चित्रको माध्यमबाट चिनिन पाउँदा गर्व महसुस हुन्छ : किरण मानन्धर

 भदौ २०, २०७६ शुक्रबार १८:३७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितकला प्रज्ञा प्रनिष्ठानका उपकुलपति तथा वरिष्ठ चित्रकार किरण मानन्धरको चित्रकला प्रदर्शनी सुरु भएको छ । 

जावलाखेलमा रहेको ‘अगेनो : द हेस्टिया’ मा चित्रकार मानन्धरको आत्मा चित्रकला प्रदर्शनी भदौ २० देखि असोज ३ गतेसम्म चल्नेछ । शुक्रबार प्रतिनिधिसभा सदस्य तथा उद्योगी विनोद चौधरी, वरिष्ठ चिकित्सक भगवान कोइरालालगायतले चित्रकला प्रदर्शनीको शुभारम्भ गर्नुभएको हो । 

विशेष गरी क्यानभासमा अब्स्ट्रयाक (अमूर्त) चित्र कोर्न रुचि राख्नुहुन्छ, किरण मानन्धर । यो चित्रकला प्रदर्शनीमा पनि उहाँका आत्मासँग जोडिएका अमूर्त चित्रकलाको अवलोकन गर्न सकिन्छ । प्रदर्शनीमा राखिएका चित्रहरु आफ्नो आत्माको भित्रैदेखि उब्जिएका अभिव्यक्तिहरु भएको मानन्धर बताउनु हुन्छ । 

सेतो कपडा र रङको प्रयोग गरेर झण्डामा उतारिएको चित्रकलाले सिधै मानिसको मनलाई छुने उहाँले विश्वास लिनुभएको छ । चित्रकारले कहिल्यै पनि योजना नबनाउने र आफूले पनि मनमा उठेका भावनालाई अमूर्त रुपमा उतार्ने गरेको मानन्धर बताउनुहुन्छ । 

कार्यक्रममा बोल्दै चित्रकार मानन्धरले आफू र चित्रकलाको सम्बन्ध अन्योन्याश्रित भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चित्रको माध्यमबाट चिनिन पाउँदा मलाई गर्वको महसुस हुन्छ । तर राज्यले भने चित्रकलालाई त्यति महत्व दिएको छैन, यसमा राज्यले ध्यान दिनुपर्छ ।’  

त्यस्तै प्रतिनिधि सभा सदस्य तथा उद्योगी विनोद चौधरीले मानन्धर र आफ्नो सम्बन्ध निकै पुरानो रहेको बताउनु भयो । ‘हामी दुईलाई चित्रले नै नजिक बनाएको हो । उहाँले चित्रकलाको माध्यमबाट नेपाललाई विश्वभरि नै चिनाउनु भएको छ ।’ मानन्धरको चित्रकला सधैँ आत्मासँग जोडिने र त्यसले आफूलाई आकर्षित गर्ने उहाँले बताउनुभयो । 

वरिष्ठ चिकित्सक कोइराला भने कार्यक्रममा केही ठट्यौली पारामा प्रस्तुत हुनुभयो । उहाँले भन्नुभयो, ‘म चिकित्सा क्षेत्रको अनि यो कार्यक्रम चित्रकलाको, मलाई किन बोलाइयो म छक्क छु तर यस्ता वरिष्ठ व्यक्तिहरुको माझमा मलाई पनि बोलाउनु भएकोमा आफैलाई भाग्यमानी ठान्छु ।’ उहाँले मानन्धरलाई आउने दिनका लागि शुभकामना पनि दिनुभयो । 

कार्यक्रममा वरिष्ठ चित्रकार मानन्धरले चिकित्सक कोइरालालाई सुन्दर चित्रकला मायाको चिनोको रुपमा प्रदान गर्नु भएको थियो । कार्यक्रमका अतिथिहरुले चित्रकला प्रदर्शनीको अवलोकन पनि गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया