जोगवनी – किमाथाङ्का राजमार्ग : टुटेदेउराली–मुडे १० किमि सडक पार गर्न ६ घण्टा

 भदौ १०, २०७६ मंगलबार १४:११:३२ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – राष्ट्रिय गौरवको जोगवनी—किमाथाङ्का राजमार्ग अन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्किने १० किमि सडक पार गर्न औसतमा ६ घण्टा लाग्ने गरेको छ ।

यो सडक खण्डभरी खाल्डो नै खाल्डो र हिलाम्मे भएकाले आवात–जावात गर्न ६ घण्टादेखि कहिलेकाँही एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यही बित्ने गरेको सवारी चालकहरु बताउँछन् ।

त्यति मात्रै होइन सदरमुकाम खाँदबारी चैनपुरबाट धनकुटा, धरान र विराटनगर हिँडेका र त्यता संखुवासभा फर्किएका यात्रुहरु टुटेदेउराली–मुडे सडकखण्डको बीचमा नै अलपत्रमा पर्ने गरेका छन् । टुटेदेउरालीदेखि मुडेसम्म तीन/चार किमि सडकको दोबाटे र गिद्रे भन्ने ठाउँमा गाडी पार गर्न नसकेमा त्यही बाँस हुने गरेको यात्रुहरुको गुनासो छ ।

यो ठाउँमा प्रायः जसो पानी परिरहने भएकाले जहिल्यै सडक हिलाम्मे भइरहने गर्दछन् । हिलाम्मे सडकमा जबरजस्ती ठूला–ठूला ढुवानीका साधानहरु ट्रक र ट्याक्टरहरुले बाटो बिगारेका छन् । मोटरसाइकल र साना–साना प्यासेन्जर बोक्ने ट्याक्सीहरु आवात–जावात गर्न मुश्किल छ । सडकको दायाँबायाँ पूर्ण रुपमा हिलाम्मे भएकाले पैदल हिड्ने यात्रुहरुलाई समेत आवात–जावात गर्न समस्या भएको मुडेका स्थानीय ऋषिकेशव चापागाईंले बताउनुभयो । 

उहाँले मुडे र टुटे सडकको बीचमा मानिसहरुलाई ओहोर–दोहोर गर्न ठूलो समस्या रहेको बताउनु हुँदै काम गर्दागर्दै ठेकेदारले काम बन्द गरेकाले झन् समस्या बल्झिएको बताउनुभयो । ‘अहिले त त्यहाँ दिनहुँ दर्जनौँ गाडीहरु फसेर लाइन लाग्छ । कसैको त्यही रात बित्छ ।’ उहाँले भन्नुभयो ‘आठ/दश वर्ष अगाडिदेखि यो सडकको अवस्था सुधार हुन सकेको छैन यस्तै हो ।’

राष्ट्रिय गौरवको किमाथांका नाका खोल्ने कोशी ल्हासा राजमार्ग अन्तर्गत पर्ने भएकाले यो सडकको मर्मत सम्भार र कालोपत्रे गर्ने काम संघीय सरकार अन्तर्गतका सडक डिभिजन कार्यालयको जिम्मेवारीमा रहेको छ । यो सडक धर्मदेवी नगरपालिका भित्र पर्ने भएकाले गन्तब्यमा हिँडेका यात्रुहरुको बीच बाटोमा नै अलपत्र नहोस् भनेर फसेको गाडी निकाल्नका लागि नगरपालिकाको एक्स्काभेटर प्रयोग गरेर निकाल्न सहयोग गरिरहेको धर्मदेवी नगरपालिकाका मेयर रमेशकुमार जिमीले बताउनुभयो । 

‘संघीय सरकार अन्तर्गतको योजना हो । स्थानीय सरकारले नहेरको भन्र्दै गाली खानु पर्ने अवस्था छ । त्यसैले बेला–बेला सडकको अनुगमन र निरीक्षणसमेत गर्ने गरिरहेका छौँ । ठेकेदारको एउटा एक्स्काभेटर र नगरपालिकाको एक्स्काभेटरले फसेको गाडी निकाल्न र सडकको मर्मत गर्ने काममा लगाएको छु ।’ मेयर जिमीले भन्नुभयो ‘सडकको अवस्था दर्दनाक छ । तत्काल कालोपत्रे गर्नका लागी सरोकारवाला सबैलाई ध्यानाकर्षण गराउँदै आएको छु तर सुनुवाइ नै हुँदैन ।’

जिल्ला सडक डिभिजन कार्यालय तुम्लिङाटारले ०७३ भदौमा टुटेदेउरालीबाट मुडेसम्म जम्मा १० किमि सडक कालोपत्रे गर्ने जिम्मा याक्थुम्हाङ्ग निर्माण सेवा पाँचथरलाई दिएको थियो । २६ करोडको लागतमा याक्थुम्हाङ्गले ०७५ भदौसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेका थिए । तर समयअवधि भित्र काम नसकेपछि ०७५ चैत्र मसान्तसम्म दोस्रो पटक म्याद थप गरेको थियो । त्यो अवधिमा पनि काम सम्पन्न नगरेपछि याक्थुम्हाङ निर्माण सेवालाई गएको साउनमा १४ लाख ५० हजार जरिवाना तिराएको तुम्लिङटार डिभिजन सडक कार्यालयका प्रमुख कुवेर नेपालीले बताउनुभयो । 

उहाँका अनुसार, कालोपत्रे गर्ने जिम्मा लिएको याक्थुम्हाङ्ग निर्माण सेवालाई ताकेता गरिरहेको अब अब पानी पर्न कम भए पनि लगातार रुपमा काम थाल्ने सडक कार्यालयका प्रमुख नेपालीले बताउनुभयो । ‘याक्थुम्हाङ्गको अब आउने जेठ महिनासम्म म्याद छ । यो समय भित्र सबै काम सक्नु पर्छ ।’ डिभिजन प्रमुख नेपालीले भन्नुभयो । बर्खाको समयमा निरन्तर पानी परेर नियमित काम नभए पनि गाडी आवात–जावातमा सहज पार्न एक्स्काभेटर त्यही राख्न भनेको डिभिजन प्रमुख नेपालीको भनाइ छ ।

मोरङको जोगमुनीदेखि उत्तरी तिब्बती नाका किमाथांका सम्म जोडिने उत्तर कोशील्हासा राजमार्ग समेत भएकाले सबैले महत्वका साथ हेरेका छन् । किमाथाङ्का नाका जोडिनुका साथै बहुचर्चित ९०० मेघावाट अरुण तेस्रो आयोजना जाने सडकसमेत यही भएकाले सडकको अवस्था बिग्रिँदा सामान ढुवानी गर्न समस्या भइरहेको बताउने गरेका छन् । त्यसैले पनि जतिसक्दो चाँडो यो सडक कालोपत्रे गरिनु पर्ने सरोकारवालाहरुको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया