ऋषि र सरिताको जोडी : जसले २ पटक विवाह गरे

 भदौ १२, २०७६ बिहिबार ११:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछाने वैवाहिक बन्धनमा बाँधिएको २२ वर्ष पूरा भइसकेको छ । 

व्यावसायिक कामदेखि घर व्यवहारिक काममा एकले अर्कालाई सहयोग गर्दै अघि बढेका यी दुईको जीवन यात्रा निकै लोभ लाग्दो छ । यी दुईले सानो–सानो कुरा पनि एक अर्कालाई सेयर गर्ने गर्छन् । सरिता भन्छिन्, ‘म त सय रुपैयाँको कुचो किन्दैछु भने पनि उहाँलाई भन्छु ।’

कलेज पढ्दैदेखि चिनजान

ऋषि र सरिता कलेज पढ्दादेखि नै एक अर्कासँग परिचित थिए । सरिताकी दिदी र ऋषि एउटै कक्षामा थिए । यो जोडीलाई एक बनाउन सरिताकी दिदीको महत्वपूर्ण भुमिका रहेको छ । 

ऋषि दिदीलाई भेट्न सरिताको घरमा आउजाउ गरिरहन्थे । उनी सबैलाई सम्मान गर्ने र ख्याल राख्ने स्वभावका थिए । सबैको ख्याल राख्ने भएका कारण पनि सरिता ऋषिप्रति आकर्षित हुन थालेकी थिइन् ।

जब ऋषिलाई घरबाट बिहेका लागि दबाब आउन थाल्यो तब ऋषिले सबै कुरा सरितालाई भने । सरिता पनि ऋषिलाई चाहान्थिन् । ऋषिको प्रस्ताव सरिताले स्वीकार गरिन् । 

उनीहरुले दुवै जनाको सहमतिमा सुटुक्क विवाह गरे । पछि घर जाँदा ऋषिका बुवाले त्यो विवाह स्वीकार गरेनन् र पुनः नजिकैको मन्दिरमा लगेर आफ्नै रितिरिवाज अनुसार विवाह गराइदिए ।

सरितालाई चलचित्र क्षेत्रमा ऋषिले नै ल्याएका हुन् । उनले तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र मुक्तबाट चलचित्रमा डेब्यू गरेकी हुन् । पछि चलचित्रभन्दा टेलिचलचित्रमा दर्शकले रुचाउन थाले । ऋषिले निर्देशन गरेका धेरै टेलि–चलचित्रहरुमा सरिताले अभिनय गरेकी छिन् । 

घरमा बस्दा पनि काम 

लगातार सिनेमा र टेलिसिरियलमा सक्रिय रहेकी सरिताले छोरीको जन्मपछि झण्डै ८ वर्ष ब्रेक लिइन् । त्यो समयमा उनी टेलिभिजनमा नआउँदा उनले कामबाट बिदा लिएको भान धेरैलाई भयो । 

त्यस अवधिमा एकदमै  सीमित र विशेष कामहरु गरेको सरिता बताउँछिन् । त्यो बेलामा केही कामहरु यस्ता आए जसमा उनी आफैँ हुनुपर्ने जरुरी थियो । छोरी जन्माएको ९ वर्षमा मुश्किलले छोरीलाई ९ रात छोडेको सरिता बताउँछिन् । 

भाँडा माझेर सघाउँछन् ऋषि

ऋषिले सरिताको व्यावसायिक काममा सहयोग गर्ने कुरामा दुई मत छैन । उनी घरको काममा पनि सरितालाई सघाउँछन् । मीठो खाना पकाउन नआए पनि सरितालाई भाँडा माझेर उनी सहयोग गर्छन् । उनी आफूलाई अरु काम भन्दा भाँडा माझ्दा एकदमै मजा लाग्ने बताउँछन् ।

तर कहिलेकाँही छोरीको लागि केही खाने कुराहरु  भने उनले पकाउने गरेका छन् । छोरीलाई  बाबाको हातको खाना मीठो लाग्ने भएका कारण ऋषिले छोरीको लागि भए पनि खाना पकाउने काम गर्छन् । यस बारेमा सरिता भन्छिन्, ‘बाबाले पकाएको उनले प्राय खान पाउँदिनन् । त्यसकारण कहिलेकाहीँ बाबाले पकाएको पनि खानुपर्छ भनेर होला । बाबाले पकाएको खाना कति मीठो छ भन्छिन् । उनको त्यो कुरालाई म कसरी बुझ्छु भने, कहिलेकाही बाबाले पकाएको पनि खानुपर्छ भनेर उनले बाबालाई फकाएकी हुन् ।’

हुन त ऋषि र सरीताले सहयोगीको रुपमा शोभालाई राखेका छन् । तर उनी बिहान स्कुल जाने भएका कारण बिहानको खाना पकाउने जिम्मा सरिताको भागमा छ । 

६ वर्ष देखि ऋषिको ड्राइभर सरिता

६ वर्ष अगाडि सानो दुर्घटनामा परेपछि ऋषिले गाडी चलाउन छाडेका छन् । मामाघर बुढानिलकण्ठ जाने क्रममा दुर्घटना भएको थियो । 

त्यस समयदेखि सरिताले नै गाडी चलाउँदै आएकी छिन् । ऋषि भने सरिताको छेउमा बसेर यात्रा गर्ने गर्छन् । तर उनी मोटरसाइकल भने मजैले कुदाउँछन् । ऋषिको मोटरसाइकल चलाउने शैलीको बारेमा सरीता भन्छिन्, ‘उहाँले मोटरसाइकल चलाउँदा म तपाईँको श्रीमती पनि छु है पछाडि । घरमा छोरी पनि छिन् । मलाई यहि छोडिदिनु म जान्छु भनेर सम्झाउन पर्ने अवस्था आउँछ । यसमा जिस्किँदै ऋषिले भने, ‘मलाई त गर्लफ्रेण्ड राखेर हिँडेको जस्तो लाग्छ ।’ 

९ वर्षकी छोरीलाई १० फिल्मको अफर 

छोरीलाई के बनाउने भन्ने विषयमा भने ऋषिले अहिले नै सोचेका छैनन् । तर सरिता भने छोरीले चलचित्र क्षेत्रमा केही गरिदिए हुन्थ्यो भन्ने इच्छा छ । 

उनले जम्मा एउटा विज्ञापनमा काम गरेकी छिन् । तर उनलाई ९ वर्षको उमेरमा नै झण्डै १० वटाभन्दा धेरै सिनेमाको प्रस्ताव आइसकेको छ । तर उनले अभिनय नगर्ने बताउने गरेकी छिन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया