भारतीय बिरामीको समेत मन जित्दै नेपालका आँखा अस्पताल

 साउन ३२, २०७६ शनिबार १३:४३:३८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – बहिनीको उपचारका लागि विराटनगर आँखा अस्पताल आएका भारतको झारखण्ड राज्यका विशाल सरकारलाई यहाँको उपचार सेवा निक्कै चित्त बुझेको छ ।

नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने सुनेर आफन्तबाट उहाँ बिरामी बहिनीलाई लिएर विराटनगर आउनुभएको हो । ‘उपचार राम्रो हुन्छ विराटनगर जाउ भनेर आफन्तले भनेपछि यहाँ आएँ, बहिनीको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्नेछ । अहिलेसम्म राम्रै उपचार भैरहेको छ, मंगलबार मोतीबिन्दुको अप्रेशन छ’, उहाँले भन्नुभयो ।

उहाँ उपचारकै लागि पहिलो पटक नेपाल आउनुभएको हो ।  उहाँ मात्रै होइन, नेपालका आँखा अस्पतालको भरपर्दो र गुणस्तरीय सेवाकै कारण सीमावर्ती भारतीय गाउँ मात्रै होइन, भारतका अन्य क्षेत्रका आँखाका बिरामी पने उपचारका लागि आउन् गर्छन् ।

तराईका अस्पतालमा धेरै भारतीय

धेरैजसो रोगको उपचारका लागि नेपालीहरु भारत तथा विदेशका अरु ठाउँ पुग्ने गर्छन् । तर आँखाको उपचारका लागि भने भारत तथा अरु देशबाट समेत बिरामी नेपाल आउँछन् । भारतबाट बस नै रिजर्भ गरेर समेत बिरामी नेपाल आउने गरेको उदाहरण छ ।

आँखाको उपचारका लागि विदेशको कुरा छाडौँ, काठमाण्डौसम्म पनि धाउनु पर्दैन ।  तराईका जिल्ला जिल्लामा बिस्तार भएको सेवाले नेपालीसहित भारतीय नागरिकलाई पनि उपचारमा पहुँच पुगेको हो ।

सबैभन्दा धेरैको संख्यामा विराटनगर आँखा अस्पतालले दैनिक १ हजार ५ भन्दा बढी बिरामीको आँखा परीक्षण र उपचार गर्दै आएको छ । तीमध्ये झण्डै ६० प्रतिशत भारतीय नागरिक हुन्छन् ।

डाक्टर सञ्जय सिंह

अहिले विराटनगर आँखा उपचारको हब नै बनेको अस्पतालका डाक्टर सञ्जय सिंह बताउनुहुन्छ । ‘सगरमाथा आँखा अस्पतालले सुरुमा कमाएको ख्याती र छिमेकी भारतबाट आएका नागरिकले जुन रुपमा उपचार पाएका थिए, अहिले त्यसैको प्रचार हुँदा विराटनगरले पनि विश्वास जितेको छ’, उहाँले भन्नुभयो । विराटनगर जस्तै सीमा क्षेत्रका अरु अस्पतालले पनि यसैगरी विश्वास जित्दै आएको छ ।

तराईमा नेपाल नेत्र ज्योति संघबाट सञ्चालन भएका १५ वटासहित १७ वटा आँखा अस्पताल छन् । मेची आँखा अस्पताल झापा, सगरमाथा आँखा अस्पताल सिरहा, विराटनगर आँखा अस्पताल मोरङ, जानकी आँखा अस्पताल धनुषा, गौर आँखा अस्पताल रौतहट, केडिया आँखा अस्पताल बारा, भरतपुर आँखा अस्पताल चितवन, परासी आँखा अस्पताल नवलपरासीले नेपालीसहित भारतीय नागरिकलाई पनि उपचार दिँदै आएका छन् ।

त्यसैगरी  बुटवल लायन्स आँखा अस्पताल, लुम्बिनी आँखा अस्पताल र  रणअम्बिका आँखा अस्पताल रुपन्देही, बहादुरगञ्ज आँखा अस्पताल कपिलबस्तु, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङ, फत्तेबाल आँखा अस्पताल बाँके, गेटा आँखा अस्पताल कैलाली र महेन्द्रनगर आँखा अस्पताल कञ्चनपुरले पनि आँखा उपचार सेवा दिएका छन् ।

यी आँखा अस्पतालमा वार्षिक २ लाख ७५ हजारको संख्यामा भारतीय बिरामीको मात्रै उपचार हुने नेपाल नेत्र ज्योति संघका निर्देशक शैलेश मिश्रले बताउनुभयो । भारतीय नागरिकले सीमा क्षेत्रका आँखा अस्पताल भरिभराउ हुन्छन् । भारतको तुलनामा नेपालमा उपचार सस्तो हुने भएकाले पनि बिरामी यहाँ आउने गर्छन् ।

तराई बाहेक पहाड र काठमाण्डौ उपत्यकामा पनि आँखा उपचारका लागि अस्पताल छन् । जहाँ उपचार सेवा सस्तो र सहज छ । डाक्टर रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटा, हिमालय आँखा अस्पताल कास्की, लायन्स लाकौल आँखा अस्पताल पाल्पा, हेटाैँडा आँखा अस्पताल मकवानपुर र बाग्लुङ आँखा अस्पतालले पनि सेवा दिएका छन् ।

त्यस्तै नेपाल नेत्र ज्योति संघबाट ८६ वटा आँखा उपचार केन्द्र पनि सञ्चालनमा छन् । आँखा उपचारमा तिलगंगा आँखा अस्पतालको छुट्टै पहिचान छ । अस्पतालले आँखा उपचारसँगै ७० देशमा जाने कृत्रिम लेन्स उत्पादनमा भूमिका खेलेको छ ।

तिलगंगासहित अरु अस्पतालले बेलाबेला उपचार पहुँच नपुगेका ठाउँमा घुम्ती शिविरसमेत लैजान्छन् । त्यस्तै नेपालको पुरानो अस्पताल नेपाल आँखा अस्पतालले समेत यसै वर्ष बाराको सिमरामा दोस्रो तहको अस्पताल खोल्ने तयारी गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले जानकारी दिनुभयो ।

सस्तो र भरपर्दो सेवा

आँखाको शल्यक्रिया भारतमा भन्दा नेपालमा पाँच गुणा सस्तो छ । नेपालमा झण्डै १२ सय रुपैयाँमै आँखाको शल्यक्रिया हुन्छ । जबकी भारतमा आँखाको शल्यक्रिया गर्दा झण्डै ६ हजार भारतीय रुपैयाँ खर्च लाग्छ । उपचार सस्तो हुने भएकाले पनि भारतबाट बिरामी बढी आउने गरेका हुन् ।

पहिला आर्थिक रुपमा कमजोर नागरिक नेपाल आउँथे । तर अहिले सबैजसो आउन थालेका छन् । आँखा उपचार भरपर्दो सेवाका रुपमा विस्तार भएको छ । यसरी सेवा भरपर्दो र विश्वास गर्न योग्य हुनुमा सरकारको हस्तक्षेप नहुनु मुख्य कारण रहेको आँखा विशेषज्ञ डाक्टर रामप्रसाद पोखरेलको अनुभव छ । सरकारसँग आर्थिक सहयोगका लागि हात थाप्नुपरेको छैन ।

पोखरेल भन्नुहुन्छ, ‘सरकारले एक पैसा नदिए पनि अस्पताल चल्न सक्ने अवस्थामै छन्, अहिलेसम्म पैसा नलिएरै चलेको थियो, तर ४/५ वर्ष यता सरकार आफैले अस्पताललाई ३/४ करोड जति र नेत्र ज्योति संघलाई ५ करोड जति दिन थालेको छ ।’ 

नेपालका आँखा अस्पतालले एसियामै उत्कृष्ट सेवा दिँदै आएका छन् । अरु सबैजसो रोगको उपचारमा पछाडि रहेको नेपालले आँखामा छिमेकीलाई समेत सेवा दिएको छ । डाक्टर पोखरेल भन्नुहुन्छ,‘तर यो साख जोगाइराख्न चुनौती छ, अनि सरकारको सहयोगको पनि खाँचो छ ।’

विभिन्न रोगको उपचारका लागि नेपालीहरु विदेश गैरहेका बेला आँखा रोगीले भने घरदैलोमै भनेजस्तो सेवा पाइरहेका छन् । अहिले भैरहेका आँखा अस्पताल र त्यहाँ रहेको सेवा र गुणस्तरलाई बढाउने हो भने नेपाल विश्वमै आँखा रोग उपचारको हब बन्ने निश्चित छ ।

-उज्यालाेकाे विशेष श्रृङ्खला 'ज्योतिर्गमय नेपाली आँखा' अन्तर्गतकाे याे तेस्राे भाग हाे ।

'ज्योतिर्गमय नेपाली आँखा' काे पहिलाे र दाेस्राे भाग पनि पढ्नुहाेस्

अन्तिम अपडेट: बैशाख ४, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया