प्रदेश दुईमा झनै भ्रष्टाचार बढ्यो : प्रचण्ड

 भदौ २, २०७६ सोमबार १८:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

धनुषा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश दुईमा झनै भ्रष्टाचार बढेको बताउनुभएको छ ।

रामवृक्ष यादवक‍ो २५ औँ  स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको समेत दाबी गर्नुभयो ।प्रदेश सरकार आएपछि नागरिकको अपेक्षाअनुरुप काम हुने विश्वास लिइएको भए पनि प्रदेश दुई सरकारले त्यसअनुरुप काम गर्न नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । 

नागरिकलाई दुःख, पीर, मर्का पर्दा सरकार तुरुन्त आएर सहयोग गर्यो त भन्दा त्यस्तो नभएको पाएको उहाँले बताउनुभयो । ‘यहाँ जनतालाई दुःख पीर मर्का पर्दा सरकार तुरुन्त आएर सहयोग गर्न थाल्यो त भन्दा मैले बुझ्दा त्यस्तो भएको छैन । बरु यहाँ त भ्रष्टाचार अझै बढ्यो भन्ने सुनिएको छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले अहिले तलैसम्म सुशासन नभएको र नागरिकलाई झन दुःख भएको सुनिएको भन्दै आफूहरु यसकै निम्ति लडेको हो त भन्दै प्रश्न गर्नुभयो ?, ‘तलैसम्म सुशासन छैन, जनतालाई झन दुःख छ भन्ने सुनिएको छ । के हामी यस्कै निम्ति लडेको हो त । विल्कुल होइन ।’ 

प्रत्येक वर्ष बाढीका कारणले हुने क्षतिलाई दीर्घकालीन रुपमा नियन्त्रण गर्नुपर्ने, सुक्दै गएको जलाशय तथा चुरे वरिपरि र राजमार्ग आसपासका जलाशय फेरि पहिले जस्तै फर्काउन प्रयास गर्ने, हिउँदमा हुने आगलागी रोक्नका लागि समाधानको उपाय अपनाउनु जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

हरेक पटकको संघर्षमा बारा, पर्सा, रौतहट लगायतका सीमावर्ती जिल्लाले गरेको लगानी अनुसार प्रतिफल पाउन नसकेको पनि बताउनुभयो । उहाँले चुरेको संरक्षणका लागि मास्टर प्लानसहितको योजनाअघि नसारिए तराई मरुभूमिमा परिणत हुने भन्दै सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया