लमजुङको दोर्दी गाउँपालिकाले दियो सीप र जाँगर भएका युवालाई गाउँमै रोजगारी !

 भदौ ११, २०७६ बुधबार १७:२८:५८ | श्यामशितल परियार

लमजुङ– टाउकोमा सेतो रंगको हेल्मेट । खुट्टामा लामो, कालो बुट । पछाडि ‘दोर्दी गाउँपालिका, लमजुङ’ लेखिएको पातलो, हाफ ज्योकट लगाएका ।

एक जनाको हातमा गैँची । अर्का दुई जनाको हातमा बेल्चा । गैँची, बेल्चाको सहारामा तीनै जना युवा भदौ महिनाको चर्को घामको बेवास्ता गर्दै सडकको नाली सफा गर्नमै व्यस्त छन् ।

नालीमा थुप्रिएका ढुंगा, माटो हटाउन जुटेका उनीहरु दोर्दी गाउँपालिका–४, का स्थानीय युवा हुन् । उनीहरुलाई दोर्दी गाउँपालिकाले ३ महिनाका लागि ‘सडक हेरालु’को रुपमा रोजगारी दिएको छ ।

दोर्दी गाउँपालिकामा ९ वटा वडा रहेको छ । सबै वडामा ३/३ जना गरी गाउँपालिकाभरीमा २७ जना युवाले ३ महिनाका लागि ‘सडक हेरालु’को रुपमा रोजगारी पाएका छन् ।

सबै वडाबाट सिफारिस भइ आएका, हातमा सीप र मनमा जोश जाँगर भएका युवालाई छनौट गरी गएको भदौ ५ गतेदेखि काममा खटाइएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार ‘सडक हेरालु’ले नाला सरसफाई, सडकका खाल्डाखुल्डी पुर्नुका साथै सडकमा रहेका पानी कटाउने काम गरी सडक सञ्चालनमा सघाउ पुर्याउने छन् ।

‘गाउँपालिकामा खासै धेरै पक्की सडक छैन्, कच्ची सडक भएकाले बर्खाको समयमा सडक सञ्चालनमा समस्या हुँदा नागरिकले सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य गरी सहज रुपमा सडक सञ्चालन गर्नका लागि गाउँपालिकाले ३ महिनाका लागि सडक हेरालुको व्यवस्था गरेको हो,’ उहाँले भन्नुभयो ।

मासिक १५ हजार तलब सडक हेरालुका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । सडक हेरालुले मंसिर ५ गतेसम्म काम गर्नेछन् ।

दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनीहरु सडककै काममा खटिन्छन् । सरकारी बिदाको दिन उनीहरुले काम गर्नुपर्दैन । सडक हेर्नेलाई मासिक १५ हजार रुपैयाँ तलब दिइएको छ ।

गाउँघरमै रोजगारी पाउँदा युवाहरु खुशी भएका छन् । ‘खाली समयको सदुपयोग हुने, आम्दानी पनि हुने । गाउँघरमै यसरी रोजगारी पाउँदा खुशी छौँ,’ नौथर शेरा हुँदै साँदीखोला पाचोक जाने सडकको नाली सफाइमा जुटेका नौथर शेराका सडक हेरालु रामबहादुर तामाङले खुशी हुँदै भन्नुभयो ।

आफूहरुले आवश्यक सामग्रीका साथै एकदिने तालिमसमेत पाएको कुमबहादुर रम्तेलले बताउनुभयो । गाउँपालिकाका अनुसार अहिले २७ जना युवा आ–आफ्ना वडामा रहेका सडकको काममा खटिएका छन् ।

अन्तिम अपडेट: चैत २१, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया