चावहिल–साँखु सडकको यस्तो बेहाल : ‘जुत्ता पाइन्ट हातमा बोकेर हिँड्नुपर्छ’

 असार २९, २०७५ शुक्रबार १०:३५:२१ | अशाेक काेइराला
unn.prixa.net

काठमाडौं – ठूल्ठूला खाल्डा, खाल्डामा जमेको पानी, अनि असारे खेतजस्तो हिलो । यो चावहिल–साँखु सडकको यथार्थ हो । खाल्डाखुल्डी र हिलाम्मे भएपछि सडक वारपार गर्न पनि निकै कठिन हुन्छ । कतिपय गाडी त बीच सडकका खाल्डामै रोकिन्छन् । यो वर्षा हुँदाको सडकको अवस्था हो ।

पानी पर्दा हिलो भएको सडक घाम लाग्दा धुलाम्मे हुन्छ । धुलो पनि सडक नै नदेखिने गरी उड्छ । गएको चार वर्षयता बौद्ध–जोरपाटी–साँखु सडकको अवस्था यस्तै छ ।

‘पानी परेको बेलामा खाल्डामा पानी जमेर सडक पार गर्न सकिँदैन, घाम लागेको बेलामा धुलोले आँखा नदेखेर सडक पार गर्न सकिँदैन’ स्थानीय मिङ्मार शेर्पाले भन्नुभयो ‘ठूलो पानी परेको बेलामा त सडक वारपार गर्दा पनि खोला तरेजस्तै तर्नुपर्छ ।’

हिलो र ठूल्ठूला खाल्डा भएको सडकमा साना स्कुले बालबालिकाहरुलाई हिँड्न झनै अप्ठेरो हुने गरेको छ । ‘ठूलो पानी पर्दा त सडकमा खोला नै बग्छ यस्तो अवस्थामा त कहाँनेर खाल्डो छ भनेर थाहा पनि हुँदैन ।’ यस्तैमा बाटो वारपार गर्दा कयौँ पटक साना केटाकेटी पटक–पटक खाल्डोमा चुर्लुम्म डुबेको उहाँले देख्नुभएको छ । बौद्ध पिपलबोट छेउमै बस्दै आउनुभएकी शेर्पाले भन्नुभयो, ‘यही बाटोमा कयौँपटक मोटरसाइकल, स्कुटर हिलोमा पछारिएको देखेकी छु ।’

यस्तै अनुभव जोरपाटी बस्ने सुस्मिता अधिकारीको पनि छ । उहाँ भन्नुहुन्छ ‘घाम लागेको बेलामा धुलोले रुघा लाग्छ, बिहान लगाएको कपडा दिउँसो खैरो हुन्छ, पानी परेको बेला सडकले नै बगाउँछ कि झैँ हुन्छ ।’ यो सडकमा ओहोरदोहोर गर्नेले वर्षौँदेखि यस्तै समस्या भोग्दै आइरहेका छन् । कहिलेकाहीँ त सडकका ठूला ठूला खाल्डामा माइक्रोबस, जीप, कारलगायतका साना गाडीनै डुब्ने गर्छन् ।

मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेहरुलाई त झनै समस्या पर्ने गरेको छ  । बौद्धको कपडा पसलमा भेटिएका प्रल्हाद आचार्य दैनिक मोटरसाइकलमा थलीदेखि बौद्ध आउनुहुन्छ । उहाँको आफ्नै कपडा पसल छ बौद्धमा । ‘बिहान घरबाट आउँदा लगाएको जुत्ता पाइन्ट हिलाे हुन्छ, बेलुका फर्कँदा अर्कै लगाएर फर्किनुपर्ने अवस्था छ ’ उहाँको गुनासो छ ‘फेरि घाम लागेको बेलामा त धुलो उडेर पसलमा राखेका लुगा पनि त्यतिकै फोहोर हुन्छन् । सडकमा भएको धुलो र हिलोले व्यापारमा समेत प्रभाव पारेको छ ।’

सडक विस्तारको काममा ढिलाई हुँदा सास्ती

सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा  चार लेनको सडक बनाउने योजना ल्यायो त्यसै अनुरुप काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक चौडा पार्न विभिन्न ठेकेदार कम्पनीमार्फत काम पनि सुरु गर्यो । तर सडकमा काम सुरु गरेको तीनवर्ष भन्दा बढी समय भैसक्दा पनि प्रगति शून्य छ ।

कुल लम्बाई ११ दशमलव ४६ किलोमिटर सडकखण्ड रहेको चाबहिल–साँखु सडकमा मुआब्जाको विषयमा स्थानीय बासिन्दाको अवरोधका कारण लामो समयदेखि काम हुन नसकेको सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विभिन्न चार भागमा गरी छुट्टाछुट्टै ठेकेदार कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको थियो । चार कम्पनीले नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेको छ । आयोजनाका सूचना अधिकारी श्रेष्ठका अनुसार सबैजसो ठेकेदार कम्पनीको म्याद सकिसकेको छ । तर पनि काम भने आधा पनि भएको छैन ।

आयोजना भने म्याद थप्दै बसेको छ । गएको असार ११ गते मात्रै बौद्ध – जोरपाटी  सडक विस्तारका लागि एक वर्षको म्याद थप गरिएको छ ।

आयोजनाका सूचना अधिकारी भन्नुहुन्छ ‘बाटो विस्तारबाट स्थानीय नै खुशी छैनन् ।’ गएको असोजमा मुआब्जा विवादमा स्थानीयले मुद्दा हालेका थिए । त्यही मुद्दा मामिलाको कारण  र फैसलाको पूर्ण पाठ नआउँदा सडक विस्तारको काम ढिला भएको उहाँको निष्कर्ष छ ।

अहिले नौ महिनापछि यही असार १४ गते पूर्णपाठ पनि आयो । फैसला अनुसार जग्गाधनीलाई मुआब्जा दिँदै सडक निर्माण कार्य सँगसँगै गर्नू भनिएको छ । फैसला अनुसार नै काम गर्दा जग्गाधनीसँग मुआब्जा र क्षतिपूर्तिमा सहमति गर्नुपर्नेछ । यसबाहेक बिजुलीका पोल हटाउने र तारलाई व्यवस्थापन गर्ने काम पनि बाँकी नै छ ।

बौद्ध– जोरपाटी सडक खण्डको निर्माणका लागि एक वर्षको समय अवधि थप गरेको भए पनि निश्चित समय अवधिमा काम सम्पन्न नहुने आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर श्रेष्ठ बताउनुहुन्छ । अदालतले ‘मुआब्जा दिएर सडक विस्तारको काम गर्नु’ भनेको भए पनि जग्गा विवाद मिलाउन र घरहरु भत्काउन अझै समय लाग्ने देखिन्छ । उहाँले भन्नुभयो ‘काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकमा पहिला जग्गाको मुआब्जा दिने र घरहरु भत्काउने काम छिटो गरेमात्रै सडक विस्तारको काम छिटो हुन्छ ।’

अदालतको पूर्णपाठले अब बौद्ध –जोरपाटी सडक विस्तार कहिले सम्पन्न हुन्छ ? भन्ने प्रश्नमा उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले भन्नुभयो ‘यो सडक स्थानीयकै अवरोधका कारण स्तरोन्नति हुन नसकेको हो ।’

‘अदालतले मुआब्जा दिएर काम सुरु गर्नु भनेको छ’, तिवारीले भन्नुभयो, ‘तर सरकारले मुआब्जाका लागि कुनै रकम छुट्याएको छैन ।’ यस्तो अवस्थामा प्राधिकरणले के गर्ने ? उहाँले भन्नुभयो, ‘अब जहाँ–जहाँ अवरोध छैन त्यहीँ काम अगाडी बढाउने । अब अरु कुनै विकल्पै छैन ।’

सडकमा पानी जम्नु र धेरै हिलो हुनुको कारण सडकमा ढल निकासको व्यवस्था नहुनु पनि हो । ठाउँठाउँमा ढल फुटेर पनि पानी बगिरहेको हुन्छ ।

ठूलो पानी पर्दा पनि सबै सडकबाटै बग्छ पिच नभएको सडक भलले खोल्छ र ठूला ठूला खाल्डा पर्छ । पिच नभएका सडकको दायाँबायाँ किनारामा पानी बग्ने गरी ढलको व्यवस्थापन गर्यो भने मात्रै पनि सडकमा खाल्डा कम हुन्छ । पिच नभएका सडकको दायाँबायाँ किनारामा पानी बग्ने गरी ढलको व्यवस्थापन गर्यो भने मात्रै पनि सडकमा खाल्डा कम हुन्छ । 


 

अन्तिम अपडेट: चैत १०, २०८०

अशाेक काेइराला

अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

1 Comments

  • subash pantha

    July 13, 2018, 1:38 p.m.

    यो सरकारले तुरुन्त केहि गर्न नसकेपनि बर्खा अघि बालुवा र ढुंगा हालेर खाल्डो त पूर्ण सक्छ नि /

  •  0 Reply

तपाईको प्रतिक्रिया