सुर्खेतमा ज‌ंगलमा १६ ओटा गाईगोरु मृत भेटिएको पुष्टि

 भदौ १३, २०७६ शुक्रबार १७:५४:२१ | मुना हमाल
unn.prixa.net

सुर्खेत - नेपालगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखिएका छाडा गाईगोरु (चौपाया) दैलेख लैजाने क्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा १६ वटा गाईगोरु मृत भेटिएको पुष्टि भएको  छ ।  

दैलेखको श्रीस्थानमा पाल्नका लागि लैजाने भन्दै ल्याइएका गाईगोरु शुक्रबार बिहान मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार ४ वटा गोरु र १२ वटा गाई मृत भेटिएका छन् ।  

उपरीक्षक रावलले अझै १ सय ५० जति गाइगोरु छाडा रुपमा भेटिएको जानकारी दिनुभयो । रावलले पाँच ओटा ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउनु भयो । दुई सयको हाराहारीमा गाईगोरु रहेको अनुमान गरिएको छ । 

‘राति १२ बजेर १ मिनेटमा गाईगोरु लिएर नेपालगञ्जबाट आएका ८ ओटा गाडी सुब्बाकुना प्रहरी पोष्टमा इन्ट्रि भएको देखिन्छ’, उपरीक्षक रावलले भन्नुभयो, ‘हामीले पाँच ओटा गाडी नियन्त्रणमा लिएका छौँ । अरु तीन ओटा गाडी दैलेख गए या अन्यत्रै गए, थाहा भएन । हामी अनुसन्धान गर्दैछौँ ।’

नेपालगञ्जबाट दैलेख पाल्न लैजान भन्दै २ सय ९१ ओटा गाईगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको उहाँले बताउनु भयो ।  

‘केही गाईहरुको खुट्टा भाँच्चिएका छन् । हामीले उपचार गरेपछि केही गाईगोरु उठेका छन्’ वीरेन्द्रनगर नगरपालिकाका पशु शाखाका प्रमुख नारायण न्यौपानेले भन्नुभयो, ‘हेर्दा चोट लागेर मृत्यु भएको जस्तो देखिन्छ । पोष्टमर्टम रिर्पोट आएपछि सबै थाहा हुन्छ ।’ 

अन्तिम अपडेट: चैत १३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया