डेंगुको डर : लक्षण र बच्ने उपाय

 भदौ १९, २०७६ बिहिबार १३:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित ४२ जिल्लामा डेंगुको डर बढेको छ ।  वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ । 

शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको डाक्टरहरु बताउँछन् ।

डेंगु भएपछि उच्च ज्वरो आउँछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरले बताएका छन् । 

स्वस्थ व्यक्तिमा पनि डेंगु हुन सक्छ

डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ । पोथी लामखुट्टेको टोकाइका कारण यो भाइरस सर्ने डाक्टरले बताएका छन् ।

तर यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन । चार जनामध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ । त्यसैले स्वस्थ भनिएका व्यक्तिमा पनि डेंगुको जोखिम हुन सक्ने डाक्टरको भनाइ छ । 

डेंगुका लक्षण

  • उच्च ज्वरो आउनु
  • टाउको दुख्नु, पेट दुख्नु
  • वाकवाकी लाग्नु
  • आँखाको गेडी दुख्नु
  • जीउ, जोर्नी दुख्नु
  • उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु

रोकथामका उपाय

  • पानी जम्न सक्ने भाँडाहरु जस्तैैः गमला, फुलदानी खाली गर्ने
  • बट्टा, मट्टीतेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरी नराख्ने । राख्नै परे पानी जम्न नदिने ।
  • पानी जम्मा पारेका ट्याङकी तथा बाल्टीमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्कोले छोपेर राख्ने ।
  • फुलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने ।
  • एडिस इजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउने ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने 
  • बालबालिकालाई सुताउँदा पनि झुल भित्रै सुताउने
  • लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने
  • घरका झ्याल ढोकामा जाली लगाउने 
  • घर वरपर सफा सुग्घर राख्ने, खाल्डाखुल्डी पुर्ने

डेंगु देखिए के गर्ने ?

  • डेंगु रोगको लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ । 
  • उच्च ज्वरो आए सिटामोल र झोलिलो पदार्थ खानुपर्छ ।
  • उच्च ज्वरो आयो भन्दैमा बु्रफिन लगायतका औषधि खानु हुँदैन ।
  • समयमा नै रगत परीक्षण गराउनुपर्छ ।

४० भन्दा बढी जिल्लामा डेंगुको प्रकोप अझै फैलिने सम्भावना रहेको डाक्टरहरु बताउँछन् । साउन महिना यता मात्रै २५ सय जना भन्दा धेरैलाई डेंगुको सक्रंमण भएको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया