रावाबेँसीका स्थानीयले दिक्तेल मझुवागढीमा गाभ्न माग गरे

 असार २८, २०७५ बिहिबार १८:४८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकाका केही गाउँका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा समावेश गर्न माग गरेका छन् । 

स्थानीय तह कार्यान्वयनमा आएको वर्षदिनपछि रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको गोपेनी, दम्कुडाँडा र रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरी, चापखर्क, फलाटे र पैयाँका स्थानीयले छिमेकी नगरपालिका दिक्तेल रुपाकोट मझुवागढीमा समावेशका लागि माग गरेका हुन् । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा रहेको केन्द्र भौगोलिकरुपमा टाढा र अपायक स्थानमा कायम भएकाले स्थानीयले दिक्तेल रुपाकोट मझुवागढीमा समावेशको माग उठाएका स्थानीय मोहन गुरुङले बताउनुभयो । 

आफ्नो गाउँपालिकाको केन्द्रबाट जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, भूमिकर, शिक्षा, स्वास्थ्य सम्बन्धी सेवा लिन भौगोलिक दूरीका कारण कठिनाई भएको स्थानीयको गुनासो छ ।

हरम्टार पुग्न तीन÷चार घण्टा लाग्ने गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेल पुग्नका लागि आधा घण्टामा मात्र लाग्ने भएको भन्दै स्थानीयले आफ्नो गाउँपालिका प्रमुख समक्ष सहयोग गर्नका लागि लिखित माग राखेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया