस्थितिको बारेमा पनि जानकारी लिनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया