तिजमा हुने फजुल खर्च जोगाउन सहकारीमा बचत, झण्डै १ करोड ३० लाख रुपैयाँ संकलन

 भदौ १०, २०७६ मंगलबार २१:०:१८ | भावुक योगी
unn.prixa.net

बर्दिया –  ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तिज पर्व बचत तथा तिज विशेष सांस्कृतिक कार्यक्रममा झण्डै १ करोड ३० लाख रुपैयाँ बचत संकलन भएको छ ।

महिलाहरुको महान पर्व तिजको अवसरमा हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले ठाकुरद्वारा र भुरिगाउँको रानीपुरमा आयोजना गरेको दुई दिने तिज पर्व बचत तथा तिज विशेष सांस्कृतिक कार्यक्रममा झण्डै १ करोड ३० लाख रुपैयाँ नगद बचत संकलन भएको हो ।

हाम्रो मध्यवर्ती साकोसले आयोजना गरेको तिज पर्व बचत कार्यक्रममा १ सय २० नयाँ तथा केही पुराना सदस्यहरुबाट दुई दिनमा १ करोड २९ लाख ८६ हजार ६ सय ३५ रुपैयाँ नगद बचत संकलन भएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । 

ठाकुरद्वारामा आयोजना गरिएको तिज पर्व बचत कार्यक्रममा ७० जना नयाँ तथा केही पुराना सेयर सदस्यहरुबाट ६१ लाख ६९ हजार ६ सय रुपैँया र भुरिगाउँ बजार नजिक रानीपुरमा भएको तिज पर्व बचत कार्यक्रममा ५० जना नयाँ तथा केही पुराना सेयर सदस्यहरुबाट ६८ लाख १७ हजार ३५ रुपैँया बचत सकंलन भएको संस्थाका व्यवस्थापक गणेश थापाले जानकारी दिनुभयो ।

चार्डपर्वमा हुने फजुल खर्चलाई बचत गरी भविष्यमा आइपर्ने आर्थिक संकटबाट बचाउनका लागि पनि बचत अति आवश्यक रहेकाले बचत गर्ने बानीको विकास गर्ने जनचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरुले बुढेसकालका लागि भए पनि नियमित बचत गर्न र फजुल खर्च जोगाउन बेला बेलामा पर्व बचत समेत गर्न कार्यक्रममा सबैलाई आग्रह गरेका थिए । 

मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले बचतको कार्य मात्र नभई दुर्घटना न्यूनीकरण गर्न भन्दै रोड डिभाइडर, वन तथा वन्यजन्तु संरक्षणका विभिन्न कार्यक्रम, वन्यजन्तुबाट क्षति भोगेका पीडित परिवारलाई राहत वितरण, सुत्केरी भेटघाट कार्यक्रमलगायतका विविध सामाजिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । 

यसैगरी विद्युतको बिल पनि हाम्रो मध्यवर्ती साकोसबाट तिर्न सकिने व्यवस्था, प्रत्येक शेयर सदस्यलाई वृक्षारोपणमा अग्रसर गराउका लागि २ लाख बराबरको बोटबिरुवा अनुदानमा दिने कार्यक्रम समेत बनाइएको संस्थाका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा ख्यातिप्राप्त कलाकार तथा उद्घोषक प्रभात सुवेदीले सहकारीमा बचत गरौँ, आम्दानी मूलक व्यवसाय गरौँ, हाम्रो सहकारी राम्रो सहकारी भन्ने सन्देशमूलक गीतसहितकाे प्रस्तुति दिएका थिए । 

यस्तै गायक शेरबहादुर आचार्य (गाइने), गायिका सुनिता बिसी, गायिका इन्दिरा गैरे, निरुता गैरे, अमन वली, सञ्जीव खड्कालगायतका स्थानीय कलाकारले तिजका गीत गाएर दर्शकहरुलाई नचाएका थिए । 

कार्यक्रममा ठाकुरबाबा नगरपालिका-२, ज्येष्ठ नागरिक इकाइ समितिका संयोजक छविलाल कँडेल, श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगी, समाजसेवी बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो । 

गएको वर्ष माघ महिनामा ठाकुरबाबा नगरपालिकामा रहेका दुई वटा सहकारी संस्थाले आयोजना गरेको माघी पर्व बचत तथा माघी सांस्कृतिक कार्यक्रममा एकैदिन ४३ लाख ४३ हजार रुपैयाँ बचत संकलन भएको थियो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया