डेंगु परीक्षण गराउन अस्पताल पुगेकामध्ये ५० प्रतिशतमा संक्रमण भेटियाे

 भदौ १८, २०७६ बुधबार १९:१२:३ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डाै - डेंगु परीक्षणका लागि टेकु अस्पताल पुगेका ५० प्रतिशतमा डेंगुको संक्रमण देखिएको छ ।

भदौ १ गतेदेखि अहिलेसम्म १७ सय ७४ जनाले डेंगु परीक्षणका लागि रगतको नमूना दिएका र तीमध्ये ५० प्रतिशत बिरामीमा डेंगुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले जानकारी दिनुभयो ।

मंगलबार मात्रै ५ सय ९ जना बिरामीको रगत परीक्षण गरिएको र बुधबार थप ७० जनाको डेंगु परीक्षण गरिएको हो । त्यसमध्ये ५० प्रतिशतमा डेंगुको संक्रमण देखिए पनि बिरामीको संख्या भने खुलाइएको छैन । अस्पतालमा डेंगु परीक्षण गर्ने किट र उपकरणको अभाव भएकाले डेंगु संक्रमितको संख्या खुलाउन नसकिएको प्रमुख खतिवडाले बताउनुभयो ।

‘हामीले हिजो र आज दिनभर परीक्षणको रिपाेर्ट निकालिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘तर किट र उपकरणको अभावले संख्या यकीन गर्न सकेका छैनौँ । बिरामीको रिपाेर्ट हेर्दा ५० प्रतिशतमा डेंगु संक्रमण देखिएको छ ।’

यस्तै अस्पतालमा कार्यरत थप एक जना कर्मचारीमा पनि डेंगुको संक्रमण देखिएको छ । बुधबार थप एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएपछि टेकु अस्पतालमा डेंगु प्रभावित डाक्टर र कर्मचारीको संख्या १२ पुगेको छ ।

१ करोड ३५ लाख रुपैयाँ बजेट माग !

डेंगुका बिरामी बढेपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १ करोड ३५ लाख रुपैयाँ बजेट माग गरेको छ । डेंगुका बिरामी बढेपछि ‘डेंगु हेल्प डेस्क’ र ‘फिभर क्लिनिक’ सेवा सुरु गरेको अस्पतालले खर्च अभाव भएपछि सरकारसँग थप बजेट माग गरेको हो ।

तत्काल डेंगु परीक्षण गर्ने किट, रगत परीक्षण गर्ने उपकरण र थप २० वटा शैया किन्नका लागि १ करोड ३५ लाख रुपैयाँ माग गरिएको अस्पतालका प्रमुख खतिवडाले जानकारी दिनुभयो । 

‘हामीसँग बिरामीको संख्या बढ्यो । त्यही अनुसार जनशक्ति व्यवस्थापन, थप अस्थायी संरचना र उपकरण किन्नुपर्ने भएकाले बजेट माग गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अस्पताल भर्ना भएका बिरामीलाई निको बनाएर फर्काउन चाहिने उपकरण र शैयाका लागि नदिन बजेट माग गरेका हौँ ।’

एकजनामा डेंगु परीक्षण गर्न १५ सय रुपैयाँ खर्च !

सरकारले टेकु अस्पतालमा पुगेका बिरामीको उपचार निःशुल्क गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार गर्न निर्देशन दिए पनि शतप्रतिशत निःशुल्क गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डेंगु परीक्षणका लागि चाहिने किटको मूल्य ९ सय रुपैयाँ पर्छ । यस्तै अरु परीक्षण गर्न पाँच सय जति खर्च लाग्ने गरेको छ । टेकु अस्पतालले किट र परीक्षणमा छुट दिए पनि निःशुल्क उपचार गर्न सकेको छैन ।

अस्पतालसँग सीमित बजेट भएका कारण थप बिरामीको उपचार गर्न र सरकारले भने अनुसार बिरामीको उपचार गर्न बजेट माग गरिएको प्रमुख खतिवडाको भनाइ छ ।

‘हामीले सरकारको निर्देशन अनुसार निःशुल्क उपचार गर्ने कोसिस गरेका हौँ’, उहाँले भन्नुभयो, ‘तर छुट दिँदा पनि खर्च धान्न सक्ने अवस्था नरहेपछि छुट दिएर उपचार गरिरहेका छौँ । थप खर्चका लागि सरकारसँग बजेट माग गरेका छौँ ।

अस्पतालमा अहिले २४ जना बिरामीको उपचार भइरहेको छ । अरु ९० जना उपचार गरेर फर्किएका छन । अहिलेसम्म डेंगुकै कारण तीन जनाको ज्यान गइसकेको छ भने चार हजारभन्दा धेरै बिरामी परेका छन् ।

‘एडिज’ प्रजातिको लामखुट्टेले टोकेपछि उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, हिँड्न गाह्रो हुने, टाउको दुख्ने डेंगुका लक्षण हुन् । यी लक्षण देखिनासाथ तुरुन्तै अस्पताल पुगेर जाँच गराउन डाक्टरको सल्लाह छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया