कालो काग कसरी सेतो हुन्छ ?

 भदौ २०, २०७६ शुक्रबार १६:१६:१७ | राधेश्याम खतिवडा
unn.prixa.net

टोखामा भेटिएको सेतो वन काग तस्बिर : जगन्नाथ अधिकारी

काठमाण्डौमा केही दिनअघि सेतो काग भेटियो । काग कालो हुन्छ भन्ने त सबैलाई थाहा हुन्छ ।  तर सेतो काग भेटिएपछि  भने प्राणीशास्त्रका अध्येताहरुमा मात्रै हाेइन, सर्वसाधारणमा समेत चर्चा हुन थालेकाे छ ।

सन १९८६ को सेप्टेम्बर महिनामा प्रा.डा. तेजकुमार श्रेष्ठले काठमाण्डौको कुलेश्वरस्थित शिव मन्दिरको वरिपरि सेतो कागको तस्बिर लिएका थिए । ५ वर्ष अगाडि काठमाण्डौको टोखा क्षेत्रमा स्थानीयले सेतो काग फेला परेको बताए पनि पहिचान हुन सकेको थएन ।

चराविद्हरु संसारमा कतै सेतो कागको छुट्टै प्रजाति नभएको बताउँछन् । सन १९८४ मा भारतका चराविद् सलिम अलीले भारतको बम्बई शहरमा सेतो काग भेटेका थिए । सेतो रगंको कागका विषयमा अन्तर्राष्ट्रिय जर्नलहरुमा लेखहरु कमै मात्र प्रकाशित भएका छन् ।

कागका प्रजाति

काग पन्छी वर्गअन्तर्गत पासारी फोर्मिस समूह तथा कर्भिदिई परिवारभित्र पर्ने चरा हो । रिचार्ड ग्रिमेट र समूहबाट लिखित ‘नेपालका चराहरु’ भन्ने पुस्तकमा उल्लेख भएअनुसार नेपालमा टुङ्गा, टेमु, घर काग, कालो वा वन काग र राज काग गरी पाँच प्रजातिका काग रहेका छन् ।

तीमध्ये हाम्रो गाउँघरमा पाइने कालो रङको वन काग र कालो खरानी रङको घर काग हुन् । यी दुवै कागहरु विश्व संरक्षण संघको रेड डाटा बुकअनुसार ‘लिस्ट कन्सर्न’ सूचीमा सूचीकृत छन् ।

सेतो कागकाे पहिचान

सेतो रङको काग ५ वर्ष पहिले टोखा क्षेत्रमा देखिएको भए पनि पहिचान हुन सकेको थिएन । स्थानीयबासीले त्यस क्षेत्रमा सेतो रङको काग रहेको बताउँदै आए पनि यो विषयमा अध्ययन अनुसन्धान गरिरहेको समूहले अहिले मात्रै पहिचान गरी तस्बिर लिन सफल भएकाे हाे । 

भदौ १४ गते प्राणी शास्त्रका विज्ञ, विद्यार्थी तथा चराविद्हरु सम्मिलित एक समूहले गरेको एक अध्ययनको क्रममा काठमाण्डौ टोखा नगरपालिकाको टोखाकाे ठूलो लाछीमा एउटा सेतो रङको वन काग फेला पारेको थियाे । जगन्नाथ अधिकारी, पूर्णमान श्रेष्ठ, सुवर्णराज घिमिरे, मोहनविक्रम श्रेष्ठ, सुमन सापकोटा र आनन्दकुमार श्रेष्ठको टोलीले यो विषयमा अध्ययन गरिरहेको छ ।

टोखामा भेटिएको त्यो कागको शारीरिक बनावट, आनीबानी, रङ बाहेक सबै कालो कागसँग मिल्ने प्राणीशास्त्रका अध्येता जगन्नाथ अधिकारीले बताउनुभयो । शरीर पुरै सेतो भए पनि ठुँड, खुट्टा र आँखा भने कालो भएको जानकारी दिँदै उहाँले ठुँडमाथि सेता रौँका रेशाहरु फैलिएको बताउनुभयो ।

त्रिवि परिसरमा पनि भेटिएको पनि थियो

५ महिना अगाडि त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक डाक्टर विष्णुप्रसाद भट्टराई र जगन्नाथ अधिकारीले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको बगैँचामा सेतो कागकाे फोटो लिन सफल भएको उहाँहरु बताउनुहुन्छ ।

कीर्तिपुर, त्रिभुवन विश्वविद्यालयको को बगैँचामा भेटिएको सेतो घर काग         तस्बिर : डाक्टर विष्णु प्रसाद भट्टराई र जगन्नाथ अधिकारीत्यो सेतो कागको शारिरीक बनावट र चालचलन घरकागसँग मिल्ने गरेको अधिकारीले बताउनुभयो । त्यति बेला फेला परेको सेतो कागको पनि ठुँड, आखाँ र खुट्टा कालो भएको बताउँदै अधिकारीले टोखामा भेटिएको सेतो कागको जस्तो ठुँडमाथि मसिना सेता रौँ नभएको जानकारी दिनुभयोे ।

कालो काग सेतो हुनुको कारण

चराहरुमा हुने आकस्मिक रङ परिवर्तन वंशाणुगत गुणमा आउने परिवर्तनबाट हुने गर्दछ । ली र केलर(१९५१)का अनुसार चराहरुमा हुने रङ परिवर्तनलाई चार भागमा हुने रङ परिवर्तनलाई अल्बुनिज्म,ज्याथिज्म, इरिक्रिज्म र मेलनिज्म  चार भागमा विभाजन गर्न सकिन्छ । 

यीमध्ये अल्बुनिज्म भनेको आनुवांशिकतामा भएको असन्तुलनको  कारण शरीरमा कालो दिने तत्व मेलानिन जम्मा गर्ने जिनको दुर्बलताले गर्दा हुने प्रा. डा. भट्टराई बताउनुहुन्छ ।

काठमाण्डौको टोखा र कीर्तिपुरमा भेटिएको यी दुई छुट्टाछुट्टै सेतो रङको कागमा पनि अल्बुनिज्मका कारण सेतो देखिएको हुन सक्ने बताउँदै प्रा. डा. भट्टराईले चौधरी र समूहको २०१३ मा ‘जू प्रिन्ट’मा प्रकाशित लेखको आधारमा अल्बुनिज्मकै कारण कागमा रङको परिवर्तन भएको अनुमान गर्न सकिने बताउनुभयो । यस्ता कागहरुको वंशानुगत रुपमा अनुसन्धान गर्नुपर्ने बताउँदै उहाँले अनुसन्धानकर्ताहरुमा एउटा चुनौती थपिएको  उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • Jagdish joshi

    Sept. 6, 2019, 5:32 p.m.

    It may be taking part in visit Nepal 2020.

  •  0 Reply

तपाईको प्रतिक्रिया