मनै लोभ्याउने सोलुखुम्बुको दूधकुण्ड

 भदौ ७, २०७६ शनिबार ११:४८:४८ | सुरेश खड्का
unn.prixa.net

सोलुखुम्बु आफैमा सुन्दर जिल्लाको रुपमा परिचित छ । असंख्य हिमश्रृङ्खला रहेको यो जिल्लामा एउटा यस्तो सुन्दर स्थान छ जो गुमनाम भएर बसिरहेको छ ।

सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर तथा कार्यालुङ हिमालको काखमा रहेको छ दूधकुण्ड ताल । यो ताल समुद्री सतहदेखि झण्डै ४७०० मिटरको उचाइमा अवस्थित रहेको छ । दुवै हिमालबाट आएको पानी जमेर ताल निर्माण भएको छ ।

हिन्दू, किराँती तथा बौद्ध धर्मावलम्बीहरु सबैले आस्थाको धरोहरका रुपमा लिइने यो स्थानको धार्मिक महत्व पनि रहेको छ ।  यस स्थानमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने गर्दछ । मेला भर्न छिमेकी जिल्ला रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुर तथा काठमाण्डौबाट समेत मानिसहरु श्रद्धाका साथ आउने गर्दछन् । यसका अलावा विदेशी पर्यटकहरु यहाँको सुन्दरता हेर्न बर्सेनि आइरहेका हुन्छन् ।

रमणीय विशाल ताल, सुन्दर २ वटा हिमाल नजिकैबाट नियाल्न सकिने यो नै नेपालको सुन्दर स्थानहरु मध्येमा पर्दछ । सदरमुकाम सल्लेरीबाट झण्डै २० कोशको दूरीमा रहेको यो स्थानसम्म आइपुग्न पैदल यात्रा नै गर्नुपर्दछ  । भौगोलिक रुपमा अत्यन्तै विकट रहेको यो स्थान प्राकृतिक सुन्दरताको दृष्टिले भने अग्रस्थानमा रहेको छ । सुन्दरताको हिसाबमा अति नै आर्कषक रहेता पनि प्रचारप्रसारको अभावमा दूधकुण्ड ताल गुमनाम रहेको छ ।

उत्पत्तिसम्बन्धी किंवदन्ती

दूधकुण्ड ताल पत्ता लागेको झण्डै एक शताब्दी मात्र भएको यहाँका स्थानीय बासिन्दाहरु बताउँदछन् । यो ताल धेरै नै पुरानो भए पनि यहाँ वरपर कुनै पनि मानव बस्ती नभएका कारण यहाँ वर्षायाममा चौरीगोठ लिएर जाने चौरीगोठालाहरुले पत्ता लगाएको स्थानीय आङ पेम्बा शेर्पा बताउनुहुन्छ । यस स्थानको उत्पत्ति सम्बन्धमा विविधि किंवदन्तीहरु रहेका छन् । धार्मिक मान्यताअनुरुप धर्मअनुसारको आ–आफ्नै किंवदन्ती रहेको छ ।

केही बौद्धमार्गीहरु काठमाण्डौ उपत्यकामा रहेको पानी मञ्जुश्री (शेर्पा भाषामा फाकेरिन्जी ) ले चोभारको डाँडो काटेर केही बाहिर पठाएपश्चात बाँकी रहेको पानी यहाँ ल्याएर लुकाइ राखेको र यहाँ कुण्डमा रहेको पानी त्यही काठमाण्डौ उपत्यकाको हो भन्ने प्रचलनसमेत रहेको छ ।

हिन्दू तथा किराँत धर्ममा आस्थावान मानिसहरुको भनाइमा परापूर्वकालमा भगवान महादेवले तपस्या गरेको स्थानका रुपमा लिने गर्दछन् । यहाँ पोखरीको छेवैमा शिवलिङ्गसमेत रहेको प्रमाणको आधारमा त्यो कुरालाई मानिएको हो ।

यस्तै समुद्र मन्थनको समयमा निस्किएको कालविषले संसारलाई नै ध्वस्त पार्ने अवस्था आएको तथा त्यस विषबाट संसारलाई मुक्ति दिलाउन भगवान शिवले विष आफ्नो घाँटीमा लिई छटपटाएर यसै दूधकुण्ड क्षेत्रमा आई यहाँको शुद्ध चिसो पानी खाएपश्चात  विषसमेत मत्थर भएको तथा यहाँका जडिबुटीहरुले उक्त विषको असर समेत नियन्त्रणमा आएको कथन रहेको वेदका ज्ञाता डा.वासुदेव शास्त्री बताउनुहुन्छ ।

कसरी पुग्ने दूधकुण्ड ?

काठमाण्डौदेखि सोलुखुम्बु जिल्लासम्म हाल पक्की सडक निर्माण भइसकेको छ । बीपी राजमार्ग खुर्कोट हुँदै सिद्धिचरण राजमार्ग हुँदै सल्लेरी सम्म बस,जिप तथा मोटरसाइकलबाट करिब १० घण्टामा सडकमार्गबाट आउन सकिन्छ ।

हवाई मार्गबाट आउँदा भने त्रिभुवन विमानस्थलबाट झण्डै ४५ मिनेटको उडानमा नै सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा आइपुगिन्छ ।

दैनिकजसो ३/४ वटा उडान हुने फाप्लु विमानस्थल वर्षायाममा समेत सुरु हुन्छ, त्यस्तै काँगेल विमानस्थल पनि नजिकै रहेको हुँदा यहाँबाट समेत सहजै सदरमुकाम सल्लेरीसम्म आइपुग्न सकिन्छ ।

सदरमुकाम सल्लेरीबाट हाल रिङमु सम्म सडकको ट्रयाक खोलिएको छ तर वर्षायाममा भने यो सडकमा सवारीसाधनहरु खासै चल्दैनन् । पैदल हिँड्दा भने फाप्लु, चिवाङ, फेरा हुँदै झण्डै ४ घण्टामा रिङमु पुग्न सकिन्छ । गाडीबाट हो भने झण्डै १ घण्टामा त्यो स्थानसम्म पुग्न सकिन्छ । रिङमुसम्म अत्यन्तै राम्रो बाटो तथा बास बस्नका लागि विदेशी पर्यटक तथा स्वदेशीका लागि समेत उपयुक्त हुने खालका लज तथा होटलहरु प्रशस्तै पाइन्छ ।

रिङमुबाट भने पर्यटकीय क्षेत्र नाम्चेतर्फ जाने बाटो छोडेर दूधकुण्डतर्फ जाने बाटोतर्फ लाग्नुपर्दछ । रिङमुबाट दूधकुण्डतर्फ लाग्दा जनैपूर्णिमाको अवसरको समयमा भने बाटोमा अस्थायी होटलहरु तथा चौरीगोठ प्रशस्तै भेटिन्छ तर अन्य समयमा भने खाना तथा बासको लागि अलि कठिन हुने गर्दछ । तसर्थ त्यसको बन्दोबस्त गरेर समूहमा हिँड्दा राम्रो हुन्छ ।

रिङमुबाट झण्डै २ घण्टाको पैदल यात्रा उकालो तथा तेर्सो बाटो हिँडेपछि सरकारीपाटी भन्ने स्थानमा आइपुगिन्छ । घना जंगल, सुनपातीको मिठो बासना चराचुरुङ्गीको आवाजले यात्रालाई झनै आनन्ददायी बनाउने गर्दछ ।

केही मानिसहरुलाई यही स्थानदेखि नै लेक लाग्ने समस्या पनि हुन्छ, तसर्थ आवश्यक पर्ने औषधिहरु साथमा बोक्ने, झोल पदार्थ प्रशस्त खादै हिँड्नुपर्दछ । जनैपूर्णिमाको अवसरमा भने लेक लाग्ने समस्यालाई मध्यनजर राखेर रेडक्रसले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दछ ।

सरकारी पाटीबाट उकालै उकालो झण्डै ३ घण्टापश्चात ३५०० मिटरको उचाइमा कामीडाँडा भन्ने स्थानमा आइपुगिन्छ । सदरमुकामबाट पहिलो दिन हिँड्दा यो स्थानमा आइपुग्दा दिउँसो झण्डै  ५ बजेको समय हुने हुँदा त्यस दिन यही स्थानमा नै बास बस्दा उपयुक्त हुन्छ । यहाँबाट अघि बढेपछि रुख तथा बोटबिरुवा कमै हुने भएकाले श्वासप्रश्वासमा अलिअलि असहज हुन्छ तसर्थ बिस्तारै पाइला अघि बढाउनु पर्दछ ।

कामीडाँडाबाट भने केही उकालो, केही तेर्सो बाटो जोङले खोला, गामटाङ हुँदै सहस्रबेनी आइपुगिन्छ । सहस्रबेनीमा भने सरकारी तवरबाट निर्मित पाटी तथा चर्पीसमेत रहेको छ ।

सहस्रबेनीबाट भने दूधकुण्डसम्म ठाडै उकालो बाटो रहेको छ । प्रायः धेरै मानिसहरु यही उकालोमा नै बिरामी पर्ने गर्दछन् । सहस्रबेनीदेखि सामान्यतयाः ३ घण्टा हिँडेपश्चात दूधकुण्ड पुग्न सकिन्छ ।

दूधकुण्ड क्षेत्रमा दूधकुण्ड ताल, भूतपोखरी, गंगा जमुना ताल, आँखेपोखरी र महाकुण्ड मनोरम दृष्यावलोकन गर्न सकिन्छ । दुई हिमाल नुम्बुर तथा कार्यालुङ हिमालको बीच दरारमा यो ताल अवस्थित छ, यस ताललाई भैरव कुण्डको नामले समेत चिनिने गर्दछ । यी तालहरु बाहेक अन्य कैयौँ तालहरु समेत यो स्थान वरपर रहेका छन् भौगोलिक कठिनाइका कारण यस वरपरका अन्य तालहरुमा मानिसहरु पुग्न सकेका छैनन् तर अन्वेषण कार्य भने निरन्तर कायम छ ।

जैविक विविधता

साविकको टाक्सिन्दु गाविस वडा नम्बर ८ तथा हाल सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ मा अवस्थित दुधकुण्ड जैविक विविधतायुक्त रहेको छ । विभिन्न लेकाली वनस्पति तथा वयजन्तुहरु यहाँ रहेका छन् ।

यस स्थान जाने क्षेत्रमा विविध १५ प्रकारका गुराँसहरु फुल्ने गर्दछन् । बौद्ध, किराँत तथा हिन्दुहरुले अत्यन्तै श्रद्धाका साथ लिने सुनपाति, भैरमपाति लगायतका सुगन्धित धुप समेत यहाँ रहेका छन् । यी धुपहरु घरमा लगेर बालेमा विभिन्न रोगका जिवाणुहरुको अन्त्य हुने, कुल देवता खुशी हुने समेत विश्वास रहेको छ ।

त्यस्तै यस वरपर लौठसल्ला, गुराँस, चिमल, खसु्रलगायतका रुखहरु प्रशस्तै पाइन्छ भने  पाँचऔले, पदमचाल, लेकाली लसुन, गुच्ची च्याउलगायतका महत्वपूर्ण जडिबुटीहरु समेत प्रशस्त पाइने गर्दछ ।

यस क्षेत्रमा वनस्पति सँगसँगै लोपोन्मुख वन्यजन्तुसमेत रहेका छन् यहाँ हिमचितुवा, पाण्डा, हिमाली कालो भालु, हिमाली खरायो, कस्तुरी, चितुवा, थार, मृगलगायत डाफे मुनाल, कालिज , काग, हुचिललगायतका अन्य ससाना चराचुरुंगीहरु समेत बस्ने गर्दछन् । त्यस्तै मौसमअनुसारका पाहुना चराहरु समेत प्रशस्त देखिने गर्दछन् ।

राज्यले यस स्थानमा खासै चासो राखेको छैन, पोखरी सँगसँगै यहाँका जैविक विविधतालाई उत्तिकै महत्व दिएको खण्डमा पर्यटकहरुको आगमनमा वृद्धि हुने देखिन्छ । 

अन्तिम अपडेट: कात्तिक २६, २०७६

सुरेश खड्का

सुरेश खड्का सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

1 Comments

  • Shankar upreti

    Aug. 24, 2019, 7:50 p.m.

    दोस्रो किम्बदन्ती त गोसाइँकुण्ड को बारेमा हो, यो कुन्ड को होइन

  •  0 Reply

तपाईको प्रतिक्रिया