प्रहरीबाट अवकाश लिएपछि व्यावसायिक भैँसीपालनमा केसी: आम्दानी मनग्य

 भदौ १०, २०७६ मंगलबार १५:२९:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङकाे सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीका ध्रुवबहादुर केसीले २२ वर्ष ८ महिना सशस्त्र प्रहरी बलमा रहेर मातृभूमिको सेवामा खटिनुभयो  । उहाँ सशस्त्र प्रहरीका पूर्व सइ हुनुहुन्छ ।

२०७४ सालमा सरकारी जागिरबाट अवकाश लिएपछि घर फर्कनुभएका उहाँले ‘श्रम पसिना देशकै माटोमा बगाउनुपर्छ, देशमै उद्यम गर्नुपर्छ’भन्ने भावना लिएर  भैँसीपालन सुरु गर्नुभयाे l 

उहाँले २०७४ सालमै ‘केसी भैँसी फर्म’दर्ता गरी सुधारिएको भैँसी गोठ निर्माण गरेर सुरुमा ३ वटा दुहुना भैँसीबाट उहाँले भैँसीपालन व्यवसाय सुरु गर्नुभएको हो । 

‘३ वटा माउ भैँसीबाट भैँसीपालन सुरु गरेको हुँ,’उहाँले भन्नुभयो, ‘भैँसी खरिद, सुधारिएको भैँसीगोठ निर्माण र ३ कोठे आवास निर्माणमा गरी १७ लाख खर्च भयो ।’

१७ लाखको लगानीमा सुरु भएको भैँसीपालन व्यवसायमा अहिले उहाँले लगानी बढाउनुभएको छ । उहाँले खत्रीठाँटीमा सडक नजिकैको १२ रोपनी जग्गा वार्षिक ४० हजार रुपैयाँ भाडामा लिनुभएको छ । 

भैँसीपालनका लागि उहाँले २ रोपनी जग्गामा स्टाइलो, सिओफोर, नेपियर जातका घाँस रोप्नुभएको छ । अहिले उहाँको फर्ममा४ वटा लैनु, २ वटा ब्याउने भैँसीका साथै २ वटा राँगाका साथै साना पाडापाडी पनि रहेका छन् ।

दैनिक झण्डै ३० लिटर दूध उत्पादन

उहाँले ‘मुर्राक्रस’ जातका भैँसी पाल्दै आउनुभएको छ । हाल फर्मबाट दैनिक १५ देखि ३० लिटरसम्म दूध बिक्री हुँदै आएको छ । फर्मबाट उत्पादित भैँसीको दूध खत्रीठाँटी, ठाँटीचौर, सुन्दरबजार लगायतका स्थानीय बजारमै राम्रो मूल्यमा बिक्री हुँदै आएको छ । उत्पादित दूध प्रतिमाना ६० रुपैयाँ र प्रतिलिटर १ सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

भैँसीपालनमा सम्भावना देखेर नै जागिरबाट अवकाश लिएपछि गाउँमै याे व्यवसाय सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।

‘दुःख छ । घामपानी भन्न पाइँदैन । ज्यादा मेहनत गर्नुपर्छ तर मेहनत गरेअनुसारको कमाइ पनि छ,’ हाँडेटारको बाँझो जग्गामा भैँसी चराउँदै गर्दा भेटिनुभएका उहाँले भन्नुभयो ।

भैँसीपालन व्यवसायबाट मासिक झण्डै ८५ हजार रुपैयाँसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ । ‘व्यवसायबाट महिनाको ८५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘मासिक खर्च भने २५ हजार रुपैयाँजति हुन्छ ।’ 

उहाँले भैँसीको दूध, दही र घ्यूका साथै लैनो, बकेर्नो भैँसीको किनबेच पनि गर्दै आउनुभएको छ । लैनो भैँसी ८० हजारदेखी १ लाखसम्ममा बिक्री हुने उहाँ बताउनुहन्छ । उहाँको फर्ममा २ वटा राँगा छन् । तीमध्ये एउटा राँगाे उहाँको फर्मलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङले पुरै अनुदानमा उपलब्ध गराएको हो । 

परेवाडाँडा, हाँडेटार, खहरे, किरिञ्चे, खत्रीठाँटी, सुन्दरबजार लगायतका ठाउँबाट भैँसीपालक किसानहरु भैँसी प्रजनन गराउन उहाँकै भैँसी फर्ममा आउँछन् ।फर्मले भैँसी प्रजनन गराएको एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ । 

उहाँका अनुसार गोठका साथै भैँसीको सरसफाइ तथा आहारामा ध्यान दिनसके भैँसीलाई रोग लाग्ने जोखिम कम हुन्छ । 

‘गोठका साथै भैँसीको सरसफाइ तथा आहारामा ध्यान पुर्याउन सके भैँसीलाई रोग लाग्नसक्ने जोखिम कम हुन्छ,’उहाँले अघि थप्नुभयो, ‘चराउने खुला ठाउँ, गोठ र घाँसको उचित व्यवस्था भएमा, सफाइका लागि पर्याप्त पानी भएमा भैँसी पाल्न सजिलाे हुन्छ, मनग्य कमाउन सकिन्छ ।’

भैँसी चराउन उहाँ हाँडेटार, ग्याग्दीखोला किनार, कुँडुलेफाँट किनार लगायतका ठाउँमा पुग्नुहुन्छ । 

‘भैँसी चराएर पाल्दा राम्रो हुन्छ । खुला ठाउँमा चराएको भैँसीले धेरै दूध दिन्छ । चराएको भैँसीको दूधमा ‘फ्याट’को मात्रा पनि बढी हुन्छ,’ उहाँले भन्नुभयो । व्यवसायमा उहाँकाे श्रीमतीकाे पनि सहयाेग छ । 

भेँसीको दूधको माग र बजार भाउ निकै राम्रो रहेकाले भैँसीपालनलाई थप विस्तार गर्ने उहाँको लक्ष्य छ । फर्म विस्तार गरेर २० वटासम्म दुहुना भैँसी पाल्ने आफ्नो भावी योजना रहेको उहाँ बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया