ओखलढुङ्गामा अमेरिकी फौजी किराकाे प्रकाेप : नियन्त्रण गर्न प्राविधिक टोली खटाइँदै

 भदौ ७, २०७६ शनिबार १२:२९:५७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – मानेभञ्ज्याङ गाउँपालिकामा फैलिएको अमेरिकी फौजी किराको प्रकोप नियन्त्रण गर्न प्राविधिक टोली खटाइएको छ । कृषि ज्ञान केन्द्र र गाउँपालिकाको समन्वयमा विषादीसहितको टोली खटाइएको हो । 

फौजी किराले मानेभञ्ज्याङ गाउँपालिकाको हिलेपानी, सोक्माटार, थाक्ले र मानेभञ्ज्याङ गाउँमा लगाइएको मकैबाली सखाप पारेको छ । फौजी किराको प्रकोपबारे कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर नमुना संकलन गरे पनि पहिचान गरेको थिएन । 

संकलन गरिएको नमुना प्रदेश कार्यालयमा पठाएपछि विषादीसहितको टोली ओखलढुङ्गा आउन लागेका बताइएको छ । किरा नियन्त्रणका लागि विषादीसहितको प्राविधिक टोली खटाइएको गाउँपालिका अध्यक्ष मोतिराज राईले बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख  कृष्णमणि पोखरलेसहित विराटनगरबाट झिकाइएका प्राविधिक र विषादी प्रकोपस्थलमा खटाइएको राइले जानकारी दिनुभयो । उहाँका अनुसार विषादी छर्केर किरा नियन्त्रण गर्ने तयारी गरिएको छ । 

विशेषगरी रातको समयमा देखा पर्ने किराको समूहले गुभो र हरियो पात खाइदिएपछि मकैका बोटका ठुटा मात्रै बाँकी छन् । मानेभञ्ज्याङगको हिलेपानी, सोक्माटार, थाक्ले र मानेभञ्ज्याङ गाउँमा लगाइएको मकैबाली सखाप पारेको सोक्माटारका किसान क्षमराज राईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मकै मात्रै होइन बोट विरुवाका चिउलासमेत सखाप पारेर खाएको छ ।’ 

बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए । हिउँदे मकैसमेत फौजी किराले सखाप पारेपछि जीविकोपार्जनमा समस्या भएको अर्का किसान रामकुमार राईले बताउनु भयो । ‘१५ दिन अघिसम्म केही थिएन, अहिले सबै मकैको गुभो खाइदिएको छ, वर्षे मकै खडेरीले खायो, हिउँदे मकै फौजीले खाइदियो’, उहाँले भन्नुभयो । 

किराले विभिन्न गाउँमा पाँच सय रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको मकै सखाप पारेको स्थानीयले बताए । फौजी किरा दुई रंगको फेला परेको छ । सोक्माटारमा सेतो र मानेभञ्ज्याङको रिचुवामा हरियो रङको छ । फौजी किराको ठूलो समूहले विशेषगरी रातको समयमा मकैको गुभो र पात नै खाने गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया