सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको छ : राष्ट्रपति

 भदौ ६, २०७६ शुक्रबार ८:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले श्रीकृष्णजन्माष्टमीजस्ता ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पुर्‍याएको बताउनुभएको छ ।

‘हाम्रा सांस्कृतिक सम्पदा, प्रचलन र मान्यता राष्ट्रिय जीवनका अमूल्य निधि हुन्’, सन्देशमा उहाँले भन्नुभएको छ, ‘मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धधन गर्नु हामी सबैको साझा दायित्व हो ।’ उहाँले श्रीकृष्ण जन्माष्टमी पर्वले हामीबीच सदाचार, सत्कर्म, प्रेम र करुणा जागृत गर्न सकोस् भनी कामनासमेत व्यक्त गर्नुभएको छ ।

गौरापर्वले राष्ट्रिय एकतामा सहयोग

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताउनुभएको छ । गौरापर्वको शुभकामना सन्देश दिँदै उहाँले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताउनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, ‘विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु ।’

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया