भन्सालीको चलचित्र ‘इन्शाअल्लाह’ मा शाहरुखले सलमानलाई 'रिप्लेस' गर्लान् त ?

 भदौ १३, २०७६ शुक्रबार ११:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा चलचित्र निर्देशक सञ्जय लीला भन्सालीले चलचित्र ‘इन्शाअल्लाह’ बन्द गरेको खबर सार्वजनिक भएसँगै अब यस चलचित्रका लागि शाहरुख खानसँग कुरा अगाडि बढाइरहेको खबर चर्चामा आएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्र निर्माताहरुले शाहरुख खानका साथ चलचित्र ‘इन्शाअल्लाह’ र ‘इजहार’ को विषयमा चर्चा गरिरहेका छन् । यी दुवै चलचित्र प्रेम कहानीमा आधारित हुनेछन् ।

भन्साली र शाहरुखबीच चलचित्र ‘इजहार’ का विषयमा यस अघिदेखि नै कुराकानी भैरहेको थियो, जसको निर्माण शाहरुख खानको कम्पनी रेड चिल्लीज् इन्टरटेन्मेन्ट र भन्साली प्रोडक्शनले गर्नेछ । तर अब भने त्यो फिल्मको कामलाई पछाडि धकेलिएको छ ।  यदि शाहरुख खान र निर्माण पक्षबीच चलचित्र ‘इन्शाअल्लाह’ मा काम गर्ने कुरामा सहमति भएमा शाहरुख र आलिया भट्ट दोस्रो पटक स्क्रिन शेयर गर्नेछन् । शाहरुख र आलियाले सन् २०१६ मा चलचित्र ‘डियर जिन्दगी’ मा काम गरिसकेका छन् ।  

खबरहरुका अनुसार सञ्जय लीला भन्साली आफ्नो चलचित्रमा पैसा र समयको लगानी मात्रै नभइ रगत, पसिना लगाउनसमेत पछि हट्दैनन् । उनी भावनात्मक रुपमै चलचित्रका लागि आफूलाई समर्पित गर्छन् । यसै कारण उनले चलचित्र ‘इन्शाअल्लाह’ का लागि गरेको मेहनतलाई यत्तिकै खेर जान देलान् भन्ने कल्पना गर्न मुश्किल छ । जसका लागि उनी झण्डै एक वर्षदेखि काम गरिरहेका छन् । 

चलचित्रका लागि लोकेसनको पनि टुंगो लागिसकेको थियो । चलचित्रको प्रि–प्रोडक्शनको काम, छायाँकनको मिति र अभिनेत्री आलिया भट्टले चलचित्रको एउटा गीतको छायाँकनको काम पनि पूरा गरिसकेकी थिइन् । सबै कुरा सही रुपमा अगाडि बढिरहेको थियो र भन्साली यही हप्तामा नै चलचित्रको छायांकन पनि सुरु गर्ने तयारीमा थिए ।

तर कुनै कुरामा सलमान र निर्देशक भन्सालीबीच खटपट सुरु भयो । खबरहरुका अनुसार सलमान खान चलचित्रको पटकथा परिवर्तन गर्न भन्सालीलाई दबाव दिन थाले । साथै सलमानले चलचित्रकी अभिनेत्रीसमेत परिवर्तन गर्नुपर्ने कुरा राखेका थिए । जुन कुरामा निर्देशक भन्साली सहमत भएनन् । किनकी भन्सालीलाई उनको चलचित्रमा बाहिरबाट अरु कसैले पनि हस्तक्षेप गरेको सह्य हुँदैन । 

बरु उनले केही समयको लागि चलचित्र नै बन्द गरिदिने निर्णय लिए । तर भन्साली आफ्नो मेहनतलाई व्यर्थै जान भने दिने छैनन् । किनकी झण्डै एक दशकअघि भन्सालीले शाहरुख खान र करीना कपूर खानका साथ चलचित्र ‘बाजीराव मस्तानी’ निर्माण गर्न चाहेका थिए । तर त्यतिबेला उनको कुरा पूरा हुन सकेन र पछि उनले त्यो चलचित्र रणबीर सिंह र दीपिका पादुकोणका साथ बनाए ।  

भन्साली र शाहरुख खानले चलचित्र ‘देवदास’ पछि कुनै पनि चलचित्रमा सँगै काम गरेका छैनन् । यति बेला चलचित्र ‘इजहार’ लाई लिएर कुराकानी भैरहेको छ । अहिले आएर भन्साली चलचित्र ‘इन्शाअल्लाह’ मा सलमान खानको खाली ठाउँलाई पनि शाहरुख खानले पूरा गरुन् भन्ने चाहन्छन् । अहिले सबै कुरा गोप्यरुपमा अगाडि बढाइँदैछ तर यो चलचित्रको विषयमा छिट्टै नै सार्वजनिक घोषणा गरिने पनि बताइएको छ । 

अभिनेता शाहरुख खानले पनि चलचित्र ‘जिरो’ पछि कुनै पनि चलचित्रको घोषणा गरेका छैनन् । खबरहरुका अनुसार शाहरुखले छिट्टै नै कुनै ठूलो प्रोजेक्टको घोषणा गर्नसक्ने चर्चा थियो । त्यसमध्ये एउटा चलचित्र निर्देशक राज कुमार हिरानीका र अर्को चलचित्र सञ्जय लीला भन्सालीका साथ हुनेछ ।

यदि शाहरुख र भन्सालीबीच सहमति भए चलचित्र ‘इन्शाअल्लाह’ मा शाहरुख खान अमेरिकाका एक धनाड्य व्यापारीको भूमिकामा देखिने छन् । साथै उनको जोडी आलिया भट्ट रहनेछिन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया