यस पटक सिंगापुरमा प्रधानमन्त्री ओलीकाे के-के उपचार हुँदैछ ?

 भदौ ५, २०७६ बिहिबार १७:४४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि तीन हप्ताकाे बीचमा दाेस्राे पटक बिहीबार सिंगापुर प्रस्थान गर्नुभयाे ।

गएकाे साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर आएपछि आफ्नाे शरीरका सबै अंग हातखुट्टाका नङसमेत ठिक रहेकाे र आफ्नाे स्वास्थ्यस्थिति राम्राे रहेकाे प्रतिक्रिया दिएका प्रधानमन्त्री ३ हप्ता नबित्दै फेरि उपचार गर्न जानुले कतै स्थिति गम्भीर त छैन? भन्ने प्रश्न उब्जाएकाे छ ।

पछिल्लाेपटक सिंगापुरबाट फर्केपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयबाट देशका प्रधानमन्त्रीकाे स्वास्थ्यस्थितिका बारेमा कुनै आधिकारिक जानकारी गराइएन । सामाजिक सञ्जाललगायत अन्य क्षेत्रमा पनि देशका प्रधानमन्त्री जस्ताे उच्च पदस्थ व्यक्तिकाे स्वास्थ्य अवस्थाबारे जानकारी पाउनु नागरिकहरुकाे अधिकार भएकाे कुराहरु साथै असन्तुष्टि व्यक्त गरिएका थिए ।

बिहीबार प्रधानमन्त्री सिंगापुर उड्नुअघि प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंहले प्रेस नाेट जारी गरेर गएकाे साउन १८ देखि २७ सम्म सिंगापुरमा उपचार गराउँदा मिर्गाैलासम्बन्धी एण्टिबडीकाे मात्रा बढी देखिएकाे र बढी देखिएकाे एण्टिबडी निस्कासन गरेर निराकरण गर्न प्रधानमन्त्री ओली फेरि सिंंगापुर जान लाग्नुभएकाे जानकारी गराउनुभएकाे थियाे ।  

प्रधानमन्त्रीका अर्का निजी चिकित्सक डाक्टर दिलीप शर्माले प्रधानमन्त्रीकाे ‘क्रेटिनाइन अहिले २ को हाराहारीमा रहेकाे र उहाँको मिर्गाैला स्थिर रहेकाे’ जनाउनुभएकाे छ ।

सिंंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको डाक्टर शर्माकाे भनाइ छ ।   

प्रधानमन्त्रीलाई भएकाे के हाे?

वरिष्ठ मिर्गाैला राेग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेका भनाइमा प्रत्याराेपण गरिएकाे मिर्गाैलाका विरुद्ध शरीरले एण्टिबडी बनाएका कारण समस्या देखिएकाे हाे ।

प्रत्याराेपण गरिएकाे मिर्गाैला शरीरकाे संयन्त्रभन्दा बाहिरकाे हुने भएकाले शरीरले त्यसका विरुद्ध एण्टिबडी बनाएकाे हाे । प्रत्याराेपण गरिएकाे मिर्गाैला सधैँका लागि नहुने भएकाले याे र यस्ता समस्या देखिनु स्वाभाविक हाे ।

एण्टिबडी के हाे?

एण्टिबडी भन्नाले कुनै पनि बाहिरी तत्वले शरीरमा गर्ने हानी वा आक्रमण राेक्न तिनीहरुविरुद्ध शरीरकाे राेग प्रतिराेध संयन्त्रले तयार गरेकाे प्राेटिन तत्व हुन् जुन सामान्यतया अंग्रेजी वर्णमालाकाे वाइ आकारका हुने चिकित्सकहरु बताउँछन् ।

के गरिन्छ एण्टिबडी नष्ट गर्न?

डाक्टर काफ्ले भन्नुुहुन्छ, त्यसका लागि प्लाज्मा फेरेसिस भन्ने प्रविधि हुन्छ । प्लाज्मा फेरेसिस भनेकाे रगतमा रहेका अस्वस्थ प्लाज्मालाई निकालेर स्वस्थ प्लाज्मा राख्ने भन्ने बुझिन्छ । उहाँका अनुसार फेरेसिस कम्तीमा पनि ६ पटक गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले फेरि मिर्गाैला प्रत्यारोपण पनि हुनसक्ने काफ्लेले बताउनुभयाे । 

प्लाज्मा फेरेसिस सामान्य कुरा हाे वा घातक?

प्लाज्मा फेर्ने काम सफल भएमा मिर्गाैलाले अझ राम्राे काम गर्न सक्छ भने असफल भएकाे खण्डमा त्यसले मिर्गाैला फेल गराउने सम्भावना बढाउँछ । मिर्गाैला फेल भयाे भने फेरि डायलाइिसस नै विकल्प हाे । तर प्लाज्मा फेरेसिस असफल हुनु भनेकाे नै ज्यान नै तत्कालै जाेखिममा पर्ने भन्ने हुँदैन बरु यसले मिर्गाैला फेल गराउन सक्ने सम्भावना भने बढाउँछ ।

नेपालमा सम्भव छ या छैन? कत्तिकाे खर्चिलाे छ?

डाक्टर काफ्लेका अनुसार प्लाज्मा फेरेसिस नेपालमा उपलब्ध छ र एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्दछ । मिर्गाैला राेगकाे उपचार हुने नेपालका अस्पतालमा पनि यसकाे उपचार हुने डाक्टर काफ्लेकाे भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाइन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास डाक्टर काफ्लेले दिलाउनुभयाे । एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उहाँको भनाइ छ ।

डा. काफ्लेले देशको प्रधानमन्त्रीजस्तो व्यक्ति उपचार गर्न जाँदा नकरात्मक टिप्पणी गर्न नहुने आशय व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे,‘देश डुबाउनेगरी खर्च हुँदैन । यो खर्चिलो उपचार होइन ।’

यद्यपि उहाँले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था के–कस्तो छ ? भन्ने कुरा नेपाली नागरिकले थाहा पाउनुपर्ने बताए । उहाँले नेपाली जनतालाई निःशुल्क डायलाइसको सुविधा दिलाउने कामको जस पनि वर्तमान प्रधानमन्त्री ओलीलाई जाने बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया