नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक आज, पाँच विषयमा छलफल हुने

 भदौ ४, २०७६ बुधबार ८:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक बुधबारदेखि काठमाण्डौमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर बुधबार काठमाण्डौ आउँदै हुनुहुन्छ । भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

भारतीय विदेशमन्त्री एस जयशंकर आएलगत्तै दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् ।

संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ । राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुने कार्यसूची छ ।

यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ ।

बैठकको सुरुमै केही नयाँ समझदारीमा दुई देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया