पर्सा बजार अनुगमन : बोरामा थोरै चामल राख्ने र तराजु नवीकरण नगर्ने ११ उद्योगलाई मुद्दाको तयारी

 भदौ ४, २०७६ बुधबार १२:३३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नापतौल तथा गुणस्तरको पालना नगर्ने ११ ओटा उद्योग तथा पसलविरुद्ध नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्जले मुद्दा दायर गर्ने तयारी गरेको छ । 

मंगलबार वीरगञ्जसहित पर्साका केही उद्योग र पसलमा अनुगमन गर्दा ११ ओटा उद्योग तथा फर्मले नापतौल तथा गुणस्तर कायम नगरेको पाइएको कार्यालयका प्रमुख शशिभुषण यादवले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

अनुगमनका क्रममा शिवम एग्रो प्रालीले २० किलोको चामलको बोरामा ८० ग्रामसम्म कम चामल राख्ने गरेको पाइएको छ । यस्तै जगदम्बा डिस्ट्रिब्युटर, मरुनी रवर इन्डस्ट्रिज, ओम खाद्य उद्योग, गंगा खाद्य उद्योग, दिपेश खाद्य उद्योग, चाँदनी खाद्य उद्योग, चन्दन राइस मिल्स र जगदम्बा पलास्टिक उद्योगले नापतौल यन्त्र नलिएको र लिएकाले पनि नवीकरण नगराएको भेटिएको छ । 

उनीहरुलाई तीन दिनभित्र कार्यालय उपस्थित हुन भनिएको र चित्तबुझ्दो जवाफ नदिए अथवा मापदण्ड पालना नगरेमा स्टाण्र्डड नापतौल ऐन २०२५ अनुसार एकवर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग राखेर मुद्दा दायर हुने कार्यालय प्रमुख यादवले बताउनु भयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया