खुट्टा टेक्ने ठाउँ छैन, खुलामञ्चमा कसरी गर्नु विरोध प्रदर्शन !

 असार २७, २०७५ बुधबार १३:३१:२८ | बेदानन्द जाेशी
unn.prixa.net

‘ए... नाम मात्र पो खुला रहेछ त’, बझाङबाट एसईई दिएर काठमाडौं आएका दिपक रोकाया खुलामञ्च देखेपछि छक्क पर्नुभयो ।

बझाङमा हुँदा उहाँलाई लागेको थियो खुलामञ्च भनेपछि त खुला नै होला, जहाँ कसैले सभासम्मेलन गर्दो हो वा मानिसहरु थकाइ मेटाउन एकैछिन भए पनि सुस्ताउँदा हुन् । तर नाममा मात्र खुला रहेको मञ्च देखेपछि उहाँले भन्नुभयो, ‘यो भन्दा त बझाङकै खुलामञ्च राम्रो ।’

 

हुन पनि विभिन्न संस्थाका अस्थायी भवन, गाडीको पार्किङ, सँगै टाँसिएको बसपार्क, जमेको पानी अनि फोहोरका कारण यो ठाउँ खुला डम्पिङसाइट जस्तो देखिन्छ । पानी जमेर र हिलो भएर खुट्टा टेक्ने ठाँउ पनि नभएको अनि फोहोर र दिसापिसाबले दुर्गन्धित यो ठाउँलाई सरकारले विरोध प्रदर्शन गर्न पाउने ठाउँ भनेर तोकेको छ । 

खुलामञ्च यसरी खुम्चियो

केही समय अगाडिसम्म काठमाडौंको खुलामञ्च साँच्चै खुला थियो । पुरानो बसपार्कमा काठमाडौं ट्रेड टावर बनाउने योजना बनेपछि खुलामञ्च भद्रगोल बनेको हो । २०७१ सालमा यो निर्णय भएपछि २०७३ साल जेठदेखि पुरानो बसपार्कलाई खुलामञ्चमा सारियो । खुलामञ्चको एक तिहाई भागलाई जस्ताले बारेर बसपार्क बनाइयो । 
त्यसपछि काठमाडांै महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले न्युरोड र महाबौद्ध क्षेत्रमा सवारीसाधनको भीड कम गर्न खुलामञ्चमा पार्किङ गराउन सुरु गरे । भूकम्पले भत्काएपछि वीर अस्पतालले अस्थायी भवन बनाएर सामान राखेको छ भने अलिकति भाग दरबार हाइस्कुलका सरसामानले पनि ढाकेको छ ।

टावर निर्माणको जिम्मा लिएको जापानिज कम्पनी ‘हाजामा’ ले खुलामञ्चमा आफ्ना कामदारलाई बस्न प्रिफ्याबका भवन बनाएको छ । यी सबै कारणले खुलामञ्च अहिले खुला मञ्च होइन जे पनि राख्न पाइने खुला डम्पिङ साइट जस्तो बनेको छ । 

खुलामञ्च खुला हुन अझै समय लाग्ने

काठमाडौ महानगरपालिकाले खुलामञ्च भित्रका सबै सामान हटाएर खाली गर्न समय लाग्ने बताएको छ । तत्कालै त्यहाँको बसपार्क सार्न सकिने, पार्किङ हटाउन मिल्ने वा निर्माण सामग्री हटाउन मिल्ने अवस्था नरहेको महानगरपालिकाका प्रवक्ता वशन्त आचार्यले बताउनुभयो ।

पुरानै अवस्थामा खुलामञ्च सञ्चालनमा आउन भने अझै समय लाग्ने र खुलामञ्चमा भूमिगत पार्किङस्थलको योजनाबारे पनि छलफल भइरहेकाले त्यसो भए त झन धेरै समय लाग्न सक्ने उहाँको भनाई छ । 

खुलामञ्चलाई प्रदर्शनस्थल तोक्नु कत्तिको उपयुक्त ?

जहाँसुकै विरोध प्रदर्शन गर्दा आवागमन प्रभावित भएको र नागरिकले दुख पाएको भन्दै सरकारले काठमाडौ उपत्यकाका सात ठाउँमा विरोध प्रदर्शन स्थल तोक्यो । त्यसमध्येको एक हो खुलामञ्च । तर अझै समय खुला मञ्चभित्र राखिएका गाडी र अरु सामान नहट्ने भएकाले तत्कालै यहाँ विरोध प्रदर्शन गर्न मिल्दैन ।

 

माइतीघर मण्डलामा विरोध गर्न नदिनुको कारण आवागमन प्रभावित भयो भनेर हो तर खुलामञ्चको वरिपरिको सडकमा नाराजुलुस गरिदा झन धेरै गाडी र यात्रु प्रभावित हुन्छन् । अर्कातिर नजिकै वीर अस्पताल रहेका कारण यहाँ विरोध प्रदर्शन गर्दा विरामीलाई समस्या पर्ने डाक्टरहरु बताउँछन् ।

वीर अस्पतालका निर्देशक भुपेन्द्रकमार वस्नेत भन्नुहुन्छ ‘अस्पतालजस्तो संवेदनशील र शान्त रहनुपर्ने क्षेत्र वरपर विरोध र प्रदर्शन गर्ने हो भने अस्पतालको वातावरण शान्त राख्न सकिंदैन ।’ 
 
 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया