नेपाल गन्तव्यबारे चीनमा तीव्र प्रचारप्रसार

 भदौ १, २०७६ आइतबार ९:१५:९ | रासस
unn.prixa.net

काठमाण्डौ – भ्रमण वर्ष २०२० अभियानको सङ्घारमा नेपाल गन्तव्यबारे चीनमा तीव्र प्रचारप्रसार भइरहेको छ । चीनको राजधानी बेइजिङमा ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ ले विगत चार महीनादेखि नेपालको वनस्पितिको विविधता, लगानीको वातावरण सिर्जनासँगै पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिरहेको हो ।

‘बेइजिङ एक्स्पो–२०१९’ को विश्व प्रदर्शनीमा कम्पनीले आगन्तुकलाई नेपाल भ्रमण वर्षबारे जानकारी दिँदै आएको छ । त्यसका लागि एक्स्पोमा छुट्टै डेक्ससमेत राखिएको छ । इम्प्लिमेन्टिङ ग्रुपले नेपाली मण्डपमार्फत नेपालको वनस्पति, लगानीका क्षेत्र तथा पर्यटकीय सम्भावनाबारे प्रवर्द्धन गरिरहेको एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिनुभयो । ‘हरित जीवन : उत्तम जीवन’ भन्ने मूल विषयवस्तुमा केन्द्रित उक्त प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अनन्योन्याश्रित सम्बन्धलाई प्रचार गरिएको छ ।

विश्वभर नियमितरुपमा एक्स्पो भइरहे पनि चीनमा भइरहेको एक्स्पोको विशेष महत्व रहने संयोजक शाहको भनाइ छ । उहाँका अनुसार एक्स्पोका विभिन्न तह रहने भएकाले चीनमा भइरहेको ‘बी’ लेभलको हो । आगामी वर्ष दुबईमा हुन लागेको एक्स्पो ‘ए’ लेभलको हो । एक्सपो कुनैपनि व्यापार मेला नभई एउटा देशमा भएको विषयवस्तुको जानकारी दिई त्यसमा लगानीकर्तालाई आकर्षण गर्ने उपयुक्त थलो भएको बताइन्छ ।

चीनमा चलिरहेको एक्स्पोमा नेपालमा रहेका वनस्पतिको परिचय गराउने, विशेषताको जानकारी गराउने र लगानीको वातावरणबारे जानकारी दिने काम भइरहेको छ । चीनमा हुने अधिकांश औषधि जडीबुटीमार्फत बनाइने गरिएकाले नेपालमा उनीहरूको विशेष चासो हुने अपेक्षा कम्पनीको छ । 

आगामी कात्तिक महीनासम्म चल्ने सो एक्स्पोकोे १६ करोड व्यक्तिले प्रत्यक्ष तथा विश्वव्यापीरुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रत्यक्षरुपमा अवलोकन गर्ने बताइन्छ । हालसम्म नेपाल मण्डपमा १५ लाखभन्दा बढी दर्शकले अवलोकन गरिसकेका संयोजक शाहले बताउनुभयो ।

यस्तो छ, एक्पोको आकर्षण 

बेइजिङ एक्स्पो ५०० हेक्टर क्षेत्रमा फैलिएको छ । सबै अवलोकन गर्न सात दिन लाग्छ । नेपालले करीब पाँच रोपनी क्षेत्रफलमा लुम्बिनी शान्ति बगैँचा बनाएको छ । त्यहाँ १५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल मूर्ति बीचमा राखेर नेपालको कृषि, वन, वनस्पति सम्पत्तिको शोधखोज एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजना भित्र्याउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न प्रयास भइरहेको संयोजक शाहले बताउनुभयो ।

गत अप्रिल २८ तारिखका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणका बेला नेपाल मण्डपको उद्घाटन गर्नुभएको थियो । आगामी असोज २ गते एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनियाँ टोलीबीच औपचारिक कार्यक्रम आयोजना हुनेछ । सोही अवसरमा नेपाली कला, कौशल तथा संस्कृति झल्कने गीत सङ्गीतका साथै नेपाली रैथाने परिकारसहितको खाद्य महोत्सव आयोजना हुने जनाइएको छ ।

नेपाल दिवसको चिनियाँ सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारणसमेत गर्ने छन् । भ्रमण वर्षका बारेमा जानकारी दिन त्यहाँ छुट्टै सूचना केन्द्र राखिएको छ । स्थानीय आगन्तुकले चिनियाँ भाषामै नेपालका बारेमा जानकारी लिन पाउँछन् । नेपालको पर्यटन क्षेत्र तथा वनस्तपतिमा नेपाल र चिनियाँ लगानीका अवसरबारे छलफल हुनेछ । यस्तो एक्स्पो हरेक तीन/तीन वर्षमा आयोजना हुने गर्छ ।

दुबई एक्सपोमा पनि नेपाल सहभागी हुने 

सन् २०२० को अक्टोबर महीनादेखि दुबईमा आयोजना हुने ए लेवलको विश्व प्रदर्शनी एक्सोमा पनि नेपालले सहभागिता जनाउने भएको छ । हरेक पाँच/पाँच वर्षमा हुने सो एक्स्पोमा नेपालबाट इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले प्रतिनिधित्व गर्ने छ । एक्स्पोमा सहभागी हुन ग्लोबल टेन्डर गरिएको थियो ।

आपसी हितमा लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त एक्स्पो छ महीनासम्म चल्ने छ । अहिले दुबईमा स्टल निर्माण, प्रदर्शनीका लागि सामग्री आयात तथा तयारी गरिँदै छ । इम्पिमेन्टिङ कम्पनीले यसअघि चीन, जर्मनी, जापान, अष्ट्रेलियालगायत मुलुकमा एक्सपो गरिसकेको छ । पछिल्लो सन् २०१५ मा इटालीमा भएको थियो । 

विश्व प्रदर्शनी एक्स्पो चाइनिज ओलम्पिक गेमजस्तै विश्व सङ्गठन हो । ‘ब्यूरो इन्टरनेशनल एक्सपोजिसन’(बिआइए) नामक संस्था जसको मुख्यालय फ्रान्सको पेरिसमा रहेको छ । यसमा नेपालसहित १८० देश सदस्य छन् । विश्व प्रदर्शनी व्यापार मेला नभई मानव जातिले विभिन्न क्षेत्र वा अमुख विषयमा विकास, उपलब्धि गरेका विभिन्न विषयको प्रदर्शनी गरिन्छ । सन् १८५१ बाट बेलायतको लण्डनबाट शुरु भएको थियो । 

बिआइएको मापदण्डअनुरुप कुन शहरमा के विषयवस्तुमा विश्व प्रदर्शनी गर्ने भन्ने सोहीअन्तर्गत बेइजिङमा अहिले प्रदर्शनी भइरहेको हो । प्रदर्शनीमा बागवानी, फलफूल, वनस्पति, बिरुवा, जडीबुटीलगायत विषयमा कुन देशले केकस्ता उपलब्धि गरेका छन् र त्यसबाट मानव जातिले कसरी फाइदा लिने भन्ने विषयमा प्रदर्शनी भइरहेको संयोजक शाहले उल्लेख गर्नुभयो । प्रदर्शनीमा ११० राष्ट्र र २४ वटा अन्तर्राष्ट्रिय सङ्गठनले सहभागिता जनाएका छन् ।

एक्स्पोका माध्यमबाट नेपालमा चिनियाँ पर्यटक भित्र्याउनुका साथै वनस्पति तथा पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । यस्ता प्रदर्शनीमा सरकारी निकाय नेपाल पर्यटन बोर्डजस्ता संस्थाको सक्रियता बढ्नसके पर्यटन प्रवर्द्धनका साथै लगानी भित्र्याउन सहयोग पुग्ने संयोजक शाहको भनाइ छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१७ मा ९३ हजार ६५४ पर्यटन नेपाल आएका थिए । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया