पत्रकार पुडासैनी आत्महत्या प्रकरण : बहस सकियाे, म्याद थप्ने वा नथप्ने भन्नेबारे केही बेरमा निर्णय आउने

 भदौ ३, २०७६ मंगलबार १७:१७:५७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – पत्रकार शालिकराम पुडासैनीको रहस्यमय आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई हिरासतमै राखिरहनु पर्ने या नपर्ने भन्नेबारे जिल्ला अदालत चितवनमा बहस सकिएको छ ।

अदालतमा लामिछानेको पक्षबाट बहस गरेका वकिलहरुले अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राखिरहनुपर्ने कुनै पनि कारण नभएकाले रिहा गर्नु पर्ने माग गरेका छन् । उहाँको पक्षबाट सशील पन्त र सुनिल पोखरेलले बहस गरेका थिए ।

उनीहरुले लामिछानेलाई फेरि हिरासतमै राखिरहनु पर्ने कारण नदेखिएको र उहाँले दिएको बयानको कुन व्यहोराले म्याद थप गर्नु पर्ने देखिएको हो त्यो स्पष्ट नखुलेकाले उहाँलाई हिरासत मुक्त गर्नु पर्ने बहस गरेका थिए ।

रवि लामिछानेका तर्फबाट बहस गर्नु भएका अधिवक्ता सुशील पन्तले काम बाँकी छ भन्दैमा हिरासतमा राख्नु नपर्ने तर्क गर्नुभयो । उहाँले भिडियो कसले प्रसारण गरेको हो र त्यसको स्रोतमाथिकाे सत्यताका बारेमा पनि प्रश्न उठाउनुभयो । उहाँले यस घटनामा ‘फेअर जस्टिस र फेअर इन्भेस्टिगेसन’ हुनुपर्ने पनि बताउनुभयो ।

प्रहरीले भने केही प्रमाण संकलन भएको र केही नयाँ कुरा खुलेकाले अनुसन्धानका लागि अझै १० दिनको म्याद थप गर्न माग गरेको छ । बीचमा शनिबार परेकाले अनुसन्धानमा ढिलाइ भएकाे सरकारी वकिलले दलील पेस गरेका थिए ।

थुनछेक बहस सकिसकेको र अदालतले केही बेरमा म्याद थप गर्ने वा नगर्ने भन्ने बारे निर्णय दिने छ । 

बिहीबार हिरासतमा लिइएका रवि लामिछानेसहित ३ जनालाई प्रहरीले अदालतमा उपस्थित गराइ ५ दिनकाे म्याद लिइएकाे थियाे । प्रहरीले अनुसन्धान प्रक्रिया बाँकी नै रहेकाे भन्दै मंगलबार थप १० दिनकाे म्याद थप माग गर्दै उनीहरुलाई अदालतमा उपस्थित गराएकाे हाे । लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई गएकाे बिहीबार प्रहरीले काठमाण्डाैबाट पक्राउ गरेर चितवन लगेकाे थियाे ।

अन्तिम अपडेट: चैत १६, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया