स्पेनिस ला लिगा : नयाँ सिजनको पहिलो खेलमा रियल मड्रिडको जित

 भदौ १, २०७६ आइतबार ६:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजन जितका साथ सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा रियलले सेल्टा डी भिगोलाई उसैको मैदानमा ३–१ ले पराजित गर्‍यो । रियललाई जित दिलाउनका लागि करिम बेन्जेमा, टोनी क्रुज र लुकास भाज्क्वेजले एक–एक गोल गरेका थिए ।

१२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । रियल मड्रिडले बेच्न लागेको ग्यारेथ बेलको पासमा बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । जुन अग्रता पहिलो हाफसम्मै कायम रह्यो ।

५६औं मिनेटमा लुका मोड्रिच रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भयो । तर त्यसको असर नतिजामा परेन । 

१० खेलाडीमा झरेपछि रियलले थप दुई गोल गर्‍यो । ६१औं मिनेटमा टोनी क्रुजले मार्सेलोको पासमा गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो ।

८०औं मिनेटमा बेन्जेमाको पासमा भाज्क्वेजले गोल गरेपछि रियलले ३–० को अग्रता थियो । इन्ज्युरी समयमा सेल्टाका इकर लोसादाले गोल गरेका थिए, जुन सान्त्वता गोल बन्न पुग्यो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया