बाटो बिराएर गाउँ पसेको बर्दिया निकुञ्जको गैँडाको आक्रमणबाट ३ जना घाइते

 भदौ १४, २०७६ शनिबार १८:२९:३१ | भावुक योगी
unn.prixa.net

बर्दिया– बाटो बिराएर गाउँमा पसेको बर्दिया राष्ट्रिय निकुञ्जको गैँडाको आक्रमणबाट बारबर्दिया नगरपालिकामा तीन जना घाइते भएका छन् । 

बारबर्दिया नगरपालिकाको नवनिर्मित कुसुम्बाघाट झोलुङे पुल हेर्न गएका स्थानीयवासीलाई कुसुम्बाघाटको झोलुङे पुलनजिक रानीपुरमा गैँडाले आक्रमण गर्दा तीन जना घाइते भएका हुन् ।

गैँडाको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ का ६५ वर्षीय जङ्गली थारु, ३९ वर्षीय रामप्रसाद थारु र १० वर्षीया शिखा थारु घाइते भएको ४ नम्बर वडाका वडाध्यक्ष मानबहादुर थारुले बताउनु भयो । 

शनिबार बिहान बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको खैरापुर गाउँको मकै बारीमा गैँडा निस्किएको थियो । स्थानीयवासीले गाउँमा गैँडा देखेपछि प्रशासनमा खबर गरेका थिए ।  

जिल्ला वन र बर्दिया निकुञ्जको टोलीले गैँडा धपाउने प्रयास गरिहेका बेला भाग्दै गरेको गैँडाले कुसुम्बाघाटको झोलुङे पुलनजिक तीन जनालाई घाइते बनाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनु भयो ।

गैँडाले आक्रमणबाट घाइते भएकामध्ये दुई जनाको नेपालगञ्ज भेरी अस्पतालमा उपचार भैरहेको छ, जसमा एक जनाको अवस्था गम्भीर छ । त्यस्तै घाइते एक जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

निकुञ्जबाट गाउँमा पसेको गैँडालाई राख्ने खोर चितवनबाट मगाइएको र खोर आएपछि विषादीयुक्त सुइका माध्यमबाट गैँडालाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्जभित्र पठाउने तयारी भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । 

जेठको अन्तिम सातादेखि बर्दिया निकुञ्जबाट बाहिर निस्किएर बाटो बिराएर गाउँमा पसेको गैँडा अझै निकुञ्जभित्र प्रवेश गर्न सकेको छैन । 

हरेक वर्ष निकुञ्जबाट बाहिर निस्किएर जंगली हात्तीले दुःख दिइरहेका बेला यस पटक भने पाटे बाघ र गैँडा निकुञ्जबाट बाहिर निस्किएपछि स्थानीयवासी त्रासमा छन् ।

अन्तिम अपडेट: फागुन २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया