स्याङ्जामा पनि डेंगुका बिरामी फेला

 भदौ १०, २०७६ मंगलबार ८:४२:१३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – पुतलीबजार नगरपालिका २ का ३२ वर्षीय एक जना पुरुषमा डेंगु फेला परेको छ । जिल्ला अस्पताल स्याङ्जामा भदौ ५ गते भर्ना भएर उपचार गरिरहेको एक व्यक्तिमा डेंगु फेला परेको जिल्ला अस्पताल स्याङ्जाले जानकारी दिएको छ । डेंगु संक्रमित व्यक्तिको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो रोग एडिस एजिप्टि जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा ज्यादा पाइन्छ । स–साना पानीको पोखरीमा यसले फुल पार्ने गरेको जिल्ला अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर बुद्धीसागर अधिकारीले जानकारी दिनुभयो ।

वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी हुने गर्छ ।

डेंगू एडिस एजेप्टि र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगू सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगू रोग क्लासिक डेंगू, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारको रहेको अधिकारीले बताए । अधिकारीका अनुसार क्लासिक डेंगू सामान्य प्रकारको डेंगू हो, यो आफैँ निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया