१८ कराेड रुपैयाँ हिनामिना गरेकाे आराेपमा देवः विकास बैंकका शाखा प्रबन्धक पक्राउ

 भदौ ४, २०७६ बुधबार १४:९:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – १८ कराेड रुपैयाँ रकम हिनामिना गरेकाे आराेपमा नारायणपुरमा रहेको देवः विकास बैंकका प्रबन्धक पक्राउ परेका छन् । 

रकम हिनामिना गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का भरतपुर निवासी बासी २९ वर्षिय समिर बुढाथोकीलाई दाङ प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीमाथि देवः विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैँया अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको शाखाबाट कर्जा स्वीकृति नगराइ ऋण प्रवाह गरेको आरोप छ ।

वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देवः विकास बैंकसँग गाभिएको थियो । बुढाथोकी विसं २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैंकमा कार्यरत थिए । विगत डेढ वर्षदेखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका थिए । 

बुढाथोकीले ३५ जना नक्कली ऋणी खडा गरी आफूलाई फाइदा र बैंकलाई नोक्सान हुने गरी पैसा हिनामिना गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ्ग कसुर तथा सजाय ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

उनलाई आज उच्च अदालत तुलसीपुरको नेपालगञ्ज बाणिज्य इजलासमा म्याद थपका लागि लगिएको छ । दाङमा वाणिज्य इजलास नभएकोले उनलाई बाँके लगिएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया