हाम्रा प्रधानमन्त्री यस्ता छन् भनेर सोचेकै थिइनँ : डाक्टर केदारभक्त माथेमा

 असार २७, २०७५ बुधबार १३:४१:९ | अर्जुन पोख्रेल
unn.prixa.net

माथेमा कार्यदलले दिएको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयेक बन्नुपर्ने माग गर्दै डाक्टर गोविन्द केसी १२ दिनदेखि अनसनमा हुनुहुन्छ । 

जुम्लाको सदरमुकाममा अनसन बसेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । उहाँले चिकित्सा शिक्षा सुधारको लागि ज्यानको बाजी नै लगाउन पनि तयार भएको अडान राख्दै आउनुभएको छ । तर सरकारले भने कुनै व्यक्ति अनसन बसेकै भरमा सरकारले कसैका माग पूरा नगर्ने बताउँदै आएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नै डाक्टर गोविन्द केसीले जे भन्छन् त्यही गर्न नसकिने संसदलाई जवाफ दिनुभएको छ । चिकित्सा शिक्षा सुधारको लागि अनसन बसेका डाक्टर केसीप्रति सरकार गै जिम्मेवार हुँदै गएको भन्दै नागरिक समाज र मानवअधिकारवादीले आलोचना गर्दै आएका छन् । यसै विषयमा तत्कालीन माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग अर्जुन पोख्रेलले गरेको कुराकानीको अंश :

डाक्टर गोविन्द केसी जुम्लामा अनसनमा हुनुहुन्छ, तर काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले अनसन बसेकै भरमा सरकार नझुक्ने र चिकित्सा शिक्षा विधेयक सरकारले चाहेअनुसार नै आउने बताउनुभएको छ । प्रधानमन्त्रीको यो अभिव्यक्तिले के संकेत गर्छ त ?

प्रधानमन्त्री ओलीसँग मेरो पहिलादेखि नै चिनजान छ । तर यसपटक उहाँ किन यसरी प्रस्तुत हुनुभएको छ कुन्नि, म छक्क परेको छु । उहाँ पहिला त्यस्तो त हुनुहुन्थ्यो, तर अहिले अचानक उहाँको व्यवहारमा किन यसरी परिवर्तन आएको छ । उहाँलाई सल्लाह दिनेले राम्रो सल्लाह दिएनन् कि जस्तो पो लागेको छ त मलाई । हाम्रा प्रधानमन्त्री यस्ता छन् भन्ने त मैले सोचेकै थिइनँ । उहाँ किन यसरी बदलिनुभयो भनेर म त छक्क परेको छु ।

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले डाक्टर गोविन्द केसीका माग नागरिकका हितमा छैनन् भन्ने देखाउँछ, त्यस्तो हो र ?

त्यसरी नागरिकको स्वास्थ्यको लागि अनसनमा बसिरहेका एकजना डाक्टरसँग प्रधानमन्त्रीले जुहारी खेलेको देख्दा मलाई दुःख पनि लागेको छ । केसीले उठाएका माग प्रधानमन्त्रीले भनेजस्तो हलुका खालका छैनन् । एकपटक सरकारले डाक्टर केसीसँग गम्भीर भएर कुरा गर्नुपर्‍यो । ज्यान हत्केलामा राखेर अनसन बसेका एकजनासँग सरकारले कोठाबाट जुहारी खेल्न सुहाउँछ ? उहाँले बीचमा माग थप गर्नुभएको होइन, हाम्रो कार्यदलले पहिला जे जस्ता सुझाव दिएको थियो तिनैलाई कार्यान्वयन गर्नुपर्छ भन्ने नै हो । 

तर तपाईँ नेतृत्वको त्यो कार्यदलले दिएका सुझाव समय सापेक्ष भएनन्, नेपालमा एमबीबीएस पढ्न नपाएर विद्यार्थी बाहिरिए भन्ने पनि त छ नि, हैन र ?

बिल्कुल हैन । यो त भ्रम सिर्जना गर्न खोजिएको छ । हामीले त पर्याप्त अध्ययन अनुसन्धान गरेर मात्रै सुझाव दिएका हौँ । डाक्टर केसी पटक–पटक अनसन बसेपछि पहिलाका सरकारले पनि उहाँका माग ठिक छन् र माथेमा कार्यदलले दिएको प्रतिवेदन ठिक छ भनेरै अध्यादेश लगेको थियो नि होइन र ? तर दुःखको कुरा त्यो अध्यादेशमा भएका मुख्य–मुख्य  कुरा फालेर डाक्टर केसीले भन्दै आएका माफियालाई पोस्नेतर्फ सरकार केन्द्रित भएको हो कि भन्ने पो देखियो छ । म त केही बुझ्नै सकेको छैन कसरी यस्तो परिस्थिति आयो भनेर ।

काठमाडौंमा किन मेडिकल कलेज खोल्न नहुने भन्ने तर्क पनि आइरहेका छन् । केही विद्वानहरुले नेपालमा मेडिकल कलेज खोल्न नदिएर धमाधम विद्यार्थी बाहिर गए भन्ने पनि तर्क गर्नुहुन्छ । तर त्यस्तो पटक्कै होइन । अहिले बाहिर जाने विद्यार्थीलाई पनि हामीले इन्ट्रान्स दिने व्यवस्था गरेपछि यो संख्या पनि घटेको छ । अहिले नै कति मेडिकले कलेजले त कोटा नै पुर्‍याउन सकेका छैनन् । 

उसो भए  तपाईँहरुले दिएको प्रतिवेदनलाई आधार मानेर बनाइको अध्यादेशमा अहिलेका सत्तापक्ष र स्वयं प्रधानमन्त्रीलाई घाटा हुने त्यस्तो के प्रावधान छ र विरोध भयो त ?

उहाँहरुले नागरिकको लागि राजनीति गरेको भए यो अध्यादेश नागरिककै हितमा छ । नागरिकको हितमा भए पनि उहाँहरुका केही आफ्ना बाध्यता होलान, सबै कुरा नभनौँ । तर उहाँहरुको यो हर्कत जनताले त हेरिरहेका छन् । मेरो विचारमा प्रधानमन्त्री दोबाटोमा हुनुहुन्छ ।

एउटा बाटो अलिक कठिन होला, त्यो बाटो प्रयोग गर्दा केही नजिकका मानिस रिसाउलान् अनि आर्थिक कुरासँग पनि जोडिएला । तर त्यो बाटो नागरिकको हितमा छ, नागरिकको हितमा काम गर्ने हो भने अलिअलि अफ्ठेरा पञ्छाउन पनि सक्नुपर्छ । अर्को बाटो सजिलो छ, डाक्टर केसीका मागलाई लत्याउने तर त्यो बाटोले उहाँलाई दीर्घकालसम्म अपजसको भारी बोकाउने छ । 

आजसम्मका भनाई हेर्दा सरकार टसमस हुने देखिन्न, भनेपछि डाक्टर केसीलाई यसपल्ट झनै गाह्रो हुने देखियो हैन त ?

मलाई त लाग्छ ओलीजीले आवेशमा आएर बोल्नुभयो होला । जो आफ्नो परिवारको लागि हैन नागरिकका लागि लडेको छ, उहाँलाई सरकारले यो स्तरको व्यवहार आवेशमा आएर मात्रै गर्‍याे होला भन्ने लाग्छ मलाई । सरकारले उहाँको आवाज नसुनी सुख्खै छैन,  डाक्टर केसीलाई गाह्रो हुने भनेको तपाईँ  हामीलाई नै गाह्रो हुने हो । 


 


 

अन्तिम अपडेट: चैत ७, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Chandan sah

    July 11, 2018, 6:04 p.m.

    Mero bichar ma sarkar le gareko nirnay purai thik hoin tar nagarik le magng gareko sampurn kura sarkar le pura garn ekdamai garho hunx .Tar sarkar le soch bichar garer janta ko hit ko lagi aawasyak x vane majha le gare hunx .ani janta lai khushi banaunu parx .VAT tapnu parx vane janta mathi milayer thape hunx sarkar jyu.

  •  0 Reply

तपाईको प्रतिक्रिया