नेपालमा नयाँ राजारानीको जन्म भएछ, चिन्न पाए हुन्थ्यो : सांसद लिङ्देन

 असार २८, २०७५ बिहिबार १५:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सांसदहरुले मुलुकभर परेको अविरल वर्षासँगैको बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल प्रभावितलाई राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संभावित बाढी पहिरोको क्षति न्यूनीकरणका लागि पूर्व तयारीको साथै प्रभावितलाई राहत र क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

सांसद अमनलाल मोदीले विपद व्यवस्थापन कार्यलाई चुस्त दुरुस्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । बाढी आएपछि मात्रै बाढी र डुबानको चर्चा हुने गरेको भन्दै उहाँले पूर्व तयारीको साथ विपद व्यवस्थापनमा ध्यान दिनुको साथै तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद महेश बस्नेतले गए रातिको अविरल वर्षासँगैको बाढी पहिरोबाट भक्तपुरमा मानविय क्षति पुग्नुको साथै ठूलो बस्ती डुबानमा परेको र पशुचौपायको क्षति भएको भन्दै तत्काल बाढी प्रभावितलाई राहत र क्षतिपुर्ति दिने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामसहायप्रसाद यादवले बाढी पहिरोका कारण कयौ सडकखण्ड अवरुद्ध भएकाले परीक्षा केन्द्रसम्म पुग्न कठिन भएकाले शिक्षक सेवा आयोगको परीक्षाको मिति सार्न सरकारसँग माग गर्नुभयो ।

सांसद प्रेम सुवालले सरकारले पूर्व तयारी अपनाउन नसक्दा भक्तपुरमा गएरातिको बाढीबाट ३ जनाको मृत्यु भएको भन्दै सरकार पूर्व तयारी र सावधानीमा असफल भएको टिप्पणी गर्नुभयो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकार तानाशाही बन्दै गएको भन्दै सरकारका अधिनायकवादी क्रियाकलापबाट जनता नतर्सने टिप्पणी गरेका छन् ।
सांसद प्रदीप गिरीले जनतालाई तर्साएर शासन गर्न उद्धत सरकार तानाशाही बन्दै गएको भन्दै गएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई बिना कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएर जनतालाई तर्साउन खोजेको आरोप उहाँले लगाउनुभयो । सरकारका यस्ता क्रियाकलापले जनता नतर्सने चेतावनी पनि उहाँले दिनुभयो ।

चिकित्सक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि छलफल हुँदै गर्दा पार्टीको व्हीप अनुसार संसदमा पक्ष र विपक्षमा सांसदहरु देखिएको भन्दै उहाँले सांसदहरुलाई पार्टीका सदस्य मात्रै नभएर सिंगो देशका जनताको जिम्मेवार प्रतिनिधि बन्न आग्रह गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडुले संस्कृतको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै गरेका संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी लगाएर सरकारले बन्धक बनाएको भन्दै आपत्ति जनाउनुभयो ।  सरकारको यो कदमको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि चर्चाको विषय बनेको र सम्मेलनबाट  प्रधानमन्त्रीलाई पत्राचार भएको जानकारी गराउदै उहाँले उपकुलपति कोइरालालाई त्यसतर्फ पठाउने व्यवस्था मिलाउन सरकारसंग माग गर्नुभयो । उहाँले महाकालीको पानीको स्तर खतराको विन्दुबाट माथि उठेको भन्दै संभावित क्षतिलाई मध्यनजर गर्दै तत्काल पूर्व तयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाका सांसद मोहन बानियाँले डाक्टर गोविन्द केसीले कानुन हातमा लिने काम गरेको आरोप लगाउनुभयो । कहिले कुलप्रसाद कोइरालाको कुरा, कहिले डाक्टर गोविन्द केसीको कुरा, जुम्लामा गएर निकै नै गिनिज बुकमा नाम लेखाउने जस्तो विगतमा उत्पीडनमा परेको कर्णालीलाई क्षतिपूर्तिको माग गर्दिनुपर्दैन गोविन्द केसीले ? कानुन हातमा लिएर कुन कुनामा कुन व्यक्तिलाई के खान मन लागेको छ त्यो सरकारले पुर्याउन सक्दैन ?’ उहाँले डाक्टर केसी जुम्लामा गएर अनसन बस्नु बेमौसमी बाजा भएको टिप्पणी गर्नुभयो ।

त्यस्तै, सांसद राजेन्द्रप्रसाद लिंङदेनले नेपालबाट ठुलो परिमाणमा सम्पत्ति बाहिर जाने काम भएको भन्दै त्यसको छानविन गरी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘केटाकेटी भएको बेला गाउँतिर सुन्थ्यौँ, नेपालको सारा सम्पत्ति यो देशका राजारानीले स्विस बैकमा लगेर राखेका छन् । त्यो ल्याएर बाँड्यो भने पनि हरेक नेपालीलाई  ४-४ तोला सुन पुग्छ भन्थे, तर नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएपछि  सन् २००८ देखि २०१७ सम्ममा झण्डै ३३ अर्ब भन्दा बढी नेपाली सम्पत्ति नेपालबाट स्विस बैकमा जम्मा भएको भनेर प्रचारमा आएको छ । अहिले नेपालमा नयाँ राजा रानीको जन्म भएछ । ती राजारानी चिन्न पाए हुन्थ्यो । यसबारेमा सरकारले छानविन गरोस् भन्ने माग गर्न चाहन्छु ।’

संसदमा रहेका ४ दललाई उपेक्षा गर्दै संसदीय सुनुवाइ समिति गठन गरिएकोमा आपत्ति जनाउँदै उहाँले दलहरुलाई निषेध गर्ने क्रियाकलाप बन्द गर्न माग गर्नुभयो ।

सांसद नरबहादुर धामी कन्चनपुर जिल्लाको शुक्लाफाँटा बन्यजस्तु आरक्षण विस्तारका क्रममा विस्थापित जनताको अहिलेसम्म पनि उचित व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।  २०३७ साल माघदेखि समस्या समाधानका लागि २९ वटा आयोग गठनभएको र ती आयोगले आफ्ना मान्छेलाई अन्य स्थानबाट ल्याएर संख्या बढाउने काम मात्रै गरेको र वास्तविक विस्थापित जनतामाथि खेलवाड गरेको भन्दै उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद हरिनारायणप्रसाद रौनियारले पर्सा र रौतहटको सिंचाइको मुख्य आधार बनेको नारायणी नहरमा पानी सप्लाईको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले अस्थायी शिक्षकको माग सम्बोधन गर्न पनि माग गर्नुभयो ।

अन्तिम अपडेट: चैत ९, २०८०

1 Comments

  • Ajaykumarshah

    July 30, 2018, 7:54 a.m.

    Why do the police over attack on the poor public nor the government arrange Job for the public neither the government make satisfy to the public how will public survive .I am talking about rani custom official area biratnagar why are the custom office rani employer are Curr opted, Nepal police and nepal arms police are also Curr opted please release corruption from our society and country.Government should take interest in this kind of activities which is going on border area and all over country.

  •  0 Reply

तपाईको प्रतिक्रिया