अरुण तेस्रोको काम २२ प्रतिशत सकियो

 भदौ १५, २०७६ आइतबार १०:२९:३७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभामा निर्माणाधीन बहुचर्चित नौ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त परियोजनाको काम २२ प्रतिशत सम्पन्न भएको छ ।

राष्ट्रिय गौरवको रुपमा रहेको यो परियोजनाको काम तीव्र गतिमा भइरहेको छ । परियोेजनाको ड्यामस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत्त उत्पादन हुने गृह पावर हाउसस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबिसै घण्टा रात र दिनमा सिफ्ट अनुसार समय तालिम मिलाएर जनशक्ति काम खटिरहेको परियोजनाले जनाएको छ ।

ड्यामस्थलमा जयप्रकाश एसोसियटस निर्माण कम्पनीले काम गरिरहेको छ भने पावरहाउसस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । परियोजनामा दुई हजारको हाराहारीमा भारतीय र नेपालीले कामदारहरुले काम गरिरहेको बताइएको छ । दुवै ठेकेदार निर्माण कम्पनीहरु भारतीय नै हुन् ।

यो परियोजनाको ड्यामस्थल फ्याक्सिन्दादेखि पावरहाउसस्थल पुखुवा निस्कने मुख्य सुरुङमार्गको दुरी ११ दशमलब ७४ किमि रहेको छ । त्यसमध्ये ७ सय ९० मिटर खनिसकिएको अरुण तेस्रो परियोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले बताउनुभयो । उहाँको अनुसार, मुख्य सुरुङमार्गसहित चार वटा सुरुङ खन्ने काम भइरहेको छ ।

दोस्रो ड्यामस्थलमा नदिलाई डाइर्भसन गर्नका लागि खनिएको सुरुङमार्ग ४ सय २९ मिटर खनिएको छ भने अर्को तेस्रो प्रवेश सुरुङमार्ग ७ सय ७३ मिटर खनिसकिएको छ । त्यसैगरी चौथो सुरुङको काममार्गको काम ३ सय १८ मिटर खनिसकिएको सीईओ धिकानले जानकारी दिनुभयो । 

अहिले सम्म दुई वटा निर्माण कम्पनीबाट १३ खण्डमा काम भइरहेको छ । अहिलेसम्म १२ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको जनाएको छ ।

अरुण तेस्रो जलविद्युत्त परियोजना मुलुकको नै सबैभन्दा ठूलो र बढि चर्चामा रहेको जलविद्युत्त परियोजना हो । २०४२ सालमा विश्व बैङ्कको लगानीमा निर्माण गर्ने भनिएको यो जलविद्युत्त परियोजना लामो समय रोकिएको थियो । 

अहिले भारतीय सरकारी सतलज कम्पनीले निर्माण गरिरहेका छन् । सन् २०२२ भित्र निर्माण सम्पन्न गर्ने सतलज निर्माण कम्पनीले जनाएको छ । ०७४ वैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर परियोजनाको शिलान्यास गर्नुभएको थियो । त्यसपछि निर्माणकार्यले गति लिदै गएको छ । यो परियोजना निर्माण सम्पन्न गर्न करिब एक खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया