भोजपुरमा पनि सुरु भयाे अमेरिकी फौजी किराकाे प्रकाेप

 भदौ १०, २०७६ मंगलबार १६:२२:१६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुरमा पहिलो पटक फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि हतुवागढी गाउँपालिका क्षेत्रका किसानहरु चिन्तित देखिएका छन् ।

लामो खडेरीले बर्खे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका हुन् ।

बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए । गाउँपालिकाका वडा नं १, २, ५ र ६ का रानीबास, लुङ्गिन, होम्ताङ, हर्का, लंखा लगायत छिमेकी आमचोक गाउँपालिकाका केही क्षेत्रमा पनि फौजी किराको बढी प्रकोप देखिएको छ । प्रकोपले गाउँपालिका क्षेत्रका झण्डै सवा ८ सय रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली नष्ट गरेको छ ।

किसानहरुका अनुसार फाैजी किराले ठूलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने तथा रातमा कलिला पात खाएर मकैको बोट सखाप पारेका छन् । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने लुङ्गेनका स्थानीय कृषक राजेन्द्र राईले बताउनुभयो ।

सुख्खा खडेरीले बर्खे मकै मरेपछि मासेर लगाएको हिउँदे मकैमा पनि फौजी किराले सास्ती दिएको हतुवागढी गाउँपालिका १, रानीबास हर्काका किसान पदमबहादुर बस्नेतले गुनासो गर्नुभयो ।

हतुवागढी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार गाउँपालिकाले कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानबीच तत्काल किराको प्रकोप समाधान गर्न, नमुना संकलन, स्थलगत अनुगमन तथा विषादी छर्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।

खेतबारीमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै जाँदा किसानहरुमा अन्य बालीनाली, रुखबिरुवा, वस्तुभाउमा समेत क्षति पुर्‍याउने हाे कि भन्ने डर फैलिएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँपालिकाले किराको पहिचान गर्न तत्काल समस्या समाधानका लागि प्रभावित क्षेत्रमा कृषि प्राविधिक टोली खटाइएको छ । किरा नियन्त्रणको लागि आवश्यक पहल भइरहेको छ ।’

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया