प्रतिबद्धता पूरा नभए सरकारबाट बाहिरिन्छाैँ : उपप्रधानमन्त्री यादव

 साउन ३२, २०७६ शनिबार १८:३२:२५ | किरण लोहनी
unn.prixa.net

गोरखा– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारको कामबाट आफू उत्साहजनक हुन नसकेको भन्दै आफ्नै सरकारको आलोचना गर्नुभएको छ ।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनु भएका यादवले भन्नुभयो, ‘दुई तिहाइको सरकार छ, इतिहासकै बलियो सरकार हो यो, तर काममा कुनै उत्साह देखिएको छैन ।’

सरकारले राम्रो काम गरोस् भन्ने अपेक्षा गरे पनि सरकार सही ढंगले अघि बढ्न नसकेको उहाँको भनाइ छ । 

‘समष्टिगत रुपमा हेर्दा उत्साहवर्द्धक अवस्था बनिसकेको छैन’, उहाँले भन्नुभयो, ‘दुई तिहाइको सरकार, त्यो पनि कम्युनिष्ट पार्टीको सरकारबाट जनताले ठूलो अपेक्षा गरेका छन्, त्यो अपेक्षालाई पूरा गर्न सकिन्छ कि सकिन्नँ भनेर शंका गर्नुपर्ने अवस्था पो भैसक्यो त ।’ 

गरिबी, बेरोजगारीका समस्या, भूमिलाई आधुनिकीकरण गर्ने, आर्थिक अवस्थामा सुधार, औद्योगिकीकरण, बाहिरी प्रविधि भित्र्याउने लगायतका कुनै पनि काम सरकारबाट हुन नसकेको उहाँको भनाइ छ । 

संविधान संशोधनको शर्तमा मात्रै आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै उहाँले त्यो पूरा नभए सरकारबाट बाहिरिने बताउनु भयो । ‘उहाँहरुले संविधान संशोधनको प्रतिबद्धता गर्नुभयो, हामी दुई तिहाइ पुर्‍याइदिन सरकारमा गयौंँ’, उहाँले भन्नुभयो, ‘ओलीजी, प्रचण्डजीलाई भेट्दा हुन्छ हुन्छ भन्नुभएको छ, आशा छ छिट्टै प्रतिबद्धता पूरा गर्नुहोला ।’ 

हरेक पालिकामा १५ शय्याको अस्पताल स्थापनाका लागि सरकारले प्रयास गरिरहेको मन्त्री यादवको भनाइ छ । आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसँगै अस्पताल स्थापनाको कामलाई अघि बढाइने मन्त्री यादवले बताउनु भयो । स्वदेशमै राम्रो उपचार हुने अवस्थामा पनि नेताहरु उपचारका लागि विदेश जाने प्रवृत्ति कायम रहेकोमा उहाँले चिन्ता जनाउनु भयो । 

‘एक दुई रोग बाहेक अरु सबै रोगको उपचार नेपालमै हुन्छ’, मन्त्री यादवले भन्नुभयो, ‘सरकारले नयाँ स्वास्थ्य नीतिमा विदेशमा उपचार गर्न जाने नेतालाई खर्च दिन बन्द गरिसक्यो, जोसँग धेरै पैसा छ, उहाँहरु जानुहुन्छ, त्यसलाई रोक्न सकिँदैन ।’ 

सरकारले स्वास्थ्य क्षेत्रमा न्यून बजेट छुट्याएको पनि मन्त्री यादवको गुनासो छ । 

अन्तिम अपडेट: चैत १, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया