न्यूनतम पारिश्रमिक लागू भए, नभएकोबारे अनुगमन गरिने

 भदौ १९, २०७६ बिहिबार १८:३५:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – उद्योगहरुमा न्यूनतम पारिश्रमिक लागू भए, नभएको विषयमा अनुगमन गरिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक लागू भए, नभएको विषयमा सघन अनुगमन गरिनुपर्ने बताउनुभएको हो ।

बैठकको अध्यक्षता गर्नुभएका मन्त्री विष्टले महिला र पुरूषबीच ज्यालामा देखिने पारिश्रमिक सम्बन्धी विभेद अन्त्य गर्न गम्भीरताका साथ लाग्नुपर्ने र श्रम अडिट गर्ने प्रावधानको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । 

मन्त्री विष्टले श्रमिकको रूपमा विदेश जाने नेपाली नागरिकका हक, अधिकार एवम् सुरक्षाको विषयमा अधिकतम ध्यान दिनुपर्नेमा आफू प्रतिवद्ध रहेको र नेपाली श्रमिकहरूको हित विपरित हुनेगरी कुनै सम्झौता नगरिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

श्रम कानुनका प्रावधानको प्रभावकारी कार्यान्वयन गरी श्रमिकका गुनासा यथाशीघ्र सम्बोधन गर्न नीतिगत, कानुनी, संस्थागत लगायत आवश्यक जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा थप सुधार गर्नसमेत मन्त्री विष्टले मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिनुभयो ।   

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त अनुगमन र अन्य सुधारका लागि मन्त्रालयले आवश्यक समन्वय एवम् सहजीकरण गर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया