इलाम विमानस्थल पाइलट ट्रेनिङ स्कुल खोल्नका लागि समेत उपयुक्त छ : पर्यटन मन्त्री भट्टराई

 भदौ ४, २०७६ बुधबार १८:२०:२० | सुजता सुनुवार
unn.prixa.net

इलाम – निर्माणाधीन इलाम विमानस्थल पाइलट ट्रेनिङ स्कुल खोल्नसमेत उपयुक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताउनुभयो ।

बुधबार इलाममा निर्माणाधीन विमानस्थल अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै  मन्त्री भट्टराई यहाँको विमानस्थल पाइलटहरुलाई तालिम दिन पनि उपयुक्त हुने बताउनु भएको हो ।

गृह जिल्ला ताप्लेजुङ जाने क्रममा उहाँले विमानस्थलको अनुगमन गर्नु भएको हो । विमानस्थल निर्माण सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि मन्त्री भट्टराईले यसको अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा उहाँले भन्नुभयो, ‘इलाममा आवश्यक्ता भएर नै विमानस्थल निर्माण कार्य सुरु भएको हो । यो चाँडै नै सम्पन्न हुन्छ ।’

इलाम पर्यटकीय जिल्ला भएकाले विमानस्थल चल्नेमा आफू ढुक्क भएको बताउँदै उहाँले नेपालको इलाम र दाङ पाइलट ट्रेनिङ स्कुल खोल्नका लागि उपयुक्त रहेको बताउनुभयो । अनुगमनका क्रममा यी दुई जिल्लाका विमानस्थल मुख्य लागेकोले काठमाण्डौ पुग्नसाथ एउटा कार्यदल गठन गर्ने उहाँको भनाइ छ ।

निर्माणाधीन इलाम विमानस्थलमा अहिले पार्किङ र धावन मार्गको काम भइरहेको छ । १५ महिने ठेक्का सुरु भई काम सुरु भएको १ महिना बितिसकेको छ । अबको १४ महिनामा यसको थप प्रगति हुनेछ भन्दै उहाँले बाँकी कामका लागि थप रकम विनियोजन गर्न आफू लाग्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

हाल ९ करोड ५० लाख ८० हजारको लगानीमा काम भइरहेको निर्माण कम्पनी आशिष आर्शीवाद स्वामीनारायण जेभीले जनाएको छ । आगामी असोजसम्ममा दोस्रो परीक्षण उडान गर्ने लक्ष्य रहेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख मनोज भट्टराईले बताउनुभयो ।

इलाम नगरपालिका–९,गोलाखर्क भञ्ज्याङ नजिकै निर्माणाधीन सुकिलुम्बा विमानस्थलको २०७५ साल जेठमा पहिलो पटक परीक्षण उडान भइसकेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया