२ सय २ पालिकाकामा ९० प्रतिशतभन्दा धेरैको पहुँचमा बिजुली

 भदौ ५, २०७६ बिहिबार १७:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभरिका सात सय ५३ ओटा पालिकामध्ये दुई सय २२ ओटा पालिकामा ९० प्रतिशभन्दा बढी विद्युत पुगेको छ । 

नेपाल विद्युत प्राधिकरणले देशैभरिका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्याङ्क अनुसार एक सय १७ ओटा पालिकामा विद्युतीकरण ५ प्रतिशतभन्दा कम छ । 

केही स्थानीय तहमा विद्युत् अझै पुगेकै छैन । प्राधिकरणले गएको आइतबार आफ्नो ३४ औंँ वार्षिकोत्सवको अवसरमा विद्युतीकरण तथ्याङ्क समेटिएको पुस्तक सार्वजनिक गरेको हो । 

५५ ओटा पालिकामा ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । एक सय ६ ओटा पालिकामा ३५ देखि ६५ प्रतिशत र दुई सय ५३ ओटा पालिकामा ६५ देखि ९० प्रतिशतसम्म  विद्युतीकरण भएको छ । 

हालसम्म कुल जनसंख्याको झण्डै ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत् पुगेको छ । कुल जनसंख्याको झण्डै २२ प्रतिशतले अझै राष्ट्रिय ग्रिडको विद्युत् प्रयोग गर्न पाएका छैनन् । सरकारले विसं २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत् खपतलाई ७०० युनिट  पुर्‍याउने लक्ष्य राखेको छ । यसका लागि ग्रिड पुर्‍याउन सम्भव नहुने स्थानहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ । 

हरेक नेपाली जनताको पहुँचमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।

‘यसका लागि देशभर नै पर्याप्त विद्युत प्रसारण तथा वितरण सञ्जालको विस्तार योजनाबद्ध रुपमा अगाडि बढाएका छौँ’’, उहाँले भन्नुभयो, ‘अब पालिकाहरुलाई क्रमिकरुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाउने छौँ ।’

प्राधिकरणले राष्ट्रिय ग्रिड नपुगेका रुकुम (पूर्व), कालिकोट, बाजुरा र जुम्लामा चालु आर्थिक वर्षभित्रमा विद्युत पुर्याउने लक्ष्य राखेको छ । आगामी दुई वर्षभित्रमा डोल्पालाई र त्यसपछि हुम्लालाई राष्ट्रिय विद्युत् प्रणालीमा आबद्ध गर्ने गरी काम अगाडि बढेको घिसिङले बताउनु भयो ।   

चार सय ६० ओटा पालिकामध्ये एक सय तीन ओटा पालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ ।  प्रदेश नम्बर १ का २३, प्रदेश नं ३ तथा गण्डकीका ६/६, प्रदेश नं ५ का ७, कर्णालीका ३७ र सुदूर पश्चिमका २४ गाउँपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको हो । ४७ ओटा गाउँपालिकामा ५ देखि ३५ प्रतिशत र ७१ ओटा गाउँपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । एक सय ४२ ओटा गाउँपालिकामा ६५ देखि ९० प्रतिशतसम्म र ९७ ओटा गाउँपालिकामा ९० देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ । 

महानगरपालिका, उपमहानगरपालिकासहित दुई सय ९३ ओटा नगरपालिकामध्ये १४ ओटा नगरपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ । यसमा कर्णाली र सुदूर पश्चिम प्रदेशका क्रमशः ६ र ८ ओटा नगरपालिका छन् । 

यसैगरी ८ ओटा नगरपालिकामा ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३५ ओटा नगरपालिमा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण हुनेमा पनि कर्णाली र सुदूर पश्चिम प्रदेशका क्रमशः ७ र १ ओटा नगरपालिका छन् । ३५ ओटा नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । 

एक सय ११ ओटा नगरपालिकामा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ भने एक सय २५ ओटा नगरपालिकामा ९० देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ । 

प्रदेश नम्बर ३ मा सबैभन्दा बढी अर्थात ९० दशमलव ३० प्रतिशत विद्युतीकरण भएको छ  । कर्णाली प्रदेशमा सबैभन्दा कम २७ दशमलव ०३ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । गण्डकी प्रदेशमा ८७ दशमलव ३९ प्रतिशत, प्रदेश नम्बर ५ मा ८१ दशमलव ०३ प्रतिशत, प्रदेश नम्बर २ मा ७९ दशमलव ७७ प्रतिशत, प्रदेश नम्बर १ मा ७५ दशमलव ९० र सुदूर पश्चिम प्रदेशमा ५८ दशमलव ९० प्रतिशत विद्युतीकरण भएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया