लाप्राक एकीकृत नमुना बस्ती : एनआरएनलाई प्राधिकरणको ९ बुँदे ध्यानाकर्षण

 भदौ ३, २०७६ मंगलबार २०:२४:२० | किरण लोहनी
unn.prixa.net

गोरखा – लाप्राकको गुप्सीपाखाको नमुना बस्ती हस्तान्तरणअघि सम्झौतामा उल्लेख भएका सबै पूर्वाधार निर्माणको काम सक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।

एकीकृत बस्ती निर्माणको काम गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएन)लाई पत्र लेख्दै प्राधिकरणले सम्झौतामा उल्लेख भएका सबै पूर्वाधार निर्माण गर्न ध्यानाकर्षण गराएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य ध्रुव शर्मा नेतृत्वको टोलीले गएको असार १८ गते बस्ती निर्माणको स्थलगत अवलोकन गरेको थियो ।

त्यस क्रममा स्थानीय बासिन्दासँग गरिएको छलफललाई समेत आधार मानेर ९ बुँदे ध्यानाकर्षण पत्र पठाइएको प्राधिकरणको आवास तथा बस्ती विकास शाखाका सिनियर डिभिजनल इन्जिनियर राजकाजी श्रेष्ठले बताउनुभयो ।

प्राधिकरणको पत्रमा बस्ती आसपासको आकाशे पानी, धाराको पानी र भान्छामा प्रयोग भएको पानीको दीर्घकालीन व्यवस्थापन गर्न, बस्तीबीचमा बन्न लागेको सडकमा नाला र ढलको व्यवस्थापन गर्न र शौचालय निर्माणमा थप ध्यान दिन सुझाव दिएको छ ।

‘एकदेखि अर्को घरको बीचमा ट्वाइलेटको सेप्टिक ट्याङ्की बनाइएको र त्यसमा सुख्खा पर्खाल लगाएको पाइयो’,  कार्यकारी समिति सदस्य ध्रुव शर्माले भन्नुभयो, ‘सुख्खा गाह्रोका कारण मलमूत्र फैलन सक्ने भएकाले सेप्टिक ट्याङ्कीको पानीको दीर्घकालीन व्यवस्था गर्न पनि हामीले भनेका छौँ ।’

यस्तै बस्तीको पानी निकाश हुने खोल्सामा रहेको क्रसर उद्योग तत्काल बन्द गर्न पनि प्राधिकरणले भनेको छ । स्थलगत अनुगमनका क्रममा घरमा कमसल खालको झ्यालढोका प्रयोग भएको स्थानीय बासिन्दाले गुनासो गरेका कार्यकारी समिति सदस्य शर्माको भनाइ छ ।

पहिले बनेका घरमा राम्रो झ्यालढोका प्रयोग भए पनि अहिले भने कम गुणस्तरका सामान प्रयोग गरिएको स्थानीय बासिन्दाको गुनासो छ । प्राधिकरणले बस्तीको माथिल्लो भागमा रहेको वनसहितको क्षेत्र भिरालो रहेकाले त्यस क्षेत्रमा ढुंंगामाटो झिक्न र रुख काट्न बन्द गर्नुपर्ने सुझाव पनि दिएको छ ।

यस्तै बस्तीमा विद्युतीकरणको लागि समन्वय गर्न पनि ध्यानाकर्षण गराइएको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताउनुभयो । ‘बस्ती निर्माणसम्बन्धी सम्झौतापत्रमा विद्युतीकरणको काम गैरआवासीय नेपाली संघले गर्ने भन्ने त छैन’, उहाँले भन्नुभयो, ‘घर हस्तान्तरणअघि विद्युतको काम कसले गर्ने भन्ने टुंगो लगाउने र त्यसको समन्वयका लागि भने आग्रह गरिएको हो ।’

साथै बस्ती निर्माण र घर हस्तान्तरणसँगै स्थानीय बासिन्दाको जीविकोपार्जनमा टेवा पुग्ने खालका कामहरु गर्नेबारे पनि ध्यानाकर्षण गराइएको छ । कार्यकारी समिति सदस्य ध्रुव शर्मा, निर्देशक समिति सदस्य तारानीधि भट्टराई, नापी अधिकृत, भूगर्भविद्लगायतको टोलीले गएको असार १८ गते गुप्सीपाखामा निर्माणधीन बस्तीको स्थलगत अध्ययन गरेको हो ।

टोलीले बुझाएको प्रतिवेदनका आधारमा गैरआवासीय नेपाली संघलाई ९ बुँदे ध्यानाकर्षणपत्र पठाइएको श्रेष्ठले बताउनुभयो । गोरखाको लाप्राकका भूकम्प प्रभावितलाई बसोबास गराउने गरी गैर आवासीय नेपाली संघ (एनआरएन)ले गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माण थालेको हो ।

कुल ५ सय ७३ मध्ये हालसम्म ३० घरको निर्माण पूर्ण रुपमा सकिएको छ । बाँकी घर निर्माण अन्तिम चरणमा पुगेको छ । पुननिर्माण प्राधिकरणले आवश्यक थप पूर्वाधार निर्माणपछि मात्रै घर हस्तान्तरण गर्न ध्यानकर्षण गराएपछि घर हस्तान्तरणमा अझै ढिलाइ हुने भएको छ ।

अन्तिम अपडेट: चैत २२, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया