अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
गोरखा – बुधबार रातिको भीषण वर्षापछि आएको पहिरोले बारपाकका २४ घर परिवार विस्थापित भएका छन् ।
तीन घण्टासम्मको लगातारको वर्षाले बारपाक सुलिकोट गाउँपालिका–२, रुदुकाका देवबहादुर गुरुङको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ को सीमामा गएको पहिरोले दुवै वडाका २४ घर उच्च जोखिममा परेको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो ।
जोखिममा परेका सबैजसो घरधुरी सुरक्षित ठाउँमा सरेको उहाँले जानकारी दिनुभयो । बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टका अनुसार पहिरो प्रभावितहरु सुरक्षित ठाउँको खोजीमा छन् । ‘सबैजसो घरमा पहिरोको लेदो माटो पसेको जानकारी आएको छ’, उहाँले भन्नुभयो, ‘जोखिममा परेका घरका बासिन्दालाई सुरक्षित ठाऊँमा सार्न जनप्रतिनिधिसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।’
केहीले आफन्त र छिमेकीको घरमा आश्रय लिएको उहाँले बताउनुभयो । अहिले पहिरोबाट जोगिएका घरहरु पनि फेरि त्यस्तै वर्षा भएमा जोगिन नसक्ने भएकाले सुरक्षित ठाउँमा स्थानान्तरणको प्रयास भैरहेको गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो । पहिरोले एउटा ट्रयाक्टर पनि पुरेको वडाध्यक्ष रोशन विकले जानकारी दिनुभयो ।
२०७२ सालको भूकम्पका कारण विस्थापित भएका आसपासका बासिन्दा सुरक्षित ठाउँको खोजी गर्दै रुदुकामा आएका बसेका थिए । त्यही ठाउँ पनि पहिरोको जोखिममा परेपछि उनीहरु चिन्तित बनेका विकको भनाइ छ ।
पहिरोको कारण स्थानीय तुम्सिका लघु जलविद्युत आयोजनाको नहरमा पनि क्षति पुगेको छ । नहर पहिरोले पुरिएपछि जलविद्युत आयोजनाको उत्पादन बन्द भएको वडाध्यक्ष विकले जानकारी दिनुभयो ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।