धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
ताप्लेजुङ – ताप्लेजुङ जिल्लाको एक मात्र सुकेटार विमानस्थल नियमित रुपमा सञ्चालनमा आउने गरी स्तरोन्नति गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बताउनुभयो ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आउनुभएका भट्टराईले बिहीबार विमानस्थलको निरीक्षण गर्नु भएको हो । विमानस्थलको स्तरवृद्धि नभएसम्म पर्यटक तथा अन्य यात्रुलाई सहज नहुने भएकाले नियमित सञ्चालनमा आउने गरी स्तरवृद्धिको कार्य तत्कालै सुरु गरिने उहाँले बताउनुभयो ।
मन्त्री भट्टराईले पर्यटकीय जिल्ला भएर पनि धेरै पर्यटकहरु भित्रन नसक्नु एउटा कारण विमानस्थलसमेत भएको औंल्याउनुभयो । २०२८ सालमा निर्माण भएको सुकेटार विमानस्थलको हालसम्म भनेजस्तो स्तरवृद्धि नहुँदा पर्यटन विकासमा समेत असर पुगेको मन्त्री भट्टराईको भनाइ छ ।
विमानस्थलको स्तरवृद्धि गर्ने योजनाका लागि विनियोजन भएको रकमभन्दा थप बजेटको आवश्यक परेमा पनि अभाव हुन नदिनलाई आफूले पहल गर्ने उहाँले बताउनुभयो ।
विमानस्थल नियमित र दैनिक सञ्चालनमा आउनेगरी साथै ठूलो सिट क्षमताका जहाजहरुले समेत उडान भर्न सक्नेगरी स्तरवृद्धि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । विमानस्थलको स्तरवृद्धिसँगै नियमित उडान सञ्चालन हुन सकेमा हवाई यात्रुको सहजता मात्र नभई प्रशस्त पर्यटकीय सम्भावना बोकेको जिल्लामा भित्रने पर्यटकको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।
पर्यटकहरुको आगमन बढेमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा रहेको जिल्ला ताप्लेजुङको मात्र नभई देशकै पर्यटन विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
मन्त्री भट्टराईले विमानस्थलको स्तरवृद्धिका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य, स्थानीय सरकारका जनप्रतिनिधि तथा सरोकारवाला सबैलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
सुकेटार विमानस्थल कालोपत्रे (पिच) गरेको चार वर्षपछि स्तरवृद्धि गरिने भएको हो । चालू आर्थिक वर्ष २०७६/७७ का लागि १६ करोड रुपियाँ बजेट विनियोजन भएको र त्यो बजेटले विमानस्थलको स्तरवृद्धिसँगै विमानस्थल प्रवेश मार्ग, यात्रु प्रतीक्षालयसहितका थप संरचनाहरु निर्माण गर्न लागिएको हो । विनियोजित बजेट कार्यान्वयन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण इन्जिनियरिङ विभागले गत असार पहिलो साता नै ठेक्काका लागि बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढाएको छ ।
त्यो ठेक्का बोलपत्र आह्वानपश्चात खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्स्ट्रक्सनले आठ करोड ९९ लाख ५० हजार ३४९ रुपैयाँमा ठेक्का पारेको प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपाने जानकारी दिनुभयो ।
इन्जिनियर न्यौपानेका अनुसार विमानस्थल स्तरवृद्धिको कार्य गर्दा हाल कायम रहेको संरचनामाथि थप धावनमार्ग वृद्धि र स्तरोन्नति, यात्रु प्रतिक्षालय, सुरक्षा जाँचका लागि व्यवस्थित कक्ष निर्माणलागयतका काम हुने छ ।
विमानस्थल स्तरवृद्धि गर्ने कार्यका लागि गत चैतको तेस्रो सातामा सर्भेसमेत गरिसकिएको छ । त्यसबेला नागरिक उड्डयन प्राधिकरणको अनुबन्धमा रियलपाथ इन्जिनियरिङ कन्सलटेन्सीले सर्भेको कार्य गरेको थियो ।
विमानस्थलको हाल भएको धावन मार्गको लम्बाइ ७०० मिटरबाट बढाएर ९०० मिटर बनाउनेगरी सर्भे भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हाल कायम रहेको ७०० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विनओटर जहाज र १८ सिट क्षमताका अन्य जहाजले उडान भर्ने गरेका छन् ।
निगमको जहाज बाहेक अन्यले नियमित उडान भने सञ्चालनमा ल्याएका छैनन् ।