मिथिलाञ्चलमा तिज र चौठचन्द्र एकसाथ, जनकपुरमा सार्वजनिक बिदा

 भदौ १६, २०७६ सोमबार ९:१५:१२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सोमबार मिथिलाञ्चललगायत ठाउँमा चौठचन्द्र पर्व र हरितालिका तिज धुमधामसँग मनाइँदै छ । हिन्दु धर्माबलम्बी महिलाहरुले पतिको दीर्घायुको कामना गर्दै तिज मनाउँदैछन् भने मिथिलाञ्चलबासी सन्तान एवम् पारिवारिक सुखसमृद्धिको कामना गर्दै चौठचन्द्र पर्व मनाइरहेका छन् ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गर्दै चौठचन्द्र पर्व साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अघ्र्य दिएर मनाउने गर्दछन् ।

भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहि आएको छ । यस पर्वमा चामल र गहुँको पीठोका विभिन्न पकवान बनाउनुका साथै पिरुकिया, पुरी, खाजा, फलफूल, खिर, र दहीसहितका पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ ।

माटोको भाडोमा राखेर तयार पारिएको दही यो पर्वको लागि उपयुक्त मानिन्छ । चौठीचाँद बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनका लागि ब्रतालुहरुले पुरी तथा खिर बनाउनका लागि प्रयोग गरिने चामल निक्कै निष्ठापूर्वक राख्ने गर्दछन् ।

भाद्र शुक्ल चतुर्दशीको साँझ मनाइने यस पर्वमा गणेश पूजनोत्सवको आयोजना गर्ने गरिन्छ । चन्द्रमामा कलंक लागेको धार्मिक मान्यताका साथ मिथिला क्षेत्रमा मिथिला नरेश हेमाङ्गद ठाकुरद्वारा यस पर्वको सुरुवात गरिएको पौराणिक मान्यता छ ।

दही, खिर, पुरी, मिठाइ फलफूललगायतका नैवैद्यसहित साँझ चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने गरिन्छ । दिनभर उपवास बसेकाहरूले साँझ अघ्र्य दिएपछि सम्पूर्ण परिवारजनले प्रसाद ग्रहण गर्दा प्रसन्नता, कल्याण एवं धनधान्यको प्राप्ति हुने जनविश्वास रहेको छ ।

चौठचन्द्र पर्वमा अघ्र्य दिइएको पूजा सामग्री आफन्त इष्टमित्रलाई बोलाएर प्रसादको रुपमा खुवाउने गरिन्छ भने नहुनेहरुलाई प्रसाद वितरण गर्ने चलन मिथिलाञ्चलमा रहेको छ । त्यसैले चौठचन्द्र पर्वलाई प्रेम एवं सद्भावको प्रतिकको रूपमा पनि लिइन्छ ।

जनकपुरमा सार्वजनिक बिदा

जनकपुरधाम उप–महानगरपालिकाले चौठचन्द्र र हरितालिका तिजपर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै चौठचन्द्र पर्व र हरितालिका तिज पर्वको अवसरमा जनकपपुरधाम उपमहानगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया