सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा, लक्ष्मण थारुको नेतृत्वमा ५१ सदस्यीय मोर्चा गठन

 भदौ ९, २०७६ सोमबार १४:३१:५१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – थरुहट–थारुवान राष्ट्रिय मोर्चाले थरुहट एकता र सामजिक सद्भावका लागि भन्दै टीकापुरमा सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको छ । 

थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा गठन भएको ५१ सदस्यीय थरुहट–थारुवान राष्ट्रिय मोर्चाले १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको मोर्चाका प्रवक्ता मीनराज चौधरीले जानकारी दिनुभयो । मोर्चाको राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको छ ।  

सम्मेलनले पहिचान पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख गरेको छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको घोषणा पत्रमा भनिएको छ । तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लालसहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिएको पनि प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

गएको भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग समेत गरिएको छ भने संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न पनि घोषणा पत्रमार्फत माग गरिएको छ ।

हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिको आधारमा पहिचानसहितको १० जोड १ को थरुहट–थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ । त्यस्तै संघीय निजामती ऐन संशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने घोषणा पत्रमा उल्लेख भएको प्रवक्ता चौधरीले बताउनुभयो ।

त्यस्तै सम्मेलनले तीन चरणको आन्दोलनको तालिका तय गरेको छ । पहिलो चर अन्तर्गत तराईका जिल्लामा प्रचारात्मक तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ । दोस्रो चरणमा कोणसभा, विरोधसभा, र्‍याली, जनप्रदर्शनका कार्यक्रमलाई मोर्चाले तराईका जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ ।

त्यस्तै दोस्रो चरणमा नै तराई जिल्लाका १० ठाउँमा आमसभा गर्ने जनाएको छ तर ठाउँ र समय भने तय हुन बाँकी रहेको प्रवक्ता चौधरीले बताउनुभयो । मोर्चाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ । मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रमअन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुलुस, मसाल जुलुस प्रदर्शन गर्ने, सरकारविरुद्ध असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ । 

थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ जना प्रहरीसहित १ जना नाबालकको ज्यान गएको थियो भने भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका ८८ ओटा घर, पसल, एफएमलगायतका संरचनामाथि आगजनी भएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया