नेपाल एअरलाइन्सको जापान उडान : ‘घाटा हुन्छ भनेर जहाज उडाएन भने कहिले उँभो लाग्ने ?’

 भदौ ५, २०७६ बिहिबार १०:४३:३० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्दैछ । २४ अर्ब रुपैयाँ लगानी गरेर किनिएका २ वटा वाइडबडी जहाज लामो दूरी उडाउन नसकेको र आम्दानी गुमाइरहेको आरोप लागेपछि निगमले जापानको ओसाकामा उडान गर्ने पक्का त गरेको छ । तर निकै टाढाको सहरमा उडान गर्नुपर्ने भएकाले निगमलाई सञ्चालन खर्च उठाउनै समस्या हुने हो कि भन्ने चुनौती देखिएको छ ।

अध्यक्षको प्रश्न : संसारको कुनचाहिँ एअरलाइन्सले नयाँ गन्तव्यमा पुरै सिट भरेको छ ?

नेपाल वायुसेवा निगमले जापान उडानबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा निगमका अध्यक्ष मदन खरेलको मुख्य जोड थियो ‘निगम जापान जान्छ कि जाँदैन भन्ने प्रश्न आइरहेका छन्, तपाईंहरुले अब निगम जापान जान्छ नै भनेर प्रचारप्रसार गरिदिनुपर्‍यो ।’

२ सय ७४ सिटको एअरबस ३३०– २०० सिरिजको जहाज जापानको ओसाका जानेछ । निगमले हप्ताको ३ वटा उडान ओसामा हुने जनाएको छ । तर पहिलो उडानको लागि जम्मा १ सयको हाराहारीमा टिकट बुकिङ भएको छ । निगमले यसलाई नराम्रो भनेको छैन । पहिला निगमका जहाज नियमित जापान जान्छन् भन्ने छाप छाडेपछि यात्रुले विश्वास गर्ने र १ बर्षपछि ८० प्रतिशत ‘अकुपेन्सी’ हासिल गर्न सकिने निगमको दाबी छ ।

‘एकाध बाहेक संसारका कुनै पनि जहाजले नयाँ गन्तव्यमा जाँदा सुरुमा ५० प्रतिशतभन्दा धेरै सिटमा यात्रु पाउन मुश्किल पर्छ, नेपाल एअरलाइन्सले पनि सुरुमा यात्रु नपाउला, तर हामी नियमित भयौं भने यात्रु पाउन समस्या छैन’ निगमका अध्यक्ष मदन खरेलले भन्नुभयो ।

सन् १९९४ मा निगमले जापानको ओसाकामा उडान गर्दा पनि सुरुका केही उडान ५० प्रतिशत भन्दा कम यात्रु बोकेरै भएको स्मरण गर्दै खरेलले भन्नुभयो, ‘हामीले सुरुको ५÷६ महिना ५० प्रतिशत सिट भर्न सक्यौं भने पनि सफलता हुनेछ, त्यसपछि यात्रु बढ्नेछन भन्नेमा हामी ढुक्क छौं ।’

टिकट बेचिरहेका एजेन्टले पनि सेप्टेम्बरपछि यात्रु बढ्न सक्ने जानकारी दिएको अध्यक्ष खरेलको दाबी छ ।

घाटा हुन्छ भनेर नयाँ गन्तव्यमा गएन भने निगम कहिले उँभो लाग्दैन : वाणिज्य निर्देशक दाहाल

केही एअरलाइन्सले  काठमाण्डौ–ओसाकाको लागि १ लाख रुपैयाँसम्म शुल्क लिँदै आएका छन् । तर नेपाल वायुसेवा निगमले भने ७० हजार रुपैयाँमै काठमाण्डौ–ओसाका उडान गर्दैछ । यसले उडानको सञ्चालन खर्च पनि उठ्ने/नउठ्नेमा स्वयं निगम नै दोधारमा छ । तर पनि केही समयपछि यात्रु थपिने र भाडा बढाएर फाइदामा जान सकिने निगमको दाबी छ ।

‘अहिले १ लाख रुपैयाँ भाडा लिने एअरलाइन्सले पनि पहिले काठमाण्डौ–ओसाकाको भाडा ७०/७२ हजार नै लिन्थे, सुरुमा नयाँ गन्ब्यमा जाँदा प्रवर्द्धनात्मक हिसाबले भाडा लिने हो हामीले पनि त्यही गरेका हौँ’ निगमका वाणिज्य निर्देशक टंकनिधी दाहालले उज्यालोसँग भन्नुभयो, ‘घाटा हुन्छ भनेर नयाँ गन्तव्यमा उडान थालेन भने निगम कहिल्यै उँभो लाग्दैन, त्यसैले हामीले जोखिम मोलेरै भए पनि उडान गर्नुको विकल्प छैन ।’

नेपाल वायुसेवा निगमले अहिले जापानमा पूर्ण व्यवसायिक भन्दा पनि प्रवद्र्धनात्मक उडान गरेकोले नाफा घाटाको हिसाव गौण हुने दाहालको भनाइ छ । ‘हामीले जहाज नउडाउँदा पनि थन्कायो भन्ने आरोप लगाउने, अनि उडाउँदा पनि घाटामा उडायो भन्ने आलोचना भैरहेका हुन्छन्, त्यसैले आलोचना हुँदै गर्छ, हामीले उडान पनि गर्दै जान्छौं, अबको ५/६ महिनापछि ओसाका जाने हरेक फ्लाइटमा ८० प्रतिशत भन्दा धेरै सिट भरिएका हुनेछन् ।’

जापान उडानको लागि निगमले २५ जना पाइलट र १ सय २३ जना चालक दलका सदस्य पनि तयार पारिसकेको छ । ग्राउन्ड ह्यान्डिलिङ, तेल हाल्ने, व्यवस्थापन लगायतका सबै कम्पनीसँग पनि सम्झौता गरिसकेको छ ।

यस्तो छ जापान उडानको इतिहास

अहिले धरासायी बन्दै गएको नेपाल एअरलाइन्सको विगत भने निकै गर्विलो छ । नेपाली झण्डा अंकित तत्कालीन शाही नेपाल वायुसेवा निगमका जहाज काठमाण्डौबाट शांघाइ, टोक्यो, लंडन, फ्र्यांकफ्रटसम्म पुग्थे । केही गन्तव्यमा निगमको ‘अकुपेन्सी’ शतप्रतिशत थियो ।

निगमले सन् १९९४ को अक्टोवर ३० तारिखमा चीनको शांघाइ हुँदै जापानको ओसाका उडान सुरु गरेको थियो । ओसाका–संघाइ–काठमाण्डौ, अनि काठमाण्डौ–शांघाइ–ओसाका उडान निगमका बोइङ ७५७ सिरिजका जहाजले गर्थे ।

सुरुमा निगमले यात्रु नपाए पनि पछि औसतमा ८१ प्रतिशत सिट भरिएका हुन्थे । तर निगमसँग जहाज घट्दै जानु र अरु एअरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सन् २००७ को अप्रिल १२ देखि काठमाण्डौ–ओसाका उडान रोकियो । यसरी उडान स्थगित हुनलाई निगमले २ वटा कारण भनेको छ । पहिलो कारण निगमका जहाज पर्याप्त नहुनु र दोस्रो ट्रान्जिट फ्लाइट हुँदा व्यवस्थापनमा गाह्रो हुनु ।

१३ वर्ष उडान गर्दा निगमले काठमाण्डौ–शांघाइ–ओसाका रुटमा २ लाख ३५ हजार २ सय ४२ यात्रु बोकेको थियो । यस्तै २१ सय ६५ टन कार्गो निगमको जहाजले बोकेको थियो ।

निगमले काठमाण्डौदेखि ओसाकासम्म नियमित उडान गरेको थियो । सन् १९९४ देखि सन् २००७ सम्म निगमको जम्मा एउटा उडान मात्रै स्थगित भएको थियो, नत्र उडान नियमित भयो । त्यसैले नेपाल वायुसेवा निगमले ओसाका बिमानस्थलबाट ‘नन क्यान्सिल अवार्ड’ पनि पाएको वाणिज्य निर्देशक टंकनिधि दाहाल बताउनुहुन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया