दैलेखमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना, १८ जना घाइते

 भदौ १२, २०७६ बिहिबार १९:३७:३२ | अमर सुनार
unn.prixa.net

दैलेख – निर्माणाधीन मध्यपहाडी राजमार्गको लोहोरे–बेस्तडा खण्ड मौरेसालमा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

भगवतीमाई गाउँपालिका–१, पगनाथमा से १ त १६५२ नम्बरकाे ट्र्याक्टर सडकमै पल्टिँदा ट्रलीमा बसेका मजदुरहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो । 

सडक निर्माण गर्ने गजुरमुखी कम्पनीको सडक निर्माण गर्ने मजदुरहरुलाई मौरेसालबाट बेस्तडा बजारतर्फ लैजाँदै गर्दा ट्रलीको लोडपिन भाँचिएका कारण ट्रली मात्र खसेपछि मजदूरहरु घाइते भएकाे बताइएको छ । 

घाइते १८ मध्ये ६ जनालाई बेस्तडाको स्थानी मेडिकलमा र बढी चोट लागेका १२ जनालाई दैलेख जिल्ला अस्पतालमा ल्याइएकोमा तीमध्ये ३ जना गम्भीर घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत पठाइएको जानकारी दिइएको छ । 

सुर्खेत पठाइएका गम्भीर घाइतेहरुमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का ३० वर्षीय डिलबहादुर नाथको आँखा र ढाडमा, त्यसै ठाउँका ४० वर्षीय गोरबहादुर सिंंहकाे आँखा र टाउकोमा र दैलेखको भगवतीमाई गाउँपालिका–४ का ७० वर्षीय सेते थापाकाे छाती र निधारमा कडा चोट लागेको छ ।

दुर्घटनालगत्तै बेस्तडा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि पठाउनुका साथै दुर्घटना गराउने चालक नौमूले गाउँपालिका–५ का २५ वर्षीय रघु बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक ओलीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया