अरुण खोलामा भाँचिएको पुल मर्मत सम्पन्न, पुलबाटै गुड्न थाले गाडी

 भदौ १०, २०७६ मंगलबार ८:२४:५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – ट्रक ठोक्किँदा भाँचिएको अरुण खोलाको पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । साउन २९ गते ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा करिब डेढ मिटर लच्किएको थियो । पुल मर्मत सम्पन्न भएपछि पूर्ण रुपमा यातायात पुलबाट नै संचालन गरिएको हो ।

गएको शनिबार डाइभर्सनमा क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । त्यसयता डाइभर्सनबाटै यातायात संचालन हुदै आएका थिए । पुल मर्मतको काम पूर्ण रुपमा सम्पन्न भएसँगै सोमबार रातिबाट दुईतर्फी रुपमा नै पुल सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायव निरीक्षक जनकबहादुर बुढाले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बुटवलका प्राविधिक टोलीले पुल भाँचिएको १३ औँ दिनमा मर्मत सम्पन्न गरि संचालनमा ल्याएका हुन । पुल भाँचिदा यातायात संचालनमा कठिनाइ हुँदै आएको थियो । वैकल्पिक बाटोको रुपमा बनाइएको डाइभर्सन भरपर्दो नहुँदा यात्रुहरुले सास्ती पाएका थिए । पुल भाचिँदा बनाइएको डाइभर्सन पानीले बगाउदा यातायात सञ्चालनमा समस्या भएको थियो ।

सडक विभागले डाइभर्सनबाट यातायात संचालनमा कठिनाइ भएपछि पुललाई छिटो भन्दा छिटो सञ्चालन गर्ने गरी काम गरको थियो । यसै अनुसार मर्मत सम्पन्न गरिएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हरीप्रसाद सुवेदीले बताउनुभयो । चाडपर्वको समयसमेत भएकाले विभागले विशेष तदारुकताका साथ छोटो समयमा नै पुल मर्मत सम्पन्न गरेको इन्जिनियर सुवेदीले बताउनुभयो ।

जिल्लामा रहेका पुलहरु प्राय ‘स्टिल ट्रस’को प्रयोग गरेर निर्माण गरिएका छन् । पुलहरु बनाएकोसमेत लामो समय भएकाले सामान्य रुपमा सवारीले ठक्कर दिँदा समेत धेरै क्षति हुने गरेको छ । सडक विभागले पुलको सुरक्षाका लागि  पुलको आसपासमा स्टिलको ‘डब्लु बिम’ (पुलको सुरक्षाका लागि निर्माण गरिएको स्टिलको बार) समेत बनाएको छ ।

पुलको सुरक्षाका लागि बनाइने स्टिलको बार केही पुलमा नभएका कारण ती पुलहरुमा समेत बार निर्माण गरिने सडक डिभिजन कार्यालयका इन्जिनियर सुवेदीले बताउनुभयो । पुल निर्माणको समयमा अहिलेको भारलाई मूल्याङ्कन नगरिएको र संरचना समेत पुरानो हुँदै जाँदा पुलहरुमा क्षति पुग्ने गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया