गल्याङ जीप दुर्घटना अपडेट : ज्यान गुमाउने संख्या २ पुग्यो, २१ जना घाइते

 भदौ १८, २०७६ बुधबार १७:४:३९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा जीप दुर्घटना हुँदा एक बालकसहित दुई जनाकोे ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि २१ जना घाइते भएका छन् ।

पाल्पाको रम्भा गाँउपालिकाको हुँगीबाट गल्याङका लागि छुटेको  ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजार नजिकै बुटवल पावर कम्पनीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।

वालिङ नगरपालिका–१३ का ९ महिने बालकको घटनास्थलमै भएको छ भने रम्भा गाँउपालिका हुँगीकी ६० वर्षीया छलीमाया सार्कीकाे उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । बालकका अभिभावक उपचारका लागि पाल्पामा रहेकाले सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १९ जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये ११ महिला र ८ जना पुरुष रहेका छन् ।

तिज मनाएर फर्किएका महिलाहरु दुर्घटनामा परेको बताइएको छ । ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया