विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका बारेमा तपाईँले थाहा पाउनै पर्ने कुरा

 असार २८, २०७५ | उज्यालो सहकर्मी

विश्वकप फुटबल सुरु हुँदै गर्दा विश्वभरका फुटबल प्रशंसक ब्राजिल, अर्जेन्टिना, जर्मनी तथा पोर्चुगलको गुणगान गाइरहेका थिए ।

नगाउन् पनि किन यी सबै टिम स्टार खेलाडीले भरिपूर्ण छन् । तर जबजब विश्वकप सुरु भयो, अप्रत्याशित नतिजा आउन थाले । ठूला भनिएका टिम कोही समूह चरणबाटै बाहिरिए त कोही प्रिक्वार्टरफाइनलबाट । 

चाहे जति पटकको नै विजेता होस्, चर्चा इतिहास रच्नेकै हुन्छ । विश्वकपको दोस्रो सेमिफाइलनमा त्यस्तै इतिहास रच्यो क्रोएसियाले । इंग्ल्याण्डलाई दुई–एकले हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुग्दै एउटा इतिहास रच्न सफल भयो । ५२ वर्षपछि विश्वकपको ट्रफी उचाल्ने इंग्ल्याण्डको सपना टुंगिएको छ । अर्कोतिर इंग्ल्याण्डसँग उत्कृष्ट खेल खेलेको क्रोएसियाले फाइनलमा फ्रान्सलाई हराएमा अर्को इतिहास रच्नेछ । 

विश्वकपमा प्रायः सञ्चार माध्यममा ठूला भनिएका टोलीकै चर्चा हुन्छ । इंग्ल्याण्डका बारेमा त धेरैलाई जानकारी हुन सक्छ । तर क्रोएसियाका बारेमा कमैलाई मात्र थाहा हुन सक्छ । त्यसले हामीले क्रोएसियाका विविध पक्षबारे जानकारी दिने प्रयास गरेका छौँ 

झण्डै ४० लाख जनसंख्या भएको क्रोएसियालीहरु विश्वकपमा जुन सफलता हासिल गरिरहेका छन्, पत्याउनै सकिरहेका छैनन् । किनकी ग्रुप अफ् डेथ भनिएको टिमबाट फाइनलसम्मको यात्रामा आइपुग्नु क्रोएसियाको लागि ऐतिहासिक सफलता हो । सन् १९९८ को विश्वकपमा क्वार्टरफाइलमा जर्मनीलाई ३–० ले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । सेमिफाइलनमा फ्रान्ससँग २–१ ले पराजित क्रोएसिया नेदरल्याण्ड्सलाई हराउँदै तेस्रो भएको थियो ।

क्रोएसियाकै खेलाडी डेभाेर सुकरले प्रतियोगितामा सबभन्दा बढी गोल गर्दै गोल्डेन बुट पाएका थिए । उनले प्रतियोगितामा ६ गोल गरेका थिए । गाब्रियल बाटिस्टुटा, रोनाल्डो(ब्राजिल), रिभाल्डो, थियरी हेनरी, जिनेदिन जिदानजस्ता खेलाडीहरुभन्दा उनी अगाडि आएका थिए । तर यो सफलता कसरी प्राप्त भयो भन्ने बारेमा क्रोएसिया आफैले पनि खासै केही भन्न सक्दैन । 

द सन का अनुसार फुटबलका विज्ञ भन्छन् कि यो सफलताका पछाडि पूर्ववर्ती युगोस्लाभियाको एकेडेमी सिस्टमको हात थियो । युगोस्लाभियाले सन् १९८७ मा सम्पन्न भएको वर्ल्ड यू–२० च्याम्पियन्सिप जितेर विश्वलाई चकित बनाएको थियो । तर स्वतन्त्र देशको हैसियतमा पहिलो खेल्न उसलाई सात वर्ष पर्खनुपर्यो ।

चिली, ब्राजिल, पश्चिम जर्मनी जस्ता बलिया टिमलाई हराएपछि युगोस्लाभियालाई सबैभन्दा शानदार टिमका रुपमा हेरिएको थियो । तर त्यहाँको राजनैतिक माहोलले फुटबल मात्रै होइन, सम्पूर्ण सामाजिक अर्थव्यवस्था नै ध्वस्त बनायो । 

चार वर्षपछि सन् १९९१ मा बाल्कन युद्धले गर्दा सम्पूर्ण आशामा तुषारापात भयो । तर सात वर्षपछि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसियाले रातो र सेतो चेक जर्सी लगाएर विश्वलाई आफ्नो क्षमता प्रदर्शन गर्यो । 

यही सफलता नै क्रोएसियाली नागरिकका लागि युद्धका पीडा बिर्सेर अगाडि बढ्न प्रेरणाको श्रोत बन्यो । डाइनामो जाग्रेब एकेडेमीको यसकारण चर्चा हुने गर्छ कि लुका मोड्रिच, डेजान लोबरन, सिमे विरास्लाजको, मारियो मान्दुकिच तथा मातेओ कोवासिच जस्ता खेलाडी यहीँका उत्पादन हुन् । तर फुटबलमा यत्रो सफलता प्राप्त गरेको क्रोएसियाको संघर्ष पनि त्यस्तै छ । 

फुटबलमा क्रोएसियाको सफलताका बारेमा थाहा भए पनि उसको राजनीतिक इतिहासका बारेमा जान्ने धेरैलाई उत्सुकता हुन सक्छ । क्रोएसिया मध्य तथा दक्षिण–पूर्व युरोपमा एड्रियाटिक सागर नजिकै पर्दछ । 

क्रोएसियाको राजधानी जाग्रेब हो । ५६ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको क्रोएसियामा रोमन क्याथोलिक धर्म मान्नेहरु बढी छन् । 

छैटौं शताब्दीदेखि मानिसहरु क्रोएसियामा आएर बस्न थालेका थिए । यहाँका पहिलो राजा टोमिस्लाभ थिए । सन् ११०२ मा हंगेरीसँग मिसिएको क्रोएसियाले सन् १५२७ मा आटोमन साम्राज्यको विस्तारको प्रभावका बीच फर्डिनान्ड अफ् ह्याब्सवर्गलाई आफ्नो राजा मान्न थाल्यो । 

१९औँ शताब्दीको सुरुवातदेखि क्रोएसियाको विभाजन सुरु हुन थालेको थियो । अष्ट्रिया–हंगेरीले बोस्निया हर्जगोभिनामाथि कब्जा गर्यो । यो विवाद सन् १८७८ मा भएको बर्लिन सन्धिमार्फत सुल्झाइएको थियो । 

नाजीहरुको कब्जा

सन् १९१८ मा क्रोएसियाली संसद(सबोर) ले स्वतन्त्रताका घोषणा गर्दै ‘स्टेट अफ् स्लोभेन्स, क्रोएट्स एण्ड सर्ब’सँग जोडिने निर्णय गर्यो । 

अप्रिल १९४१ मा नाजी जर्मनीको अगुवाईमा ध्रवीय शक्तिहरुले युगोस्लाभियामाथि कब्जा गरेपछि क्रोएसियाका अधिकांश भूभाग नाजी समर्थित क्लाइन्ट स्टेटमा गाभिन पुग्यो । त्यसको व्यापक विरोध भएपछि फेडेरल स्टेट अफ् क्रोएसिया बन्न पुग्यो । त्यसपछि क्रोएसिया सोसलिस्ट फेडेरल रिपब्लिक अफ् युगोस्लाभियाको संस्थापक सदस्य तथा संघीय घटक बन्यो । 

सन् १९१८ देखि सन् १९९१ सम्म क्रोएसिया युगोस्लाभियाकै हिस्साका रुपमा रह्यो । सन् १९९१ को स्लोभानियाको युद्धपछि क्रोएसियामा पनि त्यसको असर देखिन थाल्यो । 

कठिन संघर्ष

बढ्दै गएको राजनीतिक तनावका बीच क्रोएसियाले सन् १९९१, जुन २५ मा स्वतन्त्रताको घोषणा गर्यो । यसैबीच क्रोएसियाको राजनैतिक वातावरण बिग्रँदै गएको थियो । युगोस्लाभ पब्लिक आर्मी तथा सर्ब प्यारामिलिट्रीको समूहले क्रोएसियामाथि आक्रमण गर्यो । सन् १९९१ को अंतमा यस्तो अवस्था आयो कि क्रोएसियासँग आफ्नो भूभागको एक तिहाई भाग मात्रै बचेको थियो ।

क्रोएसियाका मूल नागरिकमाथि आक्रमण गरियो । लाखौँ मानिस मारिए तथा लाखौँ विस्थापित भए । सन् १९९२ मा क्रोएसियालाई युरोपेली इकोनोमिक कम्युनिटीमा मान्यता प्राप्त भयो । उसलाई संयुक्त राष्ट संघले पनि मान्यता दियो । सन् १९९५ मा युद्धको अन्त्य भयो । अन्त्यमा क्रोएसियाको जित भयो ।

पुनर्जागरण काल

कब्जा भएका आफ्ना भूभाग सन् १९९५ मा भएको एउटा सम्झौतापछि क्रोएसियाले प्राप्त गर्यो । तर युद्धले जर्जर भएको क्रोएसियाली अर्थतन्त्र तथा सामाजिक अर्थव्यवस्था उठ्नलाई धेरै समय लाग्यो । सन् २००० पछि क्रोएसियाको लोकतन्त्र केही बलियो हुँदै गयो । आर्थिक विकास तथा ढाँचागत सामाजिक सुधारका कार्यक्रमले बेरोजगारी, भ्रष्टाचार तथा प्रशासनिक अराजकतामा सुधार देखियो । तर क्रोएसियाले लामो समयपछि युरोपियन युनियन, संयुक्त राष्ट्र संघ, युरोपेली परिषद, नाटो तथा डब्ल्यूटीओको सदस्यता प्राप्त गर्यो । 

क्रोएसियाको मुख्य अर्थव्यवस्था सेवा, उद्योग तथा कृषिमा आधारित छ । पर्यटनबाट पनि क्रोएसियाले मनग्य आम्दानी गरिरहेको छ । विश्वका शीर्ष २० पर्यटकीय स्थलमा क्रोएसिया पनि पर्दछ । 

विकास तथा संघर्षका बीच क्रोएसियाले भोगेका पुराना पीडालाई फुटबलमा पाएको सफलताले मल्हम लगाउने काम गरेको छ ।  अब जुलाई १५ मा हुने विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्सलाई हराएर सम्पूर्ण देशबासीमा फेरि एकपल्ट खुशीको माहोल छर्न चाहन्छ ।

-बीबीसीकाे सहयाेगमा
 
 

तपाईको प्रतिक्रिया