‘लू’ काे जाेमिखसँग लड्न सरकारसँग रणनीति छैन, पूर्वतयारीकाे ...
बैशाख ११, २०८१ मंगलबार
रामेछाप – विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई पढाइ बाहेक परम्परागत सीप सिकाउन सुरु गरेपछि उनीहरु रमाउँदै सीप सिक्न हौसिएका छन् ।
पछिल्लो समय परम्परागत सीप लोप हुँदै जान थालेपछि त्यसको जगेर्ना गर्ने उद्देश्यले कर्कला देवी बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुलाई नेपाली परम्परागत सिपहरु सिकाउन सुरु गरेको हो ।
स्कुलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका झण्डै डेढ सय विद्यार्थीहरुलाई नेपाली मौलिक परम्परामा आधारित दुना र टपरी गाँस्ने, डोरी बाट्ने, बत्ती कात्ने र बाँसको चोयाबाट सामान बनाउने सीपहरु सिकाउन थालिएको हो ।
‘घरमा हुने पूजाआजा र तिथि श्राद्धमा आमाले मात्रै बत्ती कात्ने तथा दुना र टपरी गाँसेको देख्दा आफूलाई पनि गाँस्न त मन लाग्थ्यो । घरमा सिक्ने मौका कहिल्यै मिलेको थिएन, अहिले विद्यालयले पढाइसँगै परम्परागत सीप सिकाएपछि रमाइलो अनुभव भैरहेको छ’, कक्षा ९ की छात्रा सलिना अधिकारीले भन्नुभयो ।
उहाँले खुशी हुँदै भन्नुभयो, ‘अब म पनि घरमा हुने पूजाआजालगायतको कर्मममा दुना–टपरी गाँस्ने र बत्ती कातेर आमालाई सहयोग गर्छु ।’
पछिल्लो समय विद्यालयहरुले गुणस्तरीय शिक्षाको नाममा विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र घोकाएर परीक्षामा धेरै अंक दिलाउनमात्र केन्द्रित भैरहेको अवस्थामा आफ्नो विद्यालयमा अध्ययरनत बालबालिकाहरुलाई परम्परागत सीप सिकाउँदा जीवन उपयोगी हुने भएकाले प्रयोगात्मक शिक्षाको पनि सुरुवात गरिएको कर्कला देवी बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक केशव तिमल्सिनाले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘स्कुलले गुणस्तरीय शिक्षालाई अंक केन्द्रित भएर संकुचित रुपमा परिभाषित गर्नु हुँदैन र विद्यार्थीहरुलाई विविधतायुक्त जीवन उपयोगी प्रयोगात्मक शिक्षा दिन सबै स्कुलहरु लाग्नुपर्छ ।’ जिल्लामै पहिलो पटक विद्यार्थीहरुलाई परम्परागत सीपको सुरुवात गर्ने यो पहिलो निजी विद्यालय हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको सीप विकासमात्र नभइ नयाँ पुस्तालाई नेपाली मौलिक परम्परासँग सम्बन्धित सीप र प्रविधिको महत्वका बारेमा सचेत गराउन पनि लागिपरेको स्कुलले जनाएको छ । तालिम कार्यक्रममा समाजले लैङ्गिक रुपमा छुट्याइएका काम पनि लैङ्गिक समानताका दृष्टिले छात्रछात्रा दुवैलाई सिकाइएको छ ।
छात्रहरुले दुना–टपरी गाँस्ने, छात्राहरुले डोरी बाट्ने र चोया काढ्ने काम गरिरहेका छन् । विविधतायुक्त प्रयोगात्मक शिक्षालाई स्कुलले उच्च प्राथमिकतामा राखेको र तालिकाबद्धरुपमा यस्ता किसिमका अन्य सीपहरु पनि निरन्तर सिकाउने अतिरिक्त क्रियाकलाप प्रमुख सुवास तामाङले बताउनुभयो ।
विद्यालयले नियमित रुपमा माटो व्यवस्थापन, नर्सरी व्यवस्थापन तथा लघु करेसा निर्माणसम्बन्धी तालिम दिनुका साथै अतिरिक्त क्रियाकलाप र खेलकुद गतिविधिमासमेत सक्रिय रहँदै आएको छ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।